
काठमाडौं (हाम्रो खेलकुद)- डविड मलानको अर्धशतक सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि १ सय ३४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको छ।
चितवनका लागि डविड मलानले बनाएको ७१ रनको अविजित पारी खेले। उनले ५१ बलमा ९ चौका र २ छक्का सहयोगमा ७१ रन बनाए।
चितवनका लागि ठूलो साझेदारी बन्न सकेन। मलान र सलाहुद्दिन खानले सातौं विकेटका लागि गरेको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रह्यो ।
सलाउद्दिनले १८ रन जोडे। कमल सिंह ऐरी १०, देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३, उसामा मिरले २ रन थपे। कप्तान रवि बोपारा र कुशल मल्लले समान १ रन बनाउँदै पेभेलियन फर्के।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ३ विकेट लिए। थरिन्दु रत्नायकेले २ विकेट लिए। हेमन्त धामी, दिपेन्द्रसिंह ऐरि र इशान पाण्डेले समान एक विकेट आफ्नो नाममा गरे।
यो खेलको विजेताले शनिबार लुम्बिनी लायन्सविरुद्ध फाइनल खेल्नेछ।
प्रकाशित मिति:
बिहीबार, मंसिर ३, २०८३
थप
क्रिकेट

























