
९ असोज, काठमाडौं।
नेपाल क्ल्यारिङ हाउस लिमिटेड (NCHL) ले इएफटि (EFT) कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी कार्ड भुक्तानी सुरक्षा, NEPALPAY Card र ई-कमर्स पेमेन्ट गेटवे विस्तारबारे छलफल गरेको छ।
एनसीएचएलद्वारा इएफटि कार्ड सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल क्ल्यारिङ हाउस लिमिटेड (NCHL) ले आफ्ना इएफटि (EFT) कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँग एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, सेवा सञ्चालन सम्बन्धी आवश्यकता परिपूर्ति गर्ने, र नयाँ डिजिटल पहलहरूबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू र एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कार्ड भुक्तानीको सुरक्षा सुदृढीकरण (Security Enhancement), सञ्चालन प्रकृया तथा नवीनतम प्रविधिको प्रयोगका विषयमा गहन छलफल भएको थियो।
इएफटि कार्ड स्विचमा ७ नयाँ संस्था थपिए, कुल संख्या १७ पुग्यो
इन्टर-बैंक भुक्तानी सेवा विस्तार गर्ने क्रममा एनसीएचएलले नयाँ सदस्य संस्थाहरूलाई स्वागत गरेको छ:
नयाँ आवद्ध संस्था: २ वटा वाणिज्य बैंक र ५ वटा वित्त कम्पनी (Finance Companies)
कुल सदस्य संख्या: नयाँ संस्थाहरू थपिएसँगै इएफटि कार्ड स्विचमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूको संख्या १७ पुगेको छ।
इ-कर्मश पेमेन्ट गेटवे: ६ वटा बैंक तथा वित्तीय संस्थाहरूले यो सेवा प्रदान गर्दै आएका छन्, जस अन्तर्गत ११५ भन्दा बढी मर्चेन्टहरू आवद्ध भइसकेका छन्।
3D Secure ACS: १४ वटा बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन कार्ड कारोबारको सुरक्षाका लागि 3D Secure ACS सेवा प्रयोग गरिरहेका छन्।
NCHL EFT Card Services को क्षमता र सञ्चालन
एनसीएचएलको इएफटि कार्ड सर्भिसेस् बैंक तथा वित्तीय संस्थाहरूका लागि उपलब्ध गराइएको सेन्ट्रल स्वीचिङ्ग सोलुशन (Central Switching Solution) हो। यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमहरूको कारोबार प्रोसेसिङ्ग, कार्ड इस्युइङ्ग (Issuing) र एक्वायरिङ्ग (Acquiring) गर्दछ।
कार्ड इस्युइङ्ग (Card Issuing): सदस्य संस्थाहरूले Visa र NEPALPAY कार्डहरू जारी गर्न सक्छन्।
कार्ड एक्वायरिङ्ग (Card Acquiring): इएफटिमा ८ वटा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कहरूका कार्ड स्वीकार (Acquire) गर्ने सुविधा छ— Visa, Mastercard, UnionPay, Diners Club, Discover, Pulse, RuPay, र NEPALPAY।
नेपालमा कार्ड भुक्तानीको बजार र एनसीएचएलको हिस्सा
नेपालको डिजिटल भुक्तानी क्षेत्रमा कार्डको प्रयोग तीव्र रूपमा बढिरहेको छ।
समग्र नेपालको कार्ड बजार: आर्थिक वर्ष २०८१/८२ मा नेपालमा रु. १०.१९ खर्ब बराबरको करिब १२ करोड ९० लाख कार्ड कारोबार भएका थिए। सो अवधिमा कुल १ करोड ४३ लाख ३० हजार कार्डहरू प्रचलनमा रहेका थिए।
एनसीएचएल इएफतिको योगदान: सोही अवधिमा इएफटि (EFT) मार्फत रु. २५५ अर्ब मूल्य बराबरको ३ करोड २० लाख कारोबार सम्पन्न भएका छन्।
बजार हिस्सा: गत आर्थिक वर्षमा एनसीएचएल इएफटिले नेपाली कार्ड भुक्तानी बजारको करिब २५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।
NEPALPAY Card र राष्ट्रिय भुक्तानी पूर्वाधारको भविष्य
नेपालको भुक्तानी पूर्वाधारलाई थप सशक्त बनाउन एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणाली (NPS) को अभिन्न अंगका रूपमा NEPALPAY Card लाई राष्ट्रिय कार्ड योजनाको रूपमा अघि बढाएको छ।
इएफटि कार्ड स्विचलाई राष्ट्रिय भुक्तानी प्रणाली (NPS) मा एकीकृत गरिएकाले सदस्य बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै विद्यमान पूर्वाधारको उपयोग गरी सहजै NEPALPAY Card इस्यु र एक्वायर गर्न सक्नेछन्।
आगामी दिनहरूमा पनि बैंक तथा वित्तीय संस्थाहरू, इकोसिस्टम साझेदारहरू र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै एनसीएचएलले सुरक्षित, भरपर्दो र नवीनतम कार्ड भुक्तानी समाधानहरू प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

























