
नागोया (हाम्रो खेलकुद)- जापान नागोयामा जारी २०औं एसियाली खेलकुद (एसियाड) गल्फ प्रतियोगितामा नेपालका सुभाष तामाङले तेस्रो दिन शुक्रबार एक ओभर पार ७१ स्कोर गरेका छन् ।
तीन राउन्डपछि उनी कुल स्कोर २ अन्डर २०८ स्कोरसहित संयुक्त १४औं स्थानमा रहेका छन् । पहिलो दिन इभन पार ७० र दोस्रो दिन तीन अन्डर ६७ खेलेका तामाङ तेस्रो दिन लय कायम राख्न सकेनन् । दिनभरमा उनले तीनवटा बर्डी प्रहार गर्दा चारवटा बोगी खेपे ।
तेस्रो दिन पनि दशौं होलबाट खेल सुरु गरेका तामाङले ११ नम्बर होलमै बोगी खेपे । १३औं होलमा बर्डी बनाएर उनी खेलमा फर्किए । १५औं होलमा फेरि बोगी प्रहार गरेका उनले १६औं होलमा तुरुन्तै बर्डी बनाउँदै ब्याक नाइन इभन पार ३५ मा सकाए ।
फ्रन्ट नाइनको सुरुवात भने मिश्रित रह्यो । पहिलो होलमा बर्डी बनाएका उनले दोस्रो होलमै बोगी खेपे । छैटौं होलमा बोगी प्रहार गरेपछि बाँकी तीन होलमा पार बनाउँदै फ्रन्ट नाइन एक ओभर ३६ मा पूरा गरे।
गल्फमा शनिबार अन्तिम राउन्डको खेल हुनेछ । उनी अग्रता लिएका दक्षिण कोरियाका किम जोनभन्दा १० स्ट्रोकले पछि छन् ।
अभिषेक अन्तिम १६ बाट बाहिरिए
तेक्वान्दोतर्फ अभिषेक बराल पुरुषतर्फको ८० केजी मुनि तौल समूहको अन्तिम १६ बाट बाहिरिए । अभिषेक उज्बेकिस्तानका जसुरबेक जायसुनोभसँग सिधा दुई राउन्डमा पराजित भए। पहिलो राउन्डमा १२–२ र दोस्रो राउन्डमा १९-२ को स्कोरसहित जसुरबेक विजयी भए ।
सुजनको हार
जुडोमा पुरुष ९० केजी मुनि तौल समूहमा सुजन गुरुङ राउन्ड अफ १६ बाटै बाहिरिए । जापानको रिकु ओकादासँग सुजनले ३६ सेकेन्डमै हार बेहोरे ।
कुस्तीमा राज यादव पुरुष १ सय २५ केजी फ्रिस्टाइलको क्वाटरफाइनलमा चीनको बुहिरदुनसँग पराजित भए । रामकिशोर यादवलाई बंगलादेशका अब्दुल सत्तारले ६५ केजी फ्रिस्टाइलमा हराए । त्यस्तै ८७ केजी तौल समुहमा निखिल राज पटेल उज्वेकिस्तानका बोबुर इस्लोमोभसँग पराजित भए ।
आशिष र र विजय क्वाटरफाइनलबाट बाहिरियो
क्यानोइङको कायाक क्रस पुरुषतर्फ आशिष रानामगर र विजय माझी क्वाटरफाइनल पुगेर बाहिरिए । कुल १९ खेलाडी प्रतिस्पर्धा गरेको इभेन्टमा आशिष १३औं र विजय १४औं स्थानमा रहँदै क्वाटरफाइनल पुगे । क्वाटरफाइनलमा विजय आफ्नो समूहमा चौथो र आशिष तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिए ।
प्रकाशित मिति:
शुक्रबार, असोज १६, २०८३

























