
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ ।
कर्णालीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बायाँ हाते ब्याटरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौं विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तान टि ट्वान्टी क्रिकेटका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको थियो । बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि कर्णाली याक्सबाटै खेल्दैछन् । वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्न लागेका हुन् ।
कर्णाली याक्स स्पोट्स् प्रा.लीमा अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको बताए । ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेविड मिलरजस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौं ।’
घिमिरेले मिलरको आगमनसँगै कर्णाली याक्सको टिम उपाधि दाबेदारमा रहेको तथा नेपालमा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउन सफल भएको बताए ।
‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेविड मिलर, साहिवजादा फर्हान र हुसैन तलातलाई अनुबन्ध गरेका छौं । यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपिएल देखि नेपालको पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘अब हाम्रो लक्ष्य उपाधिमा केन्द्रित हुनेछ ।’
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् ।
उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।
मिलरले दक्षिण अफ्रिकाबाट १ सय ४० टि ट्वान्टी आईमा २ हजार ८ सय ४ रन बनाएका छन् । यसक्रममा २ सतक र ९ अर्धशतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको २ टि ट्वान्टी शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।
५ सय ८४ टि ट्वान्टी आई खेल खेल्दा १२ हजार ४ सय ३५ रन बनाएका छन् । यसक्रममा चार सतक तथा ५३ अर्धसतक बनाएका छन् । मिलरले २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।
कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
८ टोलीको सहभागितामा एनपिएल कात्तिक ९ देखि मंसिर ५ गते ( अक्टोबर २६ देखि नोभेम्बर २१ ) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रकाशित मिति:
शुक्रबार, कात्तिक ६, २०८३

























