
६ मंसिर, काठमाडौं।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त हुनुभएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व सम्हाल्नुभएका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।
विषयगत कूटनीतिमा ऐतिहासिक कोसेढुङ्गा
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई इजरायलजस्तो विश्वप्रसिद्ध नवप्रवर्तन तथा प्रविधि हबमा राजदूतका रूपमा पठाउनु नेपालको आर्थिक र प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो।
नेपाल–इजरायल आईसीटी सहकार्य र नलेज आउटसोर्सिङमा जोड
क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले नवनियुक्त राजदूत कर्णलाई सम्मानको प्रस्ताव प्रस्तुत गर्दै सम्पूर्ण नेपाली आईसीटी क्षेत्रका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। अधिकारीले नेपालको तीव्र गतिमा बढ्दो दक्ष प्रविधि जनशक्ति र इजरायलको उन्नत प्रविधि इकोसिस्टमबीच सहकार्यका अपार सम्भावना रहेको औँल्याउनुभयो।
सम्मान ग्रहणपछि मन्तव्य राख्दै राजदूत सुरेश कुमार कर्णले महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आफ्नो कार्यकालमा मुख्यतया दुई क्षेत्रमा प्राथमिकता दिने बताउनुभयो:
नलेज आउटसोर्सिङ (Knowledge Outsourcing): सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा र आईटी सेवाका लागि इजरायली प्रविधि कम्पनीहरूको प्रमुख गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने।
द्विपक्षीय आईसीटी सहकार्य: दुवै देशका आईटी उद्योगहरूबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण तथा स्टार्टअप इकोसिस्टम आदानप्रदानलाई प्रवर्द्धन गर्ने।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
क्यान महासंघको सचिवालयमा आयोजित उक्त सम्मान कार्यक्रममा विगत तीन दशकदेखि नेपाली आईसीटी क्षेत्रको नेतृत्व गर्दै आउनुभएका अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो:
डा. विमल कुमार शर्मा, संस्थापक अध्यक्ष, क्यान महासंघ
विजय कृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष, क्यान महासंघ
विप्लव मान सिंह, पूर्वअध्यक्ष, क्यान महासंघ
ई. विनोद ढकाल, पूर्वअध्यक्ष, क्यान महासंघ
हेमन्त कुमार चौरसिया, पूर्वअध्यक्ष, क्यान महासंघ
रञ्जित कुमार पोद्दार, निवर्तमान अध्यक्ष, क्यान महासंघ
चिरञ्जीवी अधिकारी, कार्यवाहक अध्यक्ष, क्यान महासंघ
दीपेन्द्र पौडेल, सचिव, क्यान महासंघ
अनुभवी आईसीटी विज्ञ नै इजरायलका लागि नेपाली कूटनीतिक नियोगको नेतृत्वमा पुगेसँगै स्वदेशी आईटी कम्पनीहरूका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), अन्तरदेशीय व्यावसायिक साझेदारी (B2B) र विश्व बजारमा पहुँच विस्तार हुने अपेक्षा नेपाली प्रविधि क्षेत्रले गरेको छ।
























