जितको मुख्य कारण बलिङ र राम्रो साझेदारी हो : डेविड मलान | Nepal’s first 24-hour updated news portal


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएपछि चितवन राईनोजका ब्याट्सम्यान डेविड मलानले टोलीको जितमा बलरहरूको प्रदर्शन र आफ्नो साझेदारी महत्त्वपूर्ण रहेको बताएका छन् । 

शुक्रबार खेलपछि प्रतिक्रिया दिँदै मलानले पहिलो इनिङ्समा पिचबाट बलरले बढी सहयोग पाएको बताए । उनका अनुसार दोस्रो इनिङ्समा भने शीतका कारण बल केही चिप्लो भएकाले ब्याटिङ गर्न सहज भएको थियो । 

‘पहिलो इनिङ्समा बल धेरै घुमिरहेको थियो। तर दोस्रो इनिङ्समा शीतका कारण बल चिप्लो भयो र ब्याटिङ गर्न केही सजिलो भयो,’ उनले भने, ‘हाम्रा बलरहरूले निकै राम्रो बलिङ गरे। जनकपुरलाई ८० रनमै रोक्न सकेकाले हामीलाई जित निकाल्न सहज भयो। यदि १२० रनको लक्ष्य पछ्याउनुपरेको भए खेल फरक हुन सक्थ्यो ।’

पावर प्लेमा पाँच विकेट गुमाउँदा चितवन पनि दबाबमा परेको थियो। तर त्यसपछि सम्हालिएर खेल्दै कुशल मल्लसँग गरेको साझेदारीले टोलीलाई जितसम्म पुर्‍याएको मलानले बताए । 

‘सानो लक्ष्य पछ्याउँदा एउटा राम्रो साझेदारी बनाउन सके जित सहज हुन्छ। मैले र कुशलले विकेटमा टिकेर खेल्ने योजना बनाएका थियौँ । हाम्रो साझेदारीले टोलीलाई दबाबबाट बाहिर निकाल्न मद्दत गर्‍यो,’ उनले भने । 

मलानले टस हार्नु पनि चितवनका लागि फाइदाजनक भएको बताए । उनका अनुसार टस जितेको भए पनि चितवनले पहिले ब्याटिङ नै रोज्ने थियो । 

विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलेका मलानले नेपालको पिचमा ब्याट्सम्यानलाई रन बनाउन चुनौती रहेको बताए । 

उनका अनुसार विश्वका धेरै टी–२० लिगमा धेरै रन बन्ने र ब्याट्सम्यान हाबी हुने गरेको पाइन्छ। तर नेपालको पिचमा भने बलरले बढी सहयोग पाइरहेका छन् । 

‘विश्वभर टी–२० क्रिकेटमा धेरै रन बन्ने गर्छन् । तर यहाँको पिचमा ब्याट्सम्यानलाई रन बनाउन निकै कठिन छ । अहिलेको अवस्था केही बढी नै बलरको पक्षमा देखिन्छ,’ उनले भने, ‘यदि १५० देखि १६० रनसम्म बन्ने पिच भयो भने खेल अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुन सक्छ ।’

मलानले चितवनमा रहेका नेपाली खेलाडीहरूको प्रशंसा पनि गरे । गत वर्षको अनुभवले यसपटक नेपालको पिच बुझ्न सजिलो भएको उनको भनाइ थियो ।

‘गत वर्ष यहाँको पिच देख्दा मलाई अचम्म लागेको थियो । तर यसपटक पिचबारे राम्रो बुझाइ र योजनासहित आएको छु,’ उनले भने, ‘यस्ता प्रतियोगितामा स्थानीय खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ। हाम्रो टोलीमा राम्रो प्रदर्शन गर्न सक्ने नेपाली खेलाडीहरू छन् ।’ 

जनकपुरलाई हराएसँगै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्