
१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
बुधबार पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फैसल एजाज, इलाम देउमाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मंगल गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर र उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की छन् ।
प्रहरीका अनुसार आशिषले फेसबुकमा नक्कली खाता बनाएर पीडित नाबालिकाका अश्लील तस्वीर तथा भिडियो आफन्त र साथीहरूलाई पठाउने गरेका थिए । रोहितले इमोमार्फत युवतीलाई अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएर दुर्व्यवहार गरेको आरोप छ ।
त्यस्तै, प्रेम सम्बन्ध टुटेपछि महमद फैसलले पीडितका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्रहत्या गरेको, विमलले नक्कली टिकटक खातामार्फत गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको प्रहरीले जनाएको छ ।
दिलबहादुरले फेसबुकमार्फत अश्लील गालीगलौज गरेको र सुवासले नक्कली फेसबुक खाता बनाएर अश्लील तस्वीर तथा भिडियो पठाउँदै ब्ल्याकमेलिङ र चरित्रहत्या गरेको आरोप छ ।
यस्तै, बिहीबार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटा छन् । उनले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको प्रहरीको आरोप छ ।
त्यसैगरी, पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील तस्वीर तथा भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गरेको आरोपमा १५ र १६ वर्षका दुई नाबालकलाई कास्की प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, धम्की दिने, अश्लील तथा अपमानजनक अभिव्यक्ति दिने, व्यक्तिगत तस्बिर तथा भिडियो दुरुपयोग गर्ने र नक्कली खाता बनाएर सामाजिक प्रतिष्ठामा आँच पुर्याउने घटना बढिरहेका छन् ।
नेपाल प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ । साइबर दुर्व्यवहार, धम्की, ब्ल्याकमेलिङ वा चरित्रहत्याबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ ।

























