दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैं–तिहारका बेला विदेश जान लागेका र फर्किन आएका नेपालीको भीड देखिएको छ।
  • महेन्द्रनगरका नवीन सिंहले रोजगारीका लागि टर्की जाँदा चाडपर्वमा परिवारसँगै बस्न नपाएको र बाध्यताले विदेशिनुपरेको बताए।
  • धनुषाका भोगी महतोले ऋण तिर्न र परिवारको खर्च चलाउन बिदा सकिएपछि निर्धारित समयमै दुबई फर्किनुपरेको बताए।

१ कात्तिक, काठमाडौं । यतिबेला देशभर दशैं-तिहारको रौनक छ । कामको लागि घर परिवारबाट टाढा रहेकाहरू घर फर्किन्छन् । सहर बजारभन्दा गाउँघरमा यतिबेला रौनक बढ्दो छ । गाउँघरमा लिङ्गे पिङ हाल्ने, बाटोघाटो सफा गर्ने र घर फर्किने आफन्तको प्रतीक्षा गर्ने क्रम चलिरहेको छ । विदेशमा रहेका नेपाली पनि सकेसम्म चाडपर्वमा घर फर्किने तयारी गर्छन् । तर, सबै नेपालीको भाग्यमा चाडपर्वमा परिवारसँगै बसेर खुसी साट्ने अवसर कहाँ हुन्छ र !

कतिपयका लागि दशैं–तिहार परिवारसँगै बसेर मनाउने चाड हो । तर, कतिपयका लागि यही समय घरपरिवार छाडेर परदेश लाग्नुपर्ने बाध्यताको समय पनि हो । परिवारसँगै बसेर टीका लगाउने, मीठोमसिनो खाने र सुखदु:ख साट्ने रहर हुँदाहुँदै पनि रोजगारी, भिसा र आर्थिक जिम्मेवारीले उनीहरूलाई घरबाट टाढा पुर्‍याउँछ ।

दशैंको यही माहोलबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परदेशिने र आफ्ना प्रियजनलाई बिदाइ गर्न आउनेहरूको भीड छ । कोही रोजगारीका लागि विदेश जाँदै छन्, कोही अध्ययन वा पारिवारिक कारणले । उनीहरूसँगै विमानस्थल आइपुगेका आफन्तका अनुहारमा खुसी र दु:ख दुवै देखिन्छन् ।

अनलाइनखबरको टोली विमानस्थल पुग्दा भेटिएका यात्रुका कथा पनि यस्तै थिए । कसैले घरपरिवार छाड्नुअघि टीका लगाए, कसैले विदेश जान लागेकी बुहारीलाई बिदाइ गरे । कोही भने ऋण तिर्न र परिवारको खर्च धान्न बिदा सकिएसँगै काममा फर्किंदै थिए ।

विमानस्थलमै टीका, मनमा घरको सम्झना

महेन्द्रनगरका नवीन सिंह रोजगारीका लागि टर्की जाँदै थिए । दशैं–तिहारको समयमा घरपरिवारसँगै बसेर चाड मनाउने रहर उनलाई पनि थियो । तर, परिस्थितिले त्यो अवसर दिएन ।

घरबाट बिदा भएर आएका सिंहले विमानस्थलमा पनि आफन्तबाट टीका लगाए । चाडपर्वको समयमा परदेशिनुपर्दा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले आफ्नो बाध्यता सुनाए । ‘दसैं–तिहारको बेला परदेशमा हुनुपर्दा दु:ख त लाग्छ नि तर, के गर्ने, बाध्यता छ । अरू विकल्प छैन,’ उनले भने ।

उनको जवाफ छोटो थियो, तर त्यसमा रोजगारीका लागि विदेशिनुपर्ने धेरै नेपालीको साझा पीडा झल्किन्थ्यो । चाडपर्वका बेला घरपरिवारसँगै बस्ने रहर सबैलाई हुन्छ । तर, आम्दानीको विकल्प नहुँदा कतिपयले आफ्नै रहरलाई थाती राखेर विदेशको बाटो रोज्नुपर्छ ।

नेपालमा पछिल्लो समय राजनीतिक परिवर्तन र नयाँ सरकारसँगै रोजगारीका अवसर बढ्ने अपेक्षा गरिएको छ । युवाहरूले पनि देशमै बसेर काम गर्ने वातावरण बन्ने आशा राखेका छन् । तर, सिंहलाई तत्कालै परिस्थिति बदलिने विश्वास छैन ।

‘नेपालमा अहिले धेरै व्यवसाय बन्द भइरहेका छन्, चल्न सकेका छैनन् । यति छिट्टै सबै परिवर्तन हुन्छ जस्तो लाग्दैन । त्यसैले अन्तिम विकल्प नै विदेश जाने भएको छ,’ उनले भने ।

उनको भनाइमा देशमै केही गर्ने चाहना हुँदाहुँदै पनि त्यसका लागि आवश्यक अवसर र वातावरण नहुँदा विदेशिनुपर्ने बाध्यता छ ।

बुहारीलाई बिदाइ गर्दा खुसीसँगै दु:ख

विमानस्थलमा अर्को परिवार पनि भेटियो । परिवारका सदस्यहरू अमेरिकातर्फ जान लागेकी बुहारी युवावती ओलीलाई बिदाइ गर्न आएका थिए । बुहारी अमेरिका जान लागेकी थिइन् । उनका श्रीमान् पनि उतै भएकाले उनलाई पठाउनुपर्ने अवस्था बनेको परिवारको भनाइ थियो ।

दशैं–तिहारको मुखमा बुहारीलाई बिदाइ गर्नुपर्दा परिवारमा खुसी र दु:ख दुवै थियो । विदेश जान लागेको खुसी त थियो नै, तर चाडपर्वमा सँगै बसेर रमाइलो गर्ने अवसर छुट्ने पीडा पनि उत्तिकै थियो ।

बुहारीलाई बिदाइ गर्न आएका उनका ससुराले चाडपर्वको समयमा विदेश जानुपर्ने अवस्था रहरले नभई बाध्यताले आएको बताए ।

‘दु:ख त अनिवार्य नै छ । तर, यहाँ बसेर पनि हुँदैन भन्ने भयो । अहिले परिस्थिति नै यस्तै छ । छोरो उतै भएकाले बुहारीलाई पनि पठाउनुपर्ने अवस्था देखियो,’ उनले भने ।

परिवारका लागि विदेश जानु नयाँ कुरा थिएन । छोरो पहिल्यै विदेशमा थिए । अब बुहारी पनि उतै जाने भएपछि परिवारले उनलाई बिदाइ गर्न विमानस्थलसम्म आएको थियो ।

दशैं–तिहारमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुने, टीका लगाउने र आशीर्वाद लिने परम्परा नेपाली समाजमा गहिरोसँग जोडिएको छ । तर, रोजगारी र पारिवारिक परिस्थितिले धेरै परिवारलाई यही अवसरमा पनि छुट्टिन बाध्य बनाएको छ ।

बिदाइका बेला ससुराले बुहारीको राम्रो यात्राको कामना गरे । जहाँ गए पनि राम्रो काम गर्न, प्रगति गर्न र परिवारको नाम उज्यालो बनाउन उनले आशीर्वाद दिए ।

‘राम्रो यात्रा होस्, राम्रो काम गरून् । जहाँ गएर जागिर गर्ने हो, त्यहाँ राम्रो होस्, प्रगति होस् । बाबुआमा र घरको नाम रोशन गरून्,’ उनले भने ।

उनका शब्दमा बुहारी विदेश जान लागेको खुसीभन्दा पनि उनको भविष्य राम्रो होस् भन्ने चाहना बढी झल्किन्थ्यो । परिवारबाट टाढा जानुपर्दाको दु:खलाई मनमै राखेर उनीहरूले बुहारीको उज्ज्वल भविष्यको कामना गरिरहेका थिए ।

ऋण तिर्न बिदा छोट्याएर फर्किंदै

विमानस्थलमा भेटिएका धनुषाको मिथिला नगरपालिका–३ का भोगी महतो भने दुबई फर्किंदै थिए । उनी बिदामा नेपाल आएका थिए । दुई महिनाको बिदा सकिएपछि काममा फर्किनुपर्ने बाध्यता थियो ।

दशैं, तिहार, छठको माहोल थियो । यो माहोलमा घर परिवारसँगै रमाउने मन थियो । त्यसका लागि उनले कम्पनीसँग टिकटको समय मिलाउने प्रयास गरे । तर, टिकट सार्न खोज्दा धेरै पैसा लाग्ने भएपछि निर्धारित समयमै फर्किनुपर्ने अवस्था आएको उनले सुनाए ।

‘दुई महिनाको बिदा थियो, सकियो । कम्पनीलाई टिकट सारिदिन भनेको थिए । तर टिकट सार्दा धेरै पैसा माग्यो । त्यही कारण समयमै जानुपर्‍यो,’ उनले भने ।

दशैं–तिहार परिवारसँगै मनाउने इच्छा उनलाई पनि थियो । तर, रोजगारीको जिम्मेवारी र समयको बाध्यताले त्यो इच्छा पूरा हुन सकेन ।

महतो दुबईमा भवन निर्माणसम्बन्धी काम गर्छन् । उनी पहिलोपटक सन् २०१२ मा रोजगारीका लागि विदेश गएका थिए । कोरोना महामारीको समयमा पहिले काम गरेको कम्पनी बन्द भएपछि उनी नेपाल फर्किएका थिए । त्यसपछि सन् २०२४ मा फेरि विदेश गए । अहिले बिदा सकेर पुन: दुबई फर्किंदै छन् ।

ऋण तिर्नु पर्ने पीडा एकातिर छ भने अर्कोतर्फ परिवारको खर्च चलाउनु छ । त्यसैले उनलाई चाडपर्व भन्दा पनि ऋण र परिवारको खर्चको पीडा बढी छ । ‘धेरै ऋण पनि छ । ऋण तिर्नुपर्‍यो नि । त्यही कारणले जानुपरेको हो,’ उनले भने ।

परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले विदेशिएका महतोका लागि चाडपर्वको समय पनि काम र आम्दानीको हिसाबसँग जोडिएको छ । परिवारको सम्झना आउँदैमा घरमै बस्न सम्भव छैन भन्ने उनको बुझाइ छ । ‘सम्झेर के गर्नु ? अब जानैपर्‍यो । सम्झेर त केही फाइदा हुँदैन,’ उनले भने ।

उनको यो जवाफमा विदेशमा काम गर्ने नेपालीले भोग्ने व्यावहारिक कठिनाइ देखिन्छ । परिवारको सम्झना र चाडपर्वको मोह आफ्नो ठाउँमा छ, तर ऋण र आर्थिक जिम्मेवारी पूरा गर्न काममा फर्किनैपर्छ ।

चाडपर्वको खुसी र परदेशको बाध्यता

विमानस्थलमा भेटिएका यी यात्रुका कथा फरक फरक भएपनि पीडा एउटै देखिन्छ । परिवारसँगै बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि परिस्थितिले उनीहरूलाई घरबाट टाढा पुर्‍याएको छ ।

नेपालीका लागि दशैं–तिहार केवल चाडपर्व होइनन् । यी परिवारसँग भेट्ने, आफन्तसँग सम्बन्ध नवीकरण गर्ने र वर्षभरिका दु:ख बिर्सेर खुसी साट्ने अवसर पनि हुन् । तर, वैदेशिक रोजगारीमा निर्भर धेरै परिवारका लागि यिनै चाडपर्व बिदाइ, प्रतीक्षा र पुनर्मिलनका कथासँग जोडिएका छन् ।

एकातिर विदेशमा रहेका आफन्त घर फर्किने प्रतीक्षामा परिवार छन् । अर्कातिर, चाडपर्वकै बेला विमानस्थलबाट परदेश लागिरहेका नेपाली छन् । उनीहरूका लागि विदेश यात्रा केवल व्यक्तिगत निर्णय होइन, परिवारको भविष्यसँग जोडिएको जिम्मेवारी पनि हो ।

परदेशमा जति नै कमाए पनि, दशैंको खुसी आफ्नै घर र परिवारसँगै

चाडपर्वको बेला परदेशीने मात्रै होइनन । फर्किनेहरूको संख्या पनि उक्तिकै देखिन्छ । विमानस्थलको अराइभल कक्षमा विदेशबाट फर्किने आफन्तको प्रतिक्षामा रहेकाहरू थुप्रै छन् । उनीहरूका लागि हरेक सेकेण्ड निकै लामो लागिरहेको हुन्छ ।

परदेशमा पसिना बगाउँदा पनि नेपालीहरूका लागि दशैंको खुसी आफ्नै घर, परिवार र आफन्तसँग जोडिएको हुन्छ । त्यसैले त रोजगारीका लागि विदेश पुगेका नेपालीहरू दशैं मनाउनकै लागि भए पनि स्वदेश फर्किने गर्छन् ।

विमानस्थलमा कोही लामो समयपछि परिवारसँग भेट्न पाउँदाको खुसी बोकेर फर्किएका छन्, त कोही छोराछोरीलाई टीका लगाइदिन र आमाबुबाको आशीर्वाद लिन घर आइपुगेका छन् ।

परदेशमा कमाएको पैसाले परिवारको आवश्यकता पूरा गर्ने जिम्मेवारीसँगै चाडपर्वमा आफन्तसँगै मनाउने चाहना उनीहरूको छ । उनीहरूका लागि दशैं केवल चाड होइन, परिवारसँग पुनर्मिलन हुने र वर्षभरिका दु:ख–सुख साट्ने अवसर पनि हो ।

तस्बिर/भिडियो कमल प्रसाईं

       





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्