
काठमाडौँ। स्रोत नखुलेको ठूलो रकमसहित प्रहरीले काठमाडौँको अनामनगरबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुषाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा स्रोत नखुलेको रकमबाट हुन्डी कारोबार भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
उक्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले भदौ ३१ गते राति करिब ११ः३० बजे रेस्टुरेन्टबाट दुवै जनालाई ३४ लाख ९५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूमाथि हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रवक्ता थापाले जानकारी दिए।


























