
सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्म बागमती प्रदेश पदक तालिकाको शीर्षस्थानमा रहेको छ। बागमतीले हालसम्म १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदक जितेको छ।
नेपाली सेनाले सर्वाधिक ४४ पदक जितेको भए पनि स्वर्ण पदकको आधारमा तेस्रो स्थानमा छ। सेनाले १० स्वर्ण, १७ रजत र १७ कांस्य जितेको छ। १२ स्वर्ण, चार रजत र चार कांस्य गरी २० पदक जितेको एनआरएनए तालिकाको दोस्रो स्थानमा छ।
नेपाल प्रहरी आठ स्वर्ण, १५ रजत र १७ कांस्यसहित ४० पदकका साथ चौथो स्थानमा छ। कोशी प्रदेशले तीन स्वर्ण जितेको छ भने सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, चार रजत र एक कांस्य गरी सात पदक प्राप्त गरेको छ।
एपीएफ क्लबले दुई स्वर्ण जितेर सातौँ स्थानमा रहँदा लुम्बिनी प्रदेशले दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ। गण्डकी प्रदेशले एक रजत र दुई कांस्य तथा मधेश प्रदेशले एक कांस्य पदक जितेका छन्। प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भने चौथो दिनसम्म कुनै पनि पदक जित्न असफल भएको छ।

























