
काठमाडौँ । रमेश नेपाल जीवन विज्ञानका अध्येता, साधक र चेतनाका संवाहक हुन् । जीवन भौतिक सफलता वा बाहिरी उपलब्धि मात्र होइन, चेतना, आत्मबोध र आन्तरिक रुपान्तरणको यात्रा हो भन्ने आध्यात्मिक गुरु रमेश नेपाल जीवन विज्ञानमार्फत ज्ञान, ध्यान, अध्यात्म र व्यावहारिक जीवन पढाउनुहुन्छ ।
जीवन विज्ञान अध्येता नेपालसँग मानिस किन दुःखी हुन्छ ? सुख खोज्दा खोज्दै मानिस किन झन् बढी मानिस अशान्त बन्न पुग्छ ? चेतना, मन र जीवनलाई भोटकोशी प्रलयका पीडितहरुलाई कसरी जोड्न सकिन्छ ? आज नेपालको खुसी र सुखी हुने अवस्था छ ? पीडाको समयमा कसरी बाँच्ने ? कसरी हाँस्ने ? यस्तो बेलामा लगाउने मल्हमपट्टी के हुन सक्छ ? लगायत प्रश्नको जवाफ रातोपाटीको ‘वारपार’मा खोज्ने प्रयास गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिले जनधनको ठुलो क्षति पुर्याइरहेको छ । रसुवाको भोटेकोशी नदीमा आएको असाधारण बाढीले त महाविपत्ति नै ल्यायो । आज नेपालीको मनमा पीडा र छटपटी छ । नेपाली र दुःख पर्यायवाची हुन् कि क्या हो ? यसबाट कहिल्यै छुटकारा पाइँदैन कि भन्ने आम मानिसमा निराशा छ । यस्तो बेलामा मानिसको मनमा मल्हम लगाउने उपाय के हुन सक्छ ?
मानिस दुःखी हुनुको सामान्यतया मुख्य कारण ऊ आफैँ हो । हाम्रो जन्म कसरी भयो, हामीलाई थाहा छैन । मृत्यु कसरी हुन्छ, त्यो पनि हामीलाई थाहा छैन । जन्म र मृत्युमा हाम्रो कुनै हात छैन । तर जन्म र मृत्युको बिचको जीवनलाई कस्तो बनाउने र कसरी बाँच्ने भन्ने कुरा पूर्णतया हाम्रो आफ्नै हातमा छ ।
धेरैलाई लाग्छ कि अरूले गर्दा वा बाहिरी परिस्थितिले गर्दा दुःख भएको हो । तर गहिरिएर हेर्ने हो भने मानिसले दुःख पाउनुको मूल कारण ऊ स्वयं नै हुन्छ । हुन त अरू मानिसबाट दुःख मिल्छ, समाज र प्रकृतिबाट पनि दुःख आइपर्छ । तर त्यसमा पनि सूक्ष्म ढङ्गले आत्मविश्लेषण गर्ने हो भने कतै न कतै त्यसको कारण आफूभित्रै भेटिन्छ ।
एउटा उदाहरण हेरौँ, एउटा बिउलाई बट्टाभित्र बन्द गरेर राखिदिनुभयो भने त्यो वर्षौंसम्म पनि उम्रिँदैन । तर त्यही बिउले उपयुक्त ताप, ओस र माटो पायो भने दुई–तीन दिनमै टुसाउँछ । बिउ किन टुसायो ? किनकि उसले टुसाउने अनुकूल वातावरण पायो । त्यसैगरी कुनै व्यक्तिले मलाई दुःख दिन्छ भने उसले मबाट त्यो दुःख दिने वातावरण पाएको हुन्छ । जानेर वा नजानेर हामी आफैँले त्यस्तो वातावरण बनाइदिएका हुन्छौँ ।
जब व्यक्ति आफूप्रति र आफ्ना कर्महरूप्रति सजग हुन थाल्छ, अनि बाहिरबाट आउने दुःखको कारणको रहस्य खुल्छ । त्यसैले संसारबाट आउने सुख वा दुःख दुवैको मूल कारण कतै न कतै आफूभित्रै खोज्नुपर्छ ।
मानिसहरू भन्छन् नि ‘मैले त केही नराम्रो गरेको थिइनँ, फलानोले मलाई अनाहकमा दुःख दियो ।‘ के अरूले दिने दुःखमा पनि हाम्रै भूमिका हुन्छ र ?
पक्कै पनि हुन्छ । मानौँ, तपाईँले मसँग नराम्रो व्यवहार गर्नुभयो । त्यत्तिकै त तपाईँले नराम्रो व्यवहार गर्नुभएन होला । कतै न कतै मैले त्यसको पृष्ठभूमि वा वातावरण बनाइदिएको हुन्छु । मैले पहिलेदेखि तपाईँसँग कस्तो व्यवहार गरेको थिएँ ? तपाईँको बारेमा अरूसँग के–कस्ता कुरा गरेको थिएँ ? यी सबैले एउटा भूमिका वा वातावरण तयार गरिरहेका हुन्छन् ।
तपाईंले नराम्रो व्यवहार त एकपटक मात्र गर्नुभएको हो, तर त्यो व्यवहार गर्न पृष्ठभूमि धेरै पहिलादेखि तयार भइरहेको थियो । जब म यसप्रति सजग हुन्छु, तब तपाईँले मलाई नराम्रो व्यवहार गर्दा म तपाईँलाई दोष दिन्नँ । म आफैँ सतर्क हुन्छु र भन्छु- ‘यो मेरै कमजोरी वा अज्ञानताको परिणाम हो, अब उप्रान्त मैले कसैलाई पनि यस्तो वातावरण दिनु हुँदैन ।‘ यति बोध हुनेबित्तिकै मानिस बाहिरी आरोप–प्रत्यारोपबाट मुक्त हुन्छ ।
त्यसो भए सुख के हो त ? मानिससँग भएको धन, सम्पत्ति, भौतिक साधन र प्रविधि सुखका आधार हुन् कि होइनन् ?
यसलाई स्पष्ट रूपमा बुझ्नुपर्छ । धन, सम्पत्ति, आधुनिक प्रविधि र भौतिक स्रोतसाधन भनेका ‘सुविधा’ हुन्, ‘सुख’ होइनन् । धन हुँदैमा मानिस सुखी हुन्छ भन्ने कुनै जरुरी छैन । धन भएपछि सुविधा पाइन्छ, यो सत्य हो । पैसा भएपछि मानिसले आफूलाई चाहिएका भौतिक वस्तुहरू किन्न सक्छ । तर पैसा हुँदैमा सुख नै पाइन्छ भन्न मिल्दैन । आज संसारमा अथाह सम्पत्ति भएका व्यक्तिहरू पनि चरम मानसिक समस्या, चिन्ता र डिप्रेसनको सिकार भएका छन् । उनीहरू असाध्यै पीडामा छन् ।
हामीले धन, सम्पत्ति र प्रविधिमा सुविधा खोज्नुपर्थ्यो, तर हामीले त्यसमा सुख खोज्न थाल्यौँ । गल्ती यहीँ भयो । सुख बाहिरी वस्तु वा परिस्थितिमा हुँदैन, सुख त मानिसको मनमा हुन्छ ।
तपाईँले आफ्नै जीवनमा पनि अनुभव गर्नुभएको होला— जब मन प्रसन्न र खुसी हुन्छ, त्यतिबेला कसैले अलिकति नराम्रो गाली गरिदिए पनि हामी हाँसीहाँसी उडाइदिन्छौँ । त्यसलाई वास्ता नै गर्दैनौँ । तर जब मन उदास, खिन्न र अशान्त हुन्छ, त्यतिबेला कसैले सानो कुरा मात्र गर्दा पनि चर्को रिस उठ्छ, चित्त दुख्छ र आँसु आउँछ । यसको अर्थ के हो भने घटना कस्तो छ भन्ने आधारमा हामी सुखी वा दुःखी हुने होइन, हाम्रो मन कस्तो अवस्थामा छ भन्ने आधारमा सुख र दुःखको अनुभूति हुन्छ ।
घटना घटेपछि मनमा आउने विचारका कारण मानिस दुःखी हुने हो कि घटना स्वयंले मानिसलाई दुःखी बनाउने हो ?
घटनाले मात्र मानिसलाई दुःखी बनाउँदैन । घटनापछि उत्पन्न हुने परिस्थिति र त्यो घटना घट्दाको समयमा व्यक्तिको मन कुन स्थितिमा थियो भन्ने कुराले धेरै फरक पार्छ । एउटै घटनामा कुनै दिन मानिस सामान्य रूपमा प्रस्तुत हुन्छ भने अर्को दिन त्यस्तै घटना घट्दा ऊ अति दुःखी र उत्तेजित हुन पुग्छ ।
मानौँ, बिहान उठेर कुनै व्यक्तिले योग, प्राणायाम, ध्यान गरेर आफ्नो मनलाई शान्त, स्थिर र ऊर्जावान् बनाएको छ । दिउँसो कुनै अप्रिय घटना घट्यो भने पनि त्यो शान्त मनले घटनाको प्रभावलाई धेरै हदसम्म थेग्न सक्छ । घटनाको सामान्य असर त पर्छ, तर त्यसले उसलाई पूरै विचलित बनाउन सक्दैन ।
तर बिहानैदेखि मन अशान्त छ, कसैसँग झगडा गरेर, रिस पालेर वा नकारात्मक कुरा सोचेर समय बिताइएको छ भने सानो घटना घट्दा पनि रिसको पारो आकाशिन्छ र व्यक्ति गहिरो दुःखमा डुब्छ । त्यसैले सुख–दुःख घटनामा खोज्नुभन्दा मनको अवस्थामा खोज्नु बुद्धिमानी हुन्छ ।
भोटेकोशीमा आएको बाढीले जनधनको अपूरणीय क्षति गर्यो, धेरैको सर्वस्व गुम्यो । कोही सन्तानविहीन भए, कोही बासविहीन । यस्तो असह्य पीडा र आघातको बेला मानिसले आफूलाई कसरी सम्हाल्ने ? सान्त्वना र उपदेशले मात्र त काम गर्दैन होला नि ?
यो निकै ठुलो प्राकृतिक विपत्ति हो । यसले जहाँ घटना घट्यो त्यहाँ मात्र होइन, सिङ्गो देशकै मन रोएको छ । हाम्रो कल्पनाभन्दा बाहिरको त्रासदीपूर्ण स्थिति निर्माण भयो । हामी घटनाभन्दा टाढा रहेका मानिसहरू त यति दुःखी छौँ भने जसले आफ्ना आफन्त गुमाए, जसको सर्वस्व बग्यो, उनीहरूको मनको अवस्था कस्तो होला ? यो साँच्चै असह्य वेदना हो ।
यस्तो बेलामा मानिसलाई आफूलाई सम्हाल्न अत्यन्त कठिन हुन्छ । यसले भौतिक र शारीरिक मात्र होइन, गहिरो मानसिक र भावनात्मक क्षति पुर्याएको छ । यस्तो संवेदनशील घडीमा मन सकारात्मक बनाउनुस्, चिन्ता नलिनुस् भनेर कोरा उपदेश दिनुको कुनै अर्थ रहँदैन । किनभने नकारात्मक बन्ने र चिन्ता लिने रहर कसैलाई हुँदैन । परिस्थितिले मानिसलाई त्यहाँ पुर्याउँछ । उपदेश दिन जति सजिलो छ, पीडा भोग्नेलाई सम्हालिन त्यति नै गाह्रो हुन्छ ।
तर यस्तो चरम सङ्कटको अवस्थामा पनि आफूलाई सम्हाल्न म दुईवटा व्यावहारिक र वैज्ञानिक उपाय सुझाउन चाहन्छु- श्वासको व्यवस्थापन र चिन्ताको साटो चिन्तन ।
हाम्रो मन र श्वासप्रश्वासबिच अत्यन्त गहिरो सम्बन्ध हुन्छ । हामी मनलाई सोझै नियन्त्रण गर्न सक्दैनौँ, तर श्वासलाई समातेर मनलाई व्यवस्थापन गर्न सक्छौँ । जब मनमा तनाव, भय, शोक र अशान्ति हुन्छ, हाम्रो श्वास छोटो, द्रुत र असन्तुलित बन्छ । फोक्सोले पूरा अक्सिजन लिन सक्दैन । यस्तो बेलामा जानीजानी लामो र गहिरो श्वास लिने र छोड्ने अभ्यास गर्नुपर्छ । श्वास खुला र गहिरो हुनेबित्तिकै मनको तनाव घट्छ । दिनमा जतिबेला होस आउँछ, लामो–गहिरो श्वास लिने अभ्यास गर्दा मनलाई विचलित र डिप्रेस्ड हुनबाट जोगाउन सकिन्छ ।
मनमा एकपटकमा एउटा मात्र विचार चल्न सक्छ, दुईवटा विचार एकैसाथ चल्न सक्दैनन् । कि मनमा सकारात्मक विचार हुन्छ, कि नकारात्मक । चिन्ता भनेको के हो ? विगतमा भएका घटनाहरूलाई सम्झेर आफैँ उत्पन्न हुने पीडादायी विचारहरूको चक्र चिन्ता हो, जसले मानिसलाई भित्रभित्रै जलाउँछ ।
चिन्तन भनेको के हो ? अब भोलि के गर्ने भनेर जानीजानी योजना बनाउनु चिन्तन हो । विगतमा जे हुनु थियो, भइसक्यो । बितेको घटनालाई हामी बदल्न सक्दैनौँ । अब बाँकी जीवनलाई कसरी अगाडि बढाउने ? भोलिको पुनरागमनका लागि के गर्ने ? कसको सहयोग लिने ? कसरी स्रोत जुटाउने ? भनेर जब व्यक्ति कार्ययोजनामा लाग्छ, मन चिन्ताबाट मुक्त भएर चिन्तनमा प्रवेश गर्छ । योजना बनाउँदा बनाउँदै मानिसभित्र नयाँ आशा र उत्साह जाग्न थाल्छ ।
जसको परिवार, घरबार र सम्पत्ति सबै सकियो, ऊ सडकमा आइपुग्यो, उसले कसरी आशावादी हुने ? उसले आफ्नो आत्मबल कसरी फर्काउने ?
सर्वस्व गएपनि यदि मानिसभित्र आँट बाँकी छ भने गुमेको सर्वस्व पुनः प्राप्त गर्न सकिन्छ । मानिसभित्रको आत्मविश्वासभन्दा ठुलो धन संसारमा अरू केही छैन । जुन सम्पत्ति हिजो मसँग थियो, त्यो कसले बनाएको थियो ? मैले नै बनाएको थिएँ । ‘आज सम्पत्ति बग्यो, तर त्यो बनाउने म त अझै जीवित छु । म रहेँ भने म फेरि सम्पत्ति आर्जन गर्न सक्छु । सम्पत्ति भएका कारण म भएको होइन, म भएका कारण सम्पत्ति भएको हो ।‘ त्यसैले मूल कुरा आफूलाई बचाउनु र आफ्नो आँटलाई कायम राख्नु हो ।
अर्को कुरा, आफूलाई कहिल्यै एक्लो र असहाय ठान्नु हुँदैन । जसको कोही हुँदैन, उसको पनि संसारमा कोही न कोही हुन्छ । समाज छ, सहयोगी हातहरू छन्, सरकार छ । संसारमा यस्तो कुनै समस्या बनेकै छैन, जसको समाधान नहोस् । यस्तो कुनै रोग छैन, जसको औषधि नहोस् । यदि हामी सबै मिलेर खोज्यौँ भने समाधान अवश्य भेटिन्छ । मसँग शरीर सग्लो छ, हातगोडा छन्, बुद्धि छ, विवेक छ भने म फेरि शून्यबाट उठ्न सक्छु भन्ने ढाडस आफूले आफैँलाई दिनुपर्छ ।
संकटको घडीमा मानिसलाई लामो भविष्य सोचेर झन् बढी निराशा हुन्छ । यस्तो बेला जीवनलाई कसरी हेर्ने ?
हामी सबैले बुझ्नुपर्ने एउटा शाश्वत सत्य के हो भने हामी निश्चित दिनहरू लिएर यो धर्तीमा आएका हौँ । हामीसँग असीमित दिनहरू छैनन् । ती सीमित दिनहरूमध्ये एउटा दिन आज पनि बित्यो ।
समयको प्रवाहमा केही कुरा पाइन्छ, केही छुट्छ । तर आजको दिन मैले पाएको छु । यो दिनलाई कसरी बिताउने भन्ने कुरा पूर्णतया ममा भर पर्छ । आजको पूरै दिन रोएर, चिन्ता लिएर बिताए पनि यो दिन बित्छ, हाँसीखुसी, धैर्य र हिम्मतका साथ बिताएपनि यो दिन बित्छ । जब दिन बित्नै छ भने रोएर किन बिताउने ? त्यसैले जीवनभरिको लामो चिन्ता लिएर भारी नबोकौँ । आजको एउटा दिन कसरी सम्हालिने र कसरी उत्पादनमूलक बनाउने भन्ने सोचौँ । जसलाई एउटा दिन राम्रोसँग बाँच्ने कला आउँछ, उसले सिङ्गो जीवन नै सुन्दर ढङ्गले बाँच्न सक्छ ।
आज युवाहरूमा चरम निराशा, असन्तुष्टि र पलायन हुने प्रवृत्ति बढ्दो छ । जीवन विज्ञानको दृष्टिले यस समस्यालाई कसरी हेर्नुहुन्छ ?
अहिले प्रतिस्पर्धाको युग छ । सूचना प्रविधिले गर्दा संसार एउटै गाउँजस्तो भएको छ । मानिसहरू आफ्नो स्थिति र अरूको प्रगतिको निरन्तर तुलना गरिरहेका छन् । आफूसँग जे छ, त्यसमा असन्तुष्ट हुने र अरूको जस्तो बन्ने तीव्र चाहना हुनु स्वाभाविक जस्तै भएको छ । यही अस्वस्थ प्रतिस्पर्धा र अतृप्त चाहनाले निराशा र पलायन जन्माएको हो ।
यसको समाधानबारे जीवन विज्ञानले कसरी व्याख्या गर्छ ?
अरूको देखेर डाहा वा तुलना गर्नुहुँदैन । मैले मेरो क्षमता हेर्नुपर्छ । तपाईँको क्षमता र मेरो क्षमता एउटै हुँदैन । तपाईँ आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न तपाईँले कति साधना, अध्ययन र मिहिनेत गर्नुभयो होला । मैले केही पनि लगानी नगर्ने अनि रातारात तपाईँकै जस्तो स्थान खोजेर त सम्भव हुँदैन । त्यसैले मानिसले आफ्नो कमजोरी, आफ्नो सामर्थ्य, आफ्नो सीप र ज्ञानको पहिचान गर्नुपर्छ । जब मानिसले आफ्नो वास्तविक धरातल बुझ्छ, तब अरूप्रतिको अनावश्यक ईर्ष्या र असन्तुष्टि आफैँ हराउँछ ।
दोस्रो कुनै व्यक्ति एक्लैले आफ्ना सबै समस्या समाधान गर्न सक्दैन । तर जब समाज, परिवार र राज्यले सामूहिक रूपमा हातमा हात मिलाउँछन्, तब जस्तोसुकै कठिन परिस्थितिलाई पनि व्यवस्थापन गर्न सकिन्छ ।
अध्यात्ममा ‘कर्मको फल’ को धेरै चर्चा हुन्छ । कतिपयले पीडामा परेकालाई ‘तेरो पूर्वजन्मको कर्मको फल हो, तैँले भोग्नैपर्छ’ भनेर भाग्यवादी बनाइदिन्छन् । के यो उचित हो ? कर्मफल वास्तवमा के हो ?
कसैलाई समस्या परेको बेला ‘तेरो कर्मको फल हो, भोग्नुपर्छ’ भन्नु त्यो व्यक्तिमाथि गरिएको घोर अन्याय हो । यस्तो सङ्कीर्ण व्याख्याले अध्यात्मको वास्तविक मर्मलाई नै नष्ट गर्छ । भगवान् बुद्धले भन्नुभएको छ- ‘संसारमा दुःख छ, दुःखको कारण छ, र कारण छ भने त्यसको निवारणको उपाय पनि छ ।‘ उपाय नदेखाई केवल कर्मको फल हो भन्नु गैरजिम्मेवारीपन हो ।
जीवन विज्ञानले दुःखलाई कसरी परिभाषित गरेको छ ?
वास्तवमा दुःख तीन प्रकारका हुन्छन् र हामीले तीन किसिमका कर्महरूको फल भोग्नुपर्छ । पहिलो व्यक्तिगत कर्मको फल जसमा मैले आगोमा हात हालेँ भने मेरो हात जल्छ । यो मेरो व्यक्तिगत कर्मको प्रत्यक्ष फल हो । यसमा अरू कसैको दोष हुँदैन । दोस्रो सामूहिक/सामाजिक कर्मको फल जसमा समाजले गरेका राम्रा वा नराम्रा कर्मको असर हरेक व्यक्तिले भोग्नुपर्छ । उदाहरणका लागि समाजमा कसैले बन्द–हड्ताल गर्यो, एम्बुलेन्स रोकियो र अस्पताल पुग्न नपाएर सुत्केरी वा बिरामीको ज्यान गयो । त्यसमा त्यो बिरामीको के गल्ती थियो ? उसको व्यक्तिगत कर्म खराब भएर ज्यान गएको होइन, समाजको गलत कर्मको फल उसले भोग्नुपरेको हो ।
समाजको राम्रो फल पनि हामी भोग्छौँ भने नराम्रो फलबाट पनि हामी अछुतो रहन सक्दैनौँ । र, तेस्रो प्राकृतिक कर्मको फल यसमा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिहरू प्रकृतिका आफ्ना नियम र चक्रका कारण आउँछन् । यसमा बाढीले बगाएका मानिसहरूको कुनै व्यक्तिगत पाप वा खराब कर्म थिएन । त्यो त प्रकृतिको कर्मको प्रभाव हो । नदी किनारमा बस्दा हामीले उर्वर माटो, पानी र प्रकृतिका अनेकौँ लाभ लियौँ, तर जब प्रकृतिमा उथलपुथल हुन्छ, त्यसको नकारात्मक असर पनि हामीमाथि नै पर्छ ।
हामी प्रकृतिका अङ्ग हौँ । हामी सबै सह–अस्तित्वमा बाँचेका छौँ । प्रकृति, समाज र व्यक्ति एकअर्कामा जेलिएका छन् । त्यसैले हरेक घटनालाई व्यक्तिको भाग्य वा पूर्वजन्मको कर्मसँग मात्र जोडेर पन्छिनु अज्ञानता हो ।
समाजमा आध्यात्मिक गुरुहरूमाथि मानिसको कमजोरी र आस्थाको व्यापार गरेको, अन्धभक्त बनाएको र आर्थिक लाभ लिएको आरोप पनि लाग्ने गर्छ । सच्चा गुरु र अन्धभक्तिबिचको सीमा के हो ?
यो आरोप कतिपय सन्दर्भमा सत्य पनि हुन सक्छ । यसलाई नकार्न सकिँदैन । तर समस्या कहाँ छ भने मानिसहरूमा विवेकको कमी छ । अन्धविश्वास भनेको त्यस्तो विश्वास हो, जसको कुनै तार्किक वा व्यावहारिक आधार हुँदैन । अरूले विश्वास गर्यो, त्यसैले मैले पनि गरेँ वा फलानोलाई मान्यो भने मेरो भाग्य चम्किन्छ भन्ने लोभमा मानिसहरू अन्धभक्त बन्छन् । अन्धभक्ति मानव जीवनको सबैभन्दा ठुलो कमजोरी हो ।
कुनै व्यक्ति ठीक हो कि होइन, उसले मलाई सही बाटो देखाउँदै छ कि झुक्याउँदै छ भन्ने कुरा जाँच्ने क्षमता व्यक्तिको आफ्नै हुनुपर्छ । त्यही क्षमता विकास गर्न नै जीवन विज्ञानको आवश्यकता परेको हो ।
सच्चा गुरु त्यो हो, जसले तपाईँलाई पराधीन वा अन्धभक्त बनाउँदैन, बरु तपाईँभित्रै रहेको अनन्त सम्भावना र सत्यलाई जगाइदिन्छ । आफ्ना दुर्बलताहरू पत्ता लगाउनु नै संसारको सबैभन्दा ठुलो ज्ञान हो । दुर्बलता हटाएर सबल पक्षलाई उजागर गर्नु नै वास्तविक पुरुषार्थ हो ।
कतिपय गुरुहरूले आफूलाई ‘सत्यको अन्तिम स्रोत’ का रूपमा प्रस्तुत गर्छन् नि, त्यो कति उपयुक्त हो ?
म मात्र सत्यको स्वरूप हुँ र अरू होइनन् भन्नु सरासर त्रुटिपूर्ण हो । सत्य कुनै एउटा व्यक्तिको पेवा हुन सक्दैन । सत्यको स्वरूप म मात्र होइन, तपाईँ पनि हो, हामी सबै हौँ र यो सम्पूर्ण जगत् नै सत्यको स्वरूप हो । यदि कुनै गुरुले ‘म नै अन्तिम सत्य हुँ’ भन्छ भने त्यो अहंकार हो । तर ‘म पनि त्यही सत्यको अंश हुँ, जसरी तिमी हौ’ भन्छ भने त्यो यथार्थ हो ।
जीवन विज्ञानको मूल सूत्र के हो ? सामान्य मानिसले यसलाई आफ्नो व्यावहारिक जीवनमा कसरी उतार्ने ?
सामान्यतया संसारमा तीन प्रकारका विज्ञान प्रचलित छन् । भौतिक विज्ञान, जसले बाहिरी पदार्थ र प्रविधिमा काम गर्छ । दोस्रो, धर्म विज्ञान जसले आस्था, मान्यता र धारणाहरूमा काम गर्छ । तेस्रो, जीवन विज्ञान जसले स्वयं आफ्नै जीवन र चेतनामा काम गर्छ । मानिस अनन्त सम्भावनाहरूको पुञ्ज हो । हामीभित्र रुने सम्भावना पनि छ, हाँस्ने सम्भावना पनि छ । हामीभित्र निराश भएर झोक्राउने सम्भावना पनि छ र आत्मविश्वास बढाएर अघि बढ्ने सम्भावना पनि छ । आफूभित्र रहेका नकारात्मकतालाई हटाएर सकारात्मक सम्भावनाहरूलाई प्रस्फुटन गराउनु, आफ्नै क्षमतामाथि अनुसन्धान र अध्ययन गर्नु नै ‘जीवन विज्ञान’ हो ।
अन्तिममा केही सन्देश दिन चाहनुहुन्छ ?
हामीभित्र सुख र दुःख दुवैको क्षमता छ । सबै कुरा छोडेर पनि दिनको कम्तीमा १५ मिनेटदेखि आधा घण्टा आफ्ना लागि समय छुट्याउनुहोस् । आँखा बन्द गरेर लामो–गहिरो श्वास लिनुहोस्, ध्यान गर्नुहोस् । किनकि ध्यान नै जीवनका तमाम समस्याहरूको ‘सर्व–औषधि’ हो । शान्त मनले मात्र जीवनका संकटहरूलाई जितेर अगाडि बढ्ने सही मार्ग पहिल्याउन सक्छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी























