
७ असोज, काठमाडौं।
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ।
साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र सम्भावित विपद्का समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न भनिएको छ।
मन्त्रालयले बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन र आवश्यकता अनुसार संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC/PHEOC) सँग समन्वय गरी आवश्यक सहजीकरण गर्न पनि अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार आवश्यक समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) की सम्पर्क व्यक्ति श्रेया सुवेदीलाई ९८०९४१३८३४ मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, कोशी प्रदेशमा डा. रामहरी रेग्मी (९८४१३२४२४५), मधेश प्रदेशमा फुलेन्द्र यादव (९८११९४२७६०), बागमती प्रदेशमा दिनेश रुपाखेती (९८५५०२६८३६), गण्डकी प्रदेशमा डा. रोशन ढकाल (९८४९७६२५०१), लुम्बिनी प्रदेशमा डा. शिशिर गिरी (९८४१४६५८५३), कर्णाली प्रदेशमा श्यामलाल आचार्य (९८५८०४७४७६) र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी (९८४८७२०९९८) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
थप जानकारी तथा सहयोगका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।
For More: Health Institutions Standby Ministry

























