
काठमाडौं (हाम्रो खेलकुद)- एभिएम टेबलटेनिस क्लबकाद्वय इभाना थापा र रुविन महर्जनले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको बुधबार यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोश्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेश्रो भए ।
यु–२१ गल्र्स सिंगल्समा एभिएमकी वियंका राई दोश्रो तथा एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेश्रो बने ।
नेपाल टेबलटेनिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य जिते ।
दुई दिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स सिंगल्समा साइरा शाक्य तथा यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति:
बुधबार, असोज २८, २०८३
थप
टेबल टेनिस

























