
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट सूचना नदिँदा पश्चिम नेपालमा किसानले काटेर सुकाएको धान भिजेको छ ।
मौसमविज्ञहरूले वर्षाको सम्भावना औँल्याइरहँदा महाशाखाले त्यसलाई ‘भ्रामक हल्ला’ भन्दै खण्डन गरेको थियो । विभागको त्यही आधिकारिक सूचना पत्याएर धान काटेका किसानको बाली यतिबेला खेतमै डुबेको छ ।
केही दिनअघि मौसमविज्ञ विनोद पोखरेललगायतले असोज १७ गते आसपासबाट वर्षाको सम्भावना रहेको भन्दै किसानलाई सचेत गराएका थिए । तर, मौसम पूर्वानुमान महाशाखाले एक औपचारिक सूचना नै जारी गर्दै ‘असोज १७ गतेदेखि तीन दिनका लागि भीषण वर्षा हुन्छ भनेर फैलिएको खबर भ्रामक रहेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको’ दाबी गर्यो ।
राज्यको आधिकारिक निकायले नै पानी पर्दैन र सामाजिक सञ्जालका हल्लाको पछि नलाग्न भनेपछि ढुक्क भएका किसानले असोज १७ र १८ गते खेतमा पाकेको धान काटेका थिए । तर, विभागको पूर्वानुमानविपरीत असोज २०, २१ र २२ गतेसहित पछिल्ला केही दिनयता परेको अविरल वर्षाले काटेर सुकाउन राखिएको धान खेतमै भिजेर नष्ट भएको छ ।
वर्षाका कारण विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धानबालीमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशका बर्दिया, बाँके, रूपन्देही र कपिलवस्तुलगायतका जिल्लामा पाक्न लागेको र काटेर खेतमा सुकाइएको धान पूर्ण रूपमा प्रभावित भएको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेका अनुसार हाल विभिन्न जिल्लाबाट धानबालीमा क्षति भएको विवरणहरू आइरहेका छन् ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दियामा १९ गते राति हावाहुरीसहित भारी वर्षा हुँदा किसानले ठुलो नोक्सानी बेहोर्नुपरेको छ । कैलालीमा खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको छ ।
कैलालीका किसान सरोज चौधरी भन्छन्, ‘पहिले पानी पर्ने हल्ला भयो, धान काटेका थिएनौँ । फेरि पानी नपर्ने भन्दै सरकारी सूचना भाइरल भयो, समाचार पनि त्यस्तै आयो । त्यही भएर धान काट्यौँ, तर काटेको धान पूरै भिज्यो ।’
सरकारले पानी पर्ने वा नपर्ने कुरा स्पष्ट रूपमा भनेको भए धेरैले धान नकाट्ने चौधरीले बताए । उनी गुनासो गर्छन्, ‘कुरा नै प्रस्ट भएन, पानी पर्दैन भनेर सबैले धान काटे । धान भित्र्याएर दसैँ मनाउने भनेको, धान नै काम नलाग्ने भयो ।’
धान भित्र्याउने मुख्य समयमै बर्दियामा आएको हावाहुरी र वर्षाले किसानलाई झनै मारमा पारेको छ । गुलरिया र मधुवन नगरपालिकालगायतका क्षेत्रमा १९ गते राति चलेको तीव्र हावाहुरीले पाकेको धान ढालेको छ भने खेतमा पानी जम्दा ढलेको धान डुबेको छ ।






















