
हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- शोएब अख्तर नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।
- हिमालय स्पोर्ट्सले अख्तरलाई खेलअघि र खेलपछि सञ्चालन हुने ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ कार्यक्रममा अनुबन्ध गरेको जनाएको छ।
- अख्तरले प्रसारण कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट अनुभव, प्राविधिक पक्ष र नेपाली क्रिकेटको सम्भावनाबारे विश्लेषण गर्नेछन्।
२९ असोज, काठमाडौं । पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा सहभागी हुने भएका छन्।
हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ।
‘रावलपिन्डी एक्सप्रेस’ उपनामले परिचित अख्तरले सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय अन्तर्राष्ट्रियमा २४७ र १५ टी–२० अन्तर्राष्ट्रियमा १९ विकेट लिएका छन्।
सन् २००३ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेका अख्तरको नाममा क्रिकेटमा रेकर्ड गरिएको सबैभन्दा तीव्र गतिको बलको कीर्तिमान छ।
हिमालय स्पोर्ट्सको प्रसारण कार्यक्रममा अख्तरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट अनुभव, खेलको प्राविधिक पक्ष र नेपाली क्रिकेटको सम्भावनाबारे विश्लेषण गर्नेछन्। नेपाल भ्रमणका क्रममा उनी क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा समर्थकसँगको भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्।
हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले अख्तरको सहभागितालाई नेपाली खेल प्रसारण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको अनुभव र विश्लेषण नेपाली दर्शकमाझ पुर्याउने प्रयासको यो अर्को कदम भएको बताए।
हिमालय स्पोर्ट्सले यसअघि भारतीय खेल प्रसारण क्षेत्रमा अनुभव हासिल गरेका प्रस्तोता नवनीत कृष्ण, आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ’ब्रायन र नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी बर्दान चालिसेलाई प्रसारण टोलीमा समावेश गरिसकेको छ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलसँगै हिमालय स्पोर्ट्सले खेलअघि र खेलपछिको विश्लेषण, विशेष अन्तर्वार्ता तथा क्रिकेटसम्बन्धी कार्यक्रम प्रसारण गर्ने जनाएको छ।

























