कांग्रेस वडा अधिवेशन : अरूलाई जिताउन दलित कोटा नै गायब | Nepal’s first 24-hour updated news portal


काठमाडौं । नेपाली कांग्रेसको विराटनगर महानगरपालिका वडा नम्बर ३ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयनको विषय विवादित बनेको छ । पार्टी विधानले तोकेको दलित समुदाय तथा समावेशी प्रतिनिधित्वलाई लत्याउँदै शीर्ष नेतालाई जोगाउन खुलातर्फको संख्या बढाइएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

वडा अधिवेशनबाट खुलातर्फ २६ जना क्षेत्रीय प्रतिनिधि चयन गरिएको नामावली सार्वजनिक भएको छ । जसमा २६ जना नै खस–आर्य तथा गैरदलित मात्र निर्वाचित भएका छन् । विधानअनुसार २६ जनामध्ये ३ जना अनिवार्य रूपमा दलित समुदायबाट समेटिनुपर्नेमा दलितको सिट काटेर खुलामा थपिएको आरोप असन्तुष्ट पक्षको छ । 

कांग्रेसका एक स्थानीय नेताले पार्टीका प्रभावशाली नेतालाई सुरक्षित गर्नकै लागि विधानविपरीत दलित कोटा गायब गरिएको दाबी गरे । उनका अनुसार खुलातर्फ २३ जना र दलिततर्फ ३ जना हुनुपर्नेमा दलितलाई उम्मेदवार नै नबनाई ती सिटहरू खुलामा गाभिएको हो ।

‘जम्मा २६ जनामध्ये २३ जना खुलाबाट र ३ जना दलितबाट हुनुपर्ने थियो । उनीहरूले दलित उम्मेदवार उठाउनै दिएनन् । उम्मेदवार नभएको बहाना बनाएर ठपक्क लुकाए र त्यसलाई खुलामा सारेर २६ पुर्‍याए । विधानले तोकेको कोटाभन्दा माथि खुलामा थप्न पाइँदैन, कि त त्यो सिट खाली रहनुपर्थ्यो,’ ती नेताले भने । 

पार्टी विधान मिचेर खुलातर्फ सिट संख्या बढाउनुको भित्री कारण नेताहरूलाई सुरक्षित गर्नु रहेको उनको आरोप छ । निर्वाचित सूचीमा काँग्रृेसका केन्द्रीय सदस्य भीम पराजुलीदेखि नेता बाबुराजा ओझासम्मको नाम छ ।

‘यो कसका लागि बढाइयो भन्दा नेताहरू हार्ने भएपछि गरिएको हो । सबभन्दा पुछारमा हार्नेहरू थिए । माथिका जित्ने भएपछि तलकाले हार्ने निश्चित भयो, त्यसपछि दलितको ३ वटा कोटा काटेर २६ जना पुर्‍याइयो र हार्नेलाई छिराइयो,’ उनले दाबी गरे । 

वडा सभापति पदेन क्षेत्रीय प्रतिनिधि हुने विधानको व्यवस्था भए पनि आफूहरू पराजित हुने डरले वडा सभापतिकै निर्वाचन नगराइएको ती नेताको जिकिर छ । ‘वडा सभापतिको चुनाव गराउँदा हार्ने भएपछि पछि गराउने भन्दै चुनाव नै गराएनन्, त्यहाँ पूरै जालझेल गरियो,’ उनले भने ।

नेपाली कांग्रेसको विधानको गाउँपालिका–नगरपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । जसमा १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाबाट कम्तीमा ३ महिला, १ श्रमिक वा पेशागत क्षेत्रसहित ९ जना र ३० वर्ष नपुगेको १ महिलासहित ३ युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनेछन् । १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रही प्रति १५० थप सदस्यमा २ महिला र १ युवासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको ५० प्रतिशत संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा तोकिए बमोजिम प्रतिनिधि निर्वाचित हुनेछन् । अपाङ्गता भएका र दलित क्रियाशील सदस्यमध्येबाट एक–एक जना प्रतिनिधिू अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था विधानमा प्रस्ट उल्लेख छ । वडा सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछ ।

नेपाली कांग्रेस कोशी प्रदेश निर्वाचन समितिका सदस्यसमेत रहेका अधिवक्ता डिल्ली कार्कीले क्लस्टरका लागि तोकिएको कोटा अन्यमा सार्न नमिल्ने बताएका छन् । ‘क्लस्टरको व्यवस्था के छ भने, जसका लागि राखिएको हो त्यो मात्रै हुन पाउँछ । प्रत्यक्षतर्फको क्लस्टरमा उम्मेदवार नै भएनन् भने त्यो खुलामा जान्छ या सिट थपिन्छ भन्ने कुरा छ, तर समानुपातिकतर्फ भने अल्पसंख्यकबाट ल्याउनुपर्छ, अन्यलाई ल्याउन पाइँदैन,’ अधिवक्ता कार्कीले भने । 

पार्टी विधानको मर्मबारे प्रस्ट पार्दै कार्कीले भने, ‘हाम्रो विधानको मकसद कोटा मिचेर अरूलाई ल्याउने होइन । कतिपय ठाउँमा विधान नबुझेर समस्या आएको छ । विधानले खाली नै राख्ने वा तोकिएको विधि अपनाउने भन्छ, यसरी मनपरी गर्न मिल्दैन ।’

विराटनगर–३ बाट निर्वाचित भनी सार्वजनिक गरिएको खुला क्षेत्रीय प्रतिनिधिको सूचीमा १ देखि २६ नम्बरसम्म क्रमशः कृष्णबहादुर कार्की, सुनिल भण्डारी, भारवी न्यौपाने, सुभाषचन्द्र बस्नेत, कैलाश गौतम, दिपकप्रसाद आचार्य, विनोदकुमार बस्नेत, विनोद महत, सुदिप रिजाल, राजु थापा, बाबुराजा ओझा, कमल पुडासैनी, आभास अधिकारी, रमेश कार्की, रमेश भण्डारी, सुरेन्द्र भट्टराई, प्रभाकर थापा, गोकुल थापा, ईश्वरबाबु ढकाल, बद्रीविक्रम थापा, राजेन्द्रकुमार पोखरेल, परशुराम घिमिरे, भीम पराजुली, पुष्प निरौला, गंगा ढकाल र सन्तोष अधिकारी रहेका छन् ।

सार्वजनिक २६ जनाको सूचीमा एक जना पनि दलित प्रतिनिधिको नाम समावेश नभएपछि समावेशी सिद्धान्त र विधानको ठाडो उल्लंघन भएको भन्दै असन्तुष्टि देखिएको हो । 

उता, आफ्नो नाम जोडिएपछि नेता भीम पराजुलीले दलित नभएको कारण सबै कोटामा अरु नै निर्वाचित भएको बताए । ‘यो देशैभरी भइरहेको विषय हो । समानुपातिकको कोटामा नभएर खुलामा यसरी क्षेत्रीय प्रतिनिधि चयन भएको होे,’ पराजुलीले भने, ‘म त १ नम्बरमा नै निर्वाचित भएको हुँ । मैले १ नम्बरको प्रमाणपत्र लिएको छु ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्