
काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालाई मध्यनजर गर्दै समयसापेक्ष कानुन तर्जुमा गर्न लागिएको बताइन् । उनले विधेयकले अध्ययनरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र हातपातको अन्त्य हुने बताइन् ।
मन्त्री मेहताले कैद र जरिवाना दुवैलाई समावेश गरेर विधेयक ल्याइएको बताए। स्वास्थ्यकर्मीबाट हुने कुनै पनि गतिविधि र अभ्यासको लागि गुनासो राख्ने उचित प्रबन्ध मिलाइएको पनि उनले बताए।
यसअघि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने’ प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खुश्बु ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु भनेको एउटा व्यक्तिमाथि मात्रै नभएर स्वास्थ्य सेवामाथि भएको आक्रमणको रूपमा चित्रित गरिन् ।
सासंद भरत गिरीले चिकित्सक र स्वास्थ्यकर्मीले जुन हातले बिरामीलाई बचाउन खोजिएको हुन्छ सोही हात डराइडराई काम गर्न नसक्ने अवस्था सिर्जना गर्न नहुने बताउँदै बिरामीको आफन्तबाट धम्की र आक्रमण कुनै पनि हालतमा सह्य नभएको बताए।
सासंद पुकार बमले उपचार गर्ने बिरामी र उपचार गर्ने स्वास्थ्यकर्मी एकअर्काका परिपुरक भएको बताउँदै केही समय अघि नारायणी अस्पताल वीरगञ्जमा चिकित्सकमाथि भएको हातपातको घटनाले पनि यो विधेयकको आवश्यकता र औचित्य झनै बढाएको बताए ।
सासंद मञ्जु भुसालले यो विधेयकले स्वास्थकर्मीको सुरक्षालाई सुनिश्चिता गर्दै स्वास्थ्यकर्मीले पनि इमानदार र स्वच्छ ढङ्गले उपचार तथा सेवातर्फ जिम्मेवार बनाउने विश्वास व्यक्त गरिन् ।
सासंद करिश्मा कठरियाले चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पताल नै कुटपिट हुनु दुर्भाग्य भएकाले पनि यस विधेयकले समयसान्दर्भिक सुधार र सुरक्षाको प्रत्याभूति दिलाउने बताइन्।
सासंद गणेश कार्की, रमेशकुमार मल्ल, कमल सुवेदी, ज्ञानेन्द्रसिंह महता, आशा झा, टेकबहादुर शाक्य, पार्वती विक, अचुतम लामिछाने, टुकाभद्रा हमाल, समिना मियाँ, साजिदा खातुन सिद्धिकी, यज्ञमणि न्यौपाने, प्रभा ढकाल, पुष्पाकुमारी चौधरी, गणेश पौड्याल, समिक्षा बाँस्कोटा, तोशिमा कार्की, गणेशबहादुर विश्वकर्मा, ओजश्वी शेरचन, हरिप्रसाद भुसाल, नरेन्द्र साह कलवार, हरिमोहन भण्डारी, गङ्गादेवी श्रेष्ठ, मधुकुमार चौलागाई, राजन गौतम, लेखजङ्ग थापालगायतले स्वास्थ्यकर्मीमाथि कुनै पनि हालतमा आक्रमण सह्य नहुने र अस्पतालमा हुने गुनासोको पनि सही ढङ्गले सम्बोधन हुनुपर्ने बताए।
प्रतिनिधिसभाको आगामी बैठक यही असोज १३ गते बिहान १०ः०० बजे बस्नेछ ।

























