
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले ब्याटिङ र पावरप्लेमा राम्रो खेल्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै टमाटाले ब्याटरहरूले अपेक्षाअनुसार रन बनाउन नसक्नु नै हारको मुख्य कारण भएको बताए । उनका अनुसार सुदूरपश्चिमले कम्तीमा १३० रन बनाउन सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो ।
‘हाम्रा ब्याटरहरू चल्न सकेनन् । बोर्डमा कम्तीमा १३० रन बनाउन सकेको भए खेल अर्कै हुन सक्थ्यो,’ उनले भने, ‘लुम्बिनीले हामीभन्दा राम्रो क्रिकेट खेल्यो । विशेषगरी टप अर्डर र पावरप्लेमा हामी कमजोर भयौँ ।’
टमाटाले खेलमा दुई खेलाडी परिवर्तन गरिएको र त्यसले पनि केही फरक परेको बताए । साना साझेदारी बन्न नसकेको अवस्थामा दीपेन्द्रसिंह ऐरीले ५० रन बनाउँदै ईशानसँग राम्रो साझेदारी गरेको उनको भनाइ थियो ।
अघिल्लो दिन मात्रै नेपाल आइपुगेका मन्सीलाई सिधै खेलाउनु जोखिमपूर्ण भएको हो भन्ने प्रश्नमा टमाटाले उनीमाथि टोलीको विश्वास रहेको बताए ।
मन्सी राम्रो खेलाडी भएको उल्लेख गर्दै उनले यसअघि पनि नेपालमा आएर राम्रो प्रदर्शन गरिसकेको बताए । ‘आज उहाँको दिन रहेन । तर उहाँ राम्रो क्रिकेटर हुनुहुन्छ । अर्को खेलमा परिस्थिति बुझेर राम्रो प्रदर्शन गर्नुहुनेछ,’ उनले भने ।
विदेशी खेलाडी मकमलेन, क्रिस लिन र जोस ब्राउनलगायतले प्रतियोगिताको बीचमै टोली छाड्नुपर्ने अवस्थाबारे पनि टमाटालाई प्रश्न गरिएको थियो । जवाफमा उनले आफूहरूले खेलाडीलाई पूरा प्रतियोगिताका लागि अनुबन्ध गर्ने गरेको बताए । तर खेलाडीको अन्य खेल तालिका जुध्दा समस्या आएको हुनसक्ने उनको भनाइ थियो ।
विदेशी खेलाडीले समेत एनपीएल केही लामो भएको महसुस गरेको बताउँदै उनले प्रतियोगिताको अवधि एक हप्ता घटाउन सके अझ राम्रो हुने सुझाव दिए ।
टमाटाले एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रतियोगिता सफल बनाउन क्यान र मैदानमा काम गर्ने कर्मचारीले गरेको मेहनतको उनले प्रशंसा गरे ।
विशेषगरी वर्षाका कारण खेल प्रभावित हुँदा पनि मैदान तयार पार्न ग्राउन्ड स्टाफले गरेको काम प्रशंसनीय रहेको उनको भनाइ थियो । तर नेपाली क्रिकेटको स्तर अझ सुधार गर्न पिचमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
‘हामीले अझ राम्रो क्रिकेट खेल्ने र खेलाउने हो भने विकेट पनि अलि राम्रो बनाउनुपर्छ जस्तो लाग्छ,’ उनले भने । विदेशी ब्याटरले अपेक्षाअनुसार रन बनाउन नसक्दा टोलीलाई असर परेको हो भन्ने प्रश्नमा टमाटाले विदेशी खेलाडी सहयोगका लागि मात्र आउने बताए । टोलीको मुख्य जिम्मेवारी नेपाली खेलाडीले नै लिनुपर्ने उनको भनाइ थियो ।
उनले नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीको अनुभव र जिम्मेवारीपूर्ण ब्याटिङको प्रशंसा गरे ।
यस्तै, युवा बलर हेमन्त धामीको प्रदर्शनबाट पनि आफू प्रभावित रहेको टमाटाले बताए । उनले हेमन्तलाई यू–१९ तहदेखि नै नियालिरहेको उल्लेख गर्दै राम्रो स्विङ बलर भएको बताए ।
‘हेमन्त निकै राम्रा स्विङ बलर हुन् । उनीसँग क्षमता र सम्भावना दुवै छ । राष्ट्रिय टोलीमा करण केसी र सोमपाल कामीजस्ता अनुभवी बलर छन् । हेमन्तलाई अझै अनुभवको आवश्यकता छ,’ उनले भने, ‘यस्तै प्रदर्शनलाई निरन्तरता दिए उनले छिट्टै राष्ट्रिय टोलीमा स्थान बनाउनेछन् ।’
लुम्बिनीसँग लगातार तेस्रो हार बेहोरेपछि सुदूरपश्चिममाथि मानसिक दबाब परेको हो भन्ने प्रश्नलाई टमाटाले अस्वीकार गरे । उनले खेलमा हारजित सामान्य भएको बताउँदै टोलीसँग अझै फाइनल पुग्ने अवसर बाँकी रहेको बताए ।
‘यो खेल हो, हारजित भइरहन्छ । हामीले तीन खेल हारेका छौँ, त्यो सत्य हो । तर हामीसँग अझै दोस्रो क्वालिफायरको खेल बाँकी छ,’ उनले भने, ‘त्यसमा अझ राम्रो क्रिकेट खेलेर नतिजा निकाल्नेछौँ ।’
अन्त्यमा टमाटाले चिसोको पर्वाह नगरी रातिको समयमा पनि मैदानमा उपस्थित भएर टोलीलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद दिए । यसअघि पनि फाइनलमा पुगेर उपाधि जित्न नसकेको सुदूरपश्चिमले यसपटक भने अझ राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको उनले बताए ।






















