
News Summary
Generated by OK AI. Editorially reviewed.
- श्रममन्त्री रामजी यादवले मलेसियाका मानव संशाधनमन्त्री रामाननसँग टेलिफोन संवाद गर्दै नेपाली श्रमिक पठाउने प्रक्रियामा सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिन आग्रह गरे।
- यादवले मलेसियाको एफडब्ल्युसीएमएसमा नेपालका २५ प्रिन्सिपल एजेन्सी र २५० सपोर्टिङ एजेन्सीको विषय उठाउँदै सबै इजाजतपत्र प्राप्त संस्थालाई सूचीकृत हुने अवसर दिन अनुरोध गरे।
- रामाननले नेपालसँगको श्रम सम्बन्धलाई मलेसिया सरकारले उच्च प्राथमिकतामा राखेको र सुरक्षित, मर्यादित तथा पारदर्शी श्रम आप्रवासनको पक्षमा रहेको बताएका छन्।
८ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरी आर रामाननसँग टेलिफोन संवाद गर्दै नेपाली श्रमिक पठाउने प्रक्रियामा सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री वालन शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच ६ असोजमा भएको टेलिफोन संवादमा मलेसियाको श्रम क्षेत्रका विषयमा छलफल भएपछि त्यसकै सन्दर्भमा नेपालका श्रममन्त्री यादव र मलेसियाका मानव संशाधनमन्त्री रामाननबीच आज टेलिफोन संवाद भएको श्रम मन्त्रालयले जनाएको छ ।
संवादका क्रममा मन्त्री यादवले मलेसिया सरकारले लागू गरेको एफडब्ल्युसीएमएसमा नेपालका २५ वटा ‘प्रिन्सिपल’ एजेन्सी र ती अन्तर्गत रहने गरी छनोट गरिएका २५० वटा ‘सपोर्टिङरएसोसिएट एजेन्सी’ को विषय उठाएका थिए ।
मन्त्री यादवले नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनअनुसार नेपाल सरकारबाट इजाजतपत्र प्राप्त संस्थाहरूलाई समान रूपमा मलेसियामा श्रमिक पठाउने अवसर प्रदान गर्ने व्यवस्था रहेको बताएका थिए ।
हाल नेपालमा १ हजार १ सय भन्दा बढी वैदेशिक रोजगार व्यवसायी संस्था सक्रिय रहेको उल्लेख गर्दै उनले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सबै संस्थालाई एफडब्ल्युसीएमएसमा सूचीकृत हुने अवसर उपलब्ध गराउन मलेसिया सरकारसँग अनुरोध गरेका थिए ।
त्यस्तै, नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौतामा समेत नेपाल सरकारबाट इजाजतपत्र प्राप्त संस्थामार्फत नेपाली श्रमिक मलेसिया पठाउने व्यवस्था रहेको भन्दै मन्त्री यादवले एफडब्ल्युसीएमएसमा सूचीकृत संस्थाको विषयलाई दुवै पक्षलाई मान्य हुने गरी कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
मन्त्रालयका अनुसार विकसित अवस्थाको व्यवस्थापनका लागि संवादलाई निरन्तरता दिन र समस्याको निकास निकाल्न पनि मन्त्री यादवले आग्रह गरेका छन् ।
जवाफमा मलेसियाका मानव संशाधनमन्त्री रामाननले नेपालसँगको श्रम सम्बन्धलाई मलेसिया सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए ।
उनले मलेसिया सरकार सुरक्षित, मर्यादित र पारदर्शी श्रम आप्रवासनको पक्षमा रहेको जानकारी गराउँदै नेपाली श्रमिकको हितलाई समेत प्राथमिकतामा राखेको बताएका थिए ।
मलेसिया सरकार सदैव नेपाल सरकारको साथमा रहने बताउँदै उनले विकसित व्यवस्थापन प्रणालीका विषयमा नेपालले राखेको चासोलाई समेत सम्बन्धित तहमा छलफल गर्ने बताएका थिए ।
मन्त्रालयले दुई मन्त्रीबीचको संवादलाई नेपाल–मलेसिया श्रम सम्बन्धलाई निरन्तरता दिने र श्रमिकको हितका विषयमा संवादमार्फत निकास खोज्ने प्रयासका रूपमा उल्लेख गरेको छ ।

























