
काठमाडौं । भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ। भिडियोमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्।
खोला किनार, डन्डिबियो र मकैबारीजस्ता दृश्यले पुरानो ग्रामीण परिवेशलाई चित्रण गरेका छन्। गीतमा अनमोलको हाउभाउले उनका पिता भुवन केसीका पुराना फिल्मको झल्को दिन्छ। यही फिल्मबाट डेब्यु गरेकी प्रिन्सीको प्रस्तुतिमा पनि पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को महसुस गर्न सकिन्छ।
भुवनको दोस्रो निर्देशकीय फिल्ममा उनीसँगै गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ।






















