
News Summary
Generated by OK AI. Editorially reviewed.
- नर्वेमा प्राध्यापक डा. सुरजबहादुर थापाले आप्रवासन, शरणार्थी र विस्थापित समुदायको मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्दै आएका छन्।
- धापासीमा बहिनीको उपचार अभावमा मृत्यु भएपछि थापामा डाक्टर बन्ने चाहना जन्मिएको थियो, र पछि उनले एमबीबीएसमा स्वर्ण पदक पाएका थिए।
- थापाले नेपाल र नर्वेबीच मानसिक स्वास्थ्य, शैक्षिक आदानप्रदान र करिब १५० जना विद्यार्थी तथा प्राध्यापकको सहकार्य गराएका छन्।
४ कात्तिक, बार्सिलोना। विदेश पुगेका नेपालीको सफलताको कथा प्रायः कमाइ, संघर्ष र उपलब्धिको वरिपरि घुम्छ। तर देश छाडेपछि मानिसको मनमा के हुन्छ? नयाँ समाजमा पुगेपछि उसको मानसिक स्वास्थ्यमा के परिवर्तन आउँछ? वर्षौंसम्म प्रवासमा बस्दा त्यसको असर कसरी देखिन्छ?
यी प्रश्नको उत्तर खोज्दै आफ्नो पेसागत जीवनको ठूलो हिस्सा बिताएका छन् नेपाली चिकित्सक तथा प्राध्यापक डा. सुरजबहादुर थापाले।
नर्वेमा बसेर आप्रवासन र मानसिक स्वास्थ्यलाई अनुसन्धानको प्रमुख विषय बनाएका थापा शरणार्थी, विस्थापित व्यक्ति, युद्ध र आघातबाट प्रभावित मानिस तथा नयाँ देशमा जीवन सुरु गर्ने आप्रवासीको मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धानमा सक्रिय छन्।
ओस्लो विश्वविद्यालयमा प्राध्यापक तथा मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान नेतृत्वको जिम्मेवारीमा रहेका उनी ओस्लो विश्वविद्यालय अस्पतालसँग पनि जोडिएका छन्। चिकित्सकका रूपमा बिरामीको उपचार, प्राध्यापकका रूपमा अध्यापन र अनुसन्धानकर्ताका रूपमा मानसिक स्वास्थ्यसम्बन्धी काम- यी तीनवटै भूमिका उनको पेसागत जीवनका अभिन्न हिस्सा बनेका छन्।
तर, नर्वेको विश्वविद्यालय र अस्पतालसम्म पुगेको उनको यात्रा पद र प्रतिष्ठाबाट सुरु भएको होइन। यसको सुरुआत काठमाडौंको धापासीमा एउटा सामान्य मध्यमवर्गीय परिवारमा हुर्किएको बालकले भोगेको एउटा पीडाबाट भएको थियो।
बहिनी गुमाएपछि जन्मिएको सपना
थापा बाल्यकालको धापासीलाई अहिलेको बाक्लो बस्तीभन्दा विल्कुल फरक ठाउँका रूपमा सम्झन्छन्। खेतबारी, गाउँको जस्तो वातावरण र सामान्य पारिवारिक जीवन। बुबा सरकारी सेवामा थिए। परिवार खेतीपातीसँग पनि जोडिएको थियो। त्यही परिवेशमा हुर्कँदै गर्दा उनले बाल्यकालमै एउटा यस्तो घटना भोगे, जसले उनको जीवनको दिशा बदलिदियो।
उनकी दुई वर्षीया बहिनी बिरामी परिन्। त्यतिबेला धापासी र आसपासमा स्वास्थ्य सेवाको पहुँच अहिलेको जस्तो सहज थिएन। समयमै आवश्यक उपचार पाउन नसकेपछि बहिनीको मृत्यु भयो। वर्षौं बितिसक्दा पनि त्यो घटना उनको स्मृतिमा उस्तै छ।
‘समयमै उपचार पाएको भए बहिनी बाँच्न सक्थिन् कि भन्ने कुरा मनमा रह्यो,’ उनी सम्झन्छन्, ‘त्यसपछि म डाक्टर बन्नुपर्छ भन्ने सोच आयो।’
चिकित्सक बन्ने त्यो चाहना एउटा व्यक्तिगत पीडाबाट जन्मिएको थियो। तर समयसँगै त्यही चाहनाले उनको जीवनलाई चिकित्सा, अनुसन्धान र अन्ततः मानिसको मानसिक स्वास्थ्य बुझ्ने दिशातर्फ डोर्यायो।
मेडिसिनदेखि नर्डिक संसारसम्म
शिवपुरी माध्यमिक विद्यालयबाट एसएलसी गरेपछि थापाले विज्ञान विषय लिएर पढाइ अघि बढाए। त्यसबेला उनको मनमा इन्जिनियरिङ पढ्ने, विदेश जाने र चिकित्सक बन्ने-तीनवटै सम्भावना थिए। पुल्चोक क्याम्पसमा पढ्ने अवसरसमेत आएको थियो। तर अन्ततः बाल्यकालदेखि मनमा बसेको चिकित्सक बन्ने चाहनाले अरू विकल्पलाई पछि पार्यो।
उनले चिकित्सा रोजे। करिब सन् १९९० तिर चिकित्सा शिक्षा सुरु गरेका थापाले साढे पाँच वर्षको अध्ययनपछि एक वर्षको इन्टर्नसिप पूरा गरे। त्रिभुवन विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा स्वर्ण पदकसहित एमबीबीएस उत्तीर्ण गरेपछि चिकित्सकका रूपमा उनको व्यावसायिक यात्रा अघि बढ्यो।
काठमाडौंको नर्भिक अस्पतालमा काम गर्ने क्रममा चिकित्सा अभ्याससँगै अनुसन्धानप्रतिको उनको रुचि पनि विस्तार हुँदै गयो। यसअघि नेपालमा भुटानी शरणार्थीसम्बन्धी अनुसन्धानमा जोडिँदा उनले विस्थापन, यातना, आघात र मानसिक स्वास्थ्यका विषयलाई नजिकबाट बुझ्ने अवसर पाए।
शरणार्थीको जीवनसँग जोडिएका अनुभवले उनलाई एउटा फरक प्रश्नतर्फ डोर्यायो-मानिसले देश र घर छाडेपछि उसको मानसिक स्वास्थ्यमा के हुन्छ? त्यही प्रश्नसँगै उनको चिकित्सा यात्रामा अनुसन्धानको अर्को अध्याय थपिँदै गयो।
नर्डिक संसारसँग उनको पहिलो भेट भने नर्वेबाट भएको थिएन। सन् १९९५ मा विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत उनी पहिलो पटक स्विडेन पुगेका थिए। करिब एक महिना स्विडेनमा बिताउँदा स्क्यान्डिनेभियाली समाज, त्यहाँको स्वास्थ्य प्रणाली र सार्वजनिक सेवाको संरचनासँग उनको प्रत्यक्ष परिचय भयो। छोटो समयको त्यो बसाइले उनको सोचमा एउटा नयाँ संसार थपिदियो।
त्यसको केही वर्षपछि सन् १९९९ मा उनी अध्ययनका लागि नर्वे पुगे। दुईवर्षे एमफिल पूरा गरेपछि सन् २००१ मा नेपाल फर्किए। अस्पताल, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय अनुसन्धानसँग सम्बन्धित काममा करिब एक वर्ष बिताए।
तर, त्यतिबेला नेपालमा राजनीतिक द्वन्द्व र अस्थिरता बढिरहेको थियो। भविष्यको अध्ययन र कामलाई लिएर उनी फेरि नयाँ बाटो खोजिरहेका थिए।
यही क्रममा उनका एक पूर्वप्राध्यापक तथा मार्गदर्शकले नर्वे फर्किएर विद्यावारिधि गर्न सुझाए। सुझाव पछ्याउँदै सन् २००२ मा फेरि नर्वे पुगे।
यस पटकको यात्रा उनको शैक्षिक जीवनको निर्णायक मोड बन्यो। पीएचडीका लागि उनले रोजेको विषय थियो- ‘माइग्रेसन एन्ड मेन्टल हेल्थ’, अर्थात् आप्रवासन र मानसिक स्वास्थ्य, भुटानी शरणार्थी तथा अन्य आप्रवासी र विस्थापित समुदायसँग जोडिएका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै थापाले देश परिवर्तनसँगै मानिसको मानसिक स्वास्थ्यमा आउने परिवर्तनलाई गहिरोसँग अध्ययन गर्न थाले।
रोगको उपचार गर्ने चिकित्सकबाट मानिसले देश, समाज र जीवन बदल्दा भोग्ने मानसिक अवस्थालाई अनुसन्धान गर्ने चिकित्सकसम्मको उनको यात्रा यहीँबाट स्पष्ट हुँदै गयो।
विदेशिएपछि बदलिने मन
डा. थापाका लागि आप्रवासन केवल एउटा देशबाट अर्को देशमा पुग्नु होइन। मानिस विदेश जानुअघि नै उसको मानसिक अवस्थाको पृष्ठभूमि तयार भइसकेको हुन्छ। ‘मानिस किन विदेश जाँदैछ, उसको तयारी कस्तो छ, पारिवारिक र आर्थिक अवस्था कस्तो छ, उसले के अपेक्षा गरेको छ भन्ने कुराले पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्छ,’ उनी भन्छन्।
त्यसपछि आउँछ यात्रा। कसैको यात्रा सहज हुन्छ। कसैको यात्रा युद्ध, हिंसा, डर, बेचबिखन वा असुरक्षित बाटो हुँदै हुन्छ। यात्राका क्रममा भोगिएको आघातले लामो समयसम्म मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। तर सुरक्षित रूपमा नयाँ देश पुगेपछि पनि सबै समस्या सकिँदैनन्। बरु धेरैका लागि त्यहीँबाट अर्को संघर्ष सुरु हुन्छ।
‘पोस्ट-माइग्रेसन फ्याक्टर धेरै महत्त्वपूर्ण हुन्छ,’ थापा भन्छन्, ‘नयाँ देशमा पुगेपछि भाषा, काम, सामाजिक सम्बन्ध, परिवार, आफ्नो स्टाटस र नयाँ समाजसँग घुलमिल हुने प्रक्रियाले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छ।’
नेपालमा राम्रो सामाजिक वा पेसागत हैसियत बनाएको व्यक्ति विदेश पुगेपछि आफ्नो योग्यता र अनुभवभन्दा विल्कुल फरक काम गर्न बाध्य हुनसक्छ। बाहिरबाट हेर्दा ऊ कमाइ गरिरहेको हुन्छ, परिवारलाई पैसा पठाइरहेको हुन्छ र जीवन चलिरहेको देखिन्छ। तर भित्रभित्रै उसले आफ्नो पहिचान र पुरानो सामाजिक हैसियत गुमाएको महसुस गरिरहेको हुनसक्छ।
‘आफ्नो देशमा जुन स्टाटस थियो, विदेश आएपछि त्यो गुम्न सक्छ,’ उनी भन्छन्, ‘त्यसले मानिसको आत्मसम्मान र मानसिक स्वास्थ्यमा पनि असर गर्नसक्छ।’ यहीँनेर थापाको अनुसन्धान प्रवासी नेपालीको जीवनसँग जोडिन्छ।
मनको समस्या देखिँदा
युरोपमा रहेका नेपालीको जीवन एउटै छैन। कोही विद्यार्थी छन्, कोही श्रमिक, कोही व्यवसायी, कोही चिकित्सक, इन्जिनियर वा अन्य पेसागत क्षेत्रमा छन्। पेसा र आम्दानी फरक भए पनि मानसिक स्वास्थ्यमा असर गर्ने केही साझा कारण भने हुन सक्छन्- भाषा, परिवारबाट दुरी, सामाजिक एक्लोपन, आर्थिक दबाब, कामको अनिश्चितता र आफ्नो योग्यता अनुसारको अवसर नपाउनु।
परिवारसँगै विदेश आएका नेपालीका लागि चुनौतीको अर्को तह हुन्छ। नेपालमा हुर्किएका अभिभावक र युरोपमा हुर्किएका छोराछोरीको सोच, भाषा, संस्कृति र जीवनशैली फरक हुनसक्छ। अभिभावकले एउटा मूल्यलाई महत्त्व दिन्छन्, नयाँ पुस्ताले अर्को सामाजिक परिवेशबाट आफ्ना प्राथमिकता बनाउँछ।
त्यसबाट परिवारभित्र दुरी र तनाव बढ्न सक्छ। थापा प्रवासी नेपालीलाई आफ्नै समुदायसँग जोडिएर बस्न, तर आफू बसेको समाजबाट अलग नहुन सुझाउँछन्।
‘आफ्नो संस्कृति र पहिचान जोगाउनुपर्छ,’ उनी भन्छन्, ‘तर आफू बसेको समाजसँग पनि घुलमिल हुनुपर्छ। भाषा सिक्नुपर्छ, त्यहाँको सिस्टम बुझ्नुपर्छ र स्थानीय समाजसँग सम्बन्ध बनाउनुपर्छ।’
उनका लागि घुलमिल भनेको आफ्नो जरा छाड्नु होइन। आफ्नो संस्कृतिको राम्रो पक्ष जोगाउँदै नयाँ समाजको राम्रो पक्ष सिक्दै अघि बढ्नु हो।
मानसिक स्वास्थ्यको समस्या धेरै पटक कुनै ठूलो घटनाबाट मात्र देखिँदैन। मानिसको दैनिक व्यवहारमा आएको परिवर्तनबाट पनि त्यसका संकेत देखिन सक्छन्। पहिले रमाइलो लाग्ने कुरामा रुचि नहुनु, साथीभाइसँग भेटघाट गर्न मन नलाग्नु, लगातार झर्को लाग्नु, निद्रा बिग्रनु, खानामा रुचि घट्नु, तौल घट्नु, डर र तनाव बढ्नु, नकारात्मक विचार आइरहनु वा आफूलाई दोष दिइरहनु- यस्ता परिवर्तनलाई बेवास्ता गर्न नहुने थापाको सुझाव छ।
तर, मानसिक स्वास्थ्यका विषयमा नेपाली समाजमा अझै पनि संकोच छ। ‘मानसिक स्वास्थ्यको समस्या कमजोरी होइन,’ थापा भन्छन्, ‘यो पनि स्वास्थ्यकै एउटा भाग हो।’ उनको सुझाव सरल छ- समस्या छ भने कुरा गर्नुपर्छ। परिवारसँग, साथीभाइसँग वा विश्वास गर्ने व्यक्तिसँग। समस्या लामो समयसम्म रह्यो वा दैनिक जीवनमा असर पार्न थाल्यो भने विशेषज्ञको सहयोग लिनुपर्छ।
उपचार पनि सबैका लागि एउटै हुँदैन। कतिपय अवस्थामा परामर्श र मनोचिकित्सकीय उपचार पर्याप्त हुनसक्छ भने कतिपय अवस्थामा औषधिको आवश्यकता पर्न सक्छ। मुख्य कुरा समस्या लुकाएर राख्नु होइन, समयमै पहिचान गर्नु हो।
चिकित्सक, प्राध्यापक र अनुसन्धानको नेतृत्व
नर्वेमा पीएचडी गर्दै गर्दा थापाले अनुसन्धानसँगै चिकित्सकीय अभ्यासलाई पनि निरन्तरता दिए। नर्वेली भाषा सिके। चिकित्सा अनुमतिका आवश्यक प्रक्रिया पूरा गरे। अस्पतालमा काम सुरु गरे।
चिकित्सा, शल्यक्रिया र जेरियाट्रिक सेवामा काम गरेपछि उनको ध्यान मनोचिकित्सातर्फ केन्द्रित भयो। त्यसपछि उनले मनोचिकित्सामा विशेषज्ञता हासिल गरे। सन् २००६ को अगस्टदेखि उनी ओस्लो विश्वविद्यालय अस्पतालसँग निरन्तर जोडिएका छन्। सन् २०१६ देखि ओस्लो विश्वविद्यालयमा प्राध्यापन तथा अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएका छन्।
अहिले उनी विश्वविद्यालयमा प्राध्यापक तथा मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान नेतृत्वको भूमिकामा छन्। ओस्लो विश्वविद्यालय अस्पतालमा पनि अनुसन्धान नेतृत्वसँग जोडिएका छन्।
उनको काम बिरामीको उपचारमा मात्र सीमित छैन। विद्यार्थी पढाउने, नयाँ पुस्ताका अनुसन्धानकर्तालाई मार्गदर्शन गर्ने, अनुसन्धान सञ्चालन गर्ने र मानसिक स्वास्थ्यसम्बन्धी शैक्षिक तथा संस्थागत कामको नेतृत्व गर्ने जिम्मेवारी पनि उनीसँग छ।
आप्रवासन, शरणार्थी, युद्ध, विस्थापन, आघात र मानसिक स्वास्थ्य उनका अनुसन्धानका प्रमुख विषय हुन्। अन्तर्राष्ट्रिय स्तरमा ५० भन्दा बढी अनुसन्धान प्रकाशनसँग उनको नाम जोडिएको छ।
तर, यी उपलब्धिभन्दा पर उनको कामको एउटा महत्त्वपूर्ण पक्ष छ- अनुसन्धानलाई मानिसको जीवनसँग जोड्नु।
नेपालसँगको सहकार्य
नर्वे पुगेपछि थापाले आफ्नो अध्ययन र पेसागत यात्रा मात्र अघि बढाएनन्, नेपालसँगको सम्बन्धलाई पनि निरन्तरता दिए। नर्वेमा बसेर नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचले उनलाई सहकार्यतर्फ डोर्यायो।
‘नेपालले मलाई पढायो, हुर्कायो। त्यहाँ केही गर्न नसकेको एउटा पीडा पनि थियो। त्यसैले नर्वेमा बसेर पनि नेपालका लागि केही गर्नुपर्छ भन्ने लाग्यो,’ थापा भन्छन्।
त्यही सोचबाट उनले नेपालका चिकित्सक तथा सहकर्मीहरूसँग मिलेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, इन्स्टिच्युट अफ मेडिसिन र कान्ति अस्पतालसँग मानसिक स्वास्थ्यसम्बन्धी सहकार्य अघि बढाए। सेमिनार, सम्मेलन तथा शैक्षिक कार्यक्रममार्फत नेपाल र नर्वेबीच चिकित्सक, प्राध्यापक, मनोवैज्ञानिक तथा विद्यार्थीको अनुभव आदानप्रदान गर्ने काम पनि अघि बढ्यो।
‘हामीले टिचिङ हस्पिटल, इन्स्टिच्युट अफ मेडिसिन र साइकियाट्री विभागसँग मिलेर सेमिनारहरू गर्यौं। पछि ठूलो सम्मेलन पनि गर्यौं र नर्वेबाट ग्रान्टसमेत पायौँ,’ उनी सम्झन्छन्।
थापाका अनुसार ५-६ वर्षको निरन्तर प्रयासमा नेपाल र नर्वेबीच करिब १५० जना विद्यार्थी तथा प्राध्यापकको शैक्षिक आदानप्रदान भयो। नेपालका चिकित्सक तथा मनोवैज्ञानिकलाई नर्वेमा अध्ययन र अनुसन्धानको अवसर दिने काम पनि अघि बढ्यो।
‘हामीले नेपालबाट एमडी गर्ने साइकियाट्रिस्ट, एमफिल गर्ने साइकोलोजिस्टदेखि प्रोफेसर र विद्यार्थीहरूसम्मलाई नर्वे ल्याउने र नेपालबाट पनि विद्यार्थीहरू लैजाने काम गर्यौं,’ उनी भन्छन्। यही सहकार्यबाट नेपालका ६ जना मनोचिकित्सक तथा मनोवैज्ञानिकले नर्वेमा विद्यावारिधि गर्ने अवसर पाएको उनी बताउँछन्।
नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी एमडी, एमफिल र पीएचडीका पाठ्यक्रम विकास तथा परिमार्जनमा समेत आफूहरू संलग्न भएको थापाको भनाइ छ। बाल मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सहकार्य सुरु गरिएको उनले बताए।
‘हामीले पीएचडीको करिकुलम लेख्यौँ, मास्टर र एमडीको करिकुलम रिभाइज गर्यौं। नेपालमा बाल मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सहकार्य सुरु गर्यौं,’ उनी भन्छन्।
नर्वे बसेर नेपालका लागि गरिरहेको यो कामलाई थापा व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको मानसिक स्वास्थ्य क्षेत्रमा क्षमता विकास र अनुसन्धानको आधार बलियो बनाउने प्रयासका रूपमा हेर्छन्।
‘नर्वेमा बसेर मैले नेपालको मानसिक स्वास्थ्यमा अनुसन्धान, क्षमता विकास र रिसर्च बढाउने हिसाबले काम गर्दै आएको छु,’ उनी भन्छन्।
प्रवासी समुदायसँगको अर्को सम्बन्ध
पेसागत जीवनमा नर्वेमा स्थापित हुँदै गर्दा पनि थापा नेपाली समुदायबाट टाढा भएनन्। गैरआवासीय नेपाली संघ नर्वेको अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका रूपमा काम गरिसकेका उनी नेपाली समुदायका विभिन्न तहसँग जोडिए।
नेपाली चिकित्सक तथा अनुसन्धानकर्तालाई अध्ययन र अनुसन्धानका अवसरसँग जोड्ने तथा नेपाल र नर्वेबीच स्वास्थ्य र शैक्षिक सहकार्यका सम्भावना खोज्ने काममा पनि उनको रुचि रहँदै आएको छ।
विदेशमा प्राप्त ज्ञान र अनुभव नेपालसम्म पुग्नुपर्छ भन्ने सोच रहेको डा. थापा बताउँछन् । त्यसैको एउटा अर्को रूप हो- नेपाली भाषामै मानसिक स्वास्थ्यसम्बन्धी पुस्तक लेख्ने योजना। अवसाद के हो? पीटीएसडी र आघातले मानिसको मन र शरीरमा कस्तो असर पार्छ? मानसिक स्वास्थ्यमा समस्या आएको कसरी थाहा पाउने? कहिले विशेषज्ञको सहयोग लिनुपर्छ?
यस्ता विषयलाई अनुसन्धानमा आधारित तर सामान्य नेपालीले बुझ्ने भाषामा प्रस्तुत गर्ने उनको योजना छ। विशेषज्ञको ज्ञान विशेषज्ञकै कोठाभित्र सीमित नहोस् भन्ने उनको चाहना छ।
नर्वेबाट नेपाललाई हेर्दा
नर्वेमा चिकित्सक, अनुसन्धानकर्ता र प्राध्यापकका रूपमा दुई दशकभन्दा बढी समय बिताउँदा थापाले त्यहाँको स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए। नेपालमा चिकित्सा शिक्षा लिएर व्यावसायिक यात्रा सुरु गरेका उनका लागि नर्वेको अनुभव अर्को देशको स्वास्थ्य प्रणाली बुझ्ने विषय मात्र रहेन, आफ्नै देशको स्वास्थ्य क्षेत्रलाई फरक कोणबाट हेर्ने आधार पनि बन्यो।
नर्वेको स्वास्थ्य प्रणालीबाट नेपालले के सिक्न सक्छ भन्ने प्रश्नमा उनको ध्यान सबैभन्दा पहिले स्वास्थ्य र शिक्षाको पहुँचतर्फ जान्छ।
उनको बुझाइमा स्वास्थ्य सेवा मानिसको आर्थिक अवस्था वा सामाजिक हैसियतले निर्धारण गर्ने सुविधा होइन, राज्यको आधारभूत जिम्मेवारीका रूपमा स्थापित हुनुपर्ने विषय हो।
त्यससँगै डा. थापा उपचार पद्धतिको कुरा गर्छन्। चिकित्सकीय निर्णय प्रमाणमा आधारित हुनुपर्ने, बिरामीलाई आवश्यकताअनुसार उपचार दिनुपर्ने र अनावश्यक औषधिको प्रयोग घटाउनुपर्ने उनको अनुभव छ। विशेषगरी एन्टिबायोटिकको प्रयोगमा सावधानी अपनाउने अभ्यासलाई उनी महत्त्वपूर्ण मान्छन्।
उनका लागि स्वास्थ्य प्रणाली बलियो हुनु भनेको अस्पताल र उपकरण थपिनु मात्र होइन, नागरिकले समयमै आवश्यक उपचार पाउनु, सही उपचार पाउनु र स्वास्थ्य सेवामा समान पहुँच हुनु पनि उत्तिकै महत्त्वपूर्ण हो।
नेपालको अवस्था नर्वेभन्दा फरक छ। त्यसैले नर्वेको अभ्यासलाई जस्ताको तस्तै नेपालमा उतार्न सकिन्छ भन्ने उनको धारणा होइन। तर स्वास्थ्य र शिक्षालाई सबैको पहुँचमा पुर्याउने राज्यको जिम्मेवारी, उपचारमा समान पहुँच र प्रमाणमा आधारित चिकित्सकीय अभ्यास जस्ता आधारभूत पक्षबाट नेपालले सिक्न सक्ने ठाउँ भने रहेको उनी मान्छन्।
नेपालबाट चिकित्सक बनेर नर्वे पुगेका थापाले त्यहाँ आफ्नो पेसागत जीवन मात्र निर्माण गरेनन्, दुई फरक समाज र स्वास्थ्य प्रणालीलाई नजिकबाट हेर्ने अवसर पनि पाए। त्यसैले नर्वे उनका लागि बसाइँको देश मात्र होइन, आफ्नै देशलाई बाहिरबाट हेर्ने एउटा दृष्टि पनि बनेको छ।





























