बागमती प्रदेश बुद्धिचाल छनोट प्रतियोगिता सुरु


काठमाडौं (हाम्रो खेलकुद) – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ।

बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडाको आयोजनामा सञ्चालन भएको छनोट प्रतियोगितामा क्लासिकल विधातर्फ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

ललितपुरको नखुमा जारी प्रतियोगितामा पुरुषतर्फ ९ जिल्लाका ३५ र महिलातर्फ ६ जिल्लाका २० गरी कुल ५५ खेलाडी सहभागी छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। त्यसका लागि बागमती प्रदेशले ३२ खेलमध्ये २९ खेलको छनोट सम्पन्न गरिसकेको छ। बाँकी उसु, बुद्धिचाल र एथलेटिक्सको छनोट जारी छ।

बुद्धिचाल छनोटबाट १२ खेलाडी छनोट हुनेछन्। प्राविधिक संयोजक राजु ताम्राकार तथा सदस्यद्वय ज्ञानेन्द्र खाइजु र मनोज घिमिरेको टोलीले छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ। प्रतियोगितामा ४५ मिनेट ३० सेकेन्डको क्लासिकल, १० मिनेट ५ सेकेन्डको र्‍यापिड तथा ३ मिनेट २ सेकेन्ड इन्क्रिमेन्टको ब्लिट्ज विधामा प्रतिस्पर्धा हुनेछ।

क्लासिकल विधाको पहिलो चरणमा पुरुषतर्फ शीर्ष खेलाडीहरूले जितसहित प्रतियोगिताको सुखद सुरुवात गरेका छन्। चितवनका राजु त्रिपाठी, ललितपुरका सुरज महर्जन र कमल श्रेष्ठ, चितवनका सत्यम शर्मा तथा काठमाडौंका प्रतीक सुवेदीले जित निकाल्दै समान २ अंक जोडेका छन्।

att.PQas3xZgiQ9mkXu4XRjtwDGZe8e4a-NyGX-EVnbE_hg-1795355392.png

 

त्यस्तै, काठमाडौंका सीएम नवीन तण्डुकार, ललितपुरका रत्न व्यञ्जनकार र अशोक मोहन श्रेष्ठ, दोलखाका राजिव कार्की, मकवानपुरका सुन्दर कार्की, भक्तपुरका पुरुषोत्तम दुवाल र काठमाडौंका आशानारायण लवटले पनि जितसहित २ अंक बनाएका छन्।

पहिलो चरणमा जित हात पार्ने अन्य खेलाडीमा ललितपुरका सानुभाइ महर्जन, दोलखाका कविन्द्र शिवाकोटी र काभ्रेका श्याम मानन्धर रहेका छन्।

क्लासिकल विधामा सात चरणको प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा सुरज महर्जनले सुन्दर कार्की, अशोक मोहन श्रेष्ठले कमल श्रेष्ठ, सत्यम शर्माले पुरुषोत्तम दुवाल तथा आशानारायण लवटले प्रतीक सुवेदीसँग प्रतिस्पर्धा गरिरहेका छन्।

त्यस्तै कविन्द्र शिवाकोटी र शैलेन्द्र न्यौपाने, सीएम नवीन तण्डुकार र सानुभाइ महर्जन, रत्न व्यञ्जनकार र श्याम मानन्धर तथा राजु त्रिपाठी र राजिव कार्कीबीच खेल भइरहेको छ।

महिलातर्फ ओजस्वी श्रेष्ठ, लक्ष्मी कँडेल, ग्लोसी श्रेष्ठ, शुभेच्छा घिमिरे, राधिका केसी, राजश्री कुसी, नेलिसा ओझा, मानस्विनी शर्मा र शुभश्री श्रेष्ठले पहिलो चरणमा जित निकाल्दै समान १ अंक जोडेका छन्। यसस्वी महर्जन र श्रीयश्री तुलाधरले भने आधा अंक जोडेका छन्।

प्रतियोगिताक उद्घाटन नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र पूर्वअध्यक्ष विदुरप्रसाद गौतमले गरेका थिए। कार्यक्रममा विश्व बुद्धिचाल महासंघ (फिडे) रुल्स कमिसनका पार्षद् उमेश केसीको पनि उपस्थिति थियो।

यसैबीच, गत भदौ १० गतेको भोटेकोशी बाढीमा परिवारका सदस्य गुमाएका नुवाकोट जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष प्रकाश जोशीको उपस्थितिमा दोस्रो चरणको खेल सुरु गरिएको थियो।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्