
वन विनाश, अतिक्रमण, खण्डीकरण, पूर्वाधार विकास र प्राकृतिक स्रोतको जथाभावी दोहनका कारण मधेस प्रदेशको चुरे क्षेत्र उच्च जैविक विविधताको संकटमा परेको छ।
दिगो वन व्यवस्थापन, पुनःस्थापना, संकटापन्न तथा अत्यधिक उपयोग हुने वनस्पतिको संरक्षण र समुदायमा आधारित परम्परागत ज्ञान संरक्षणको अभावले चुरेको जैविक विविधता ह्रास हुँदै गएको तीन वर्ष लगाएर गरिएको वैज्ञानिक अध्ययनले देखाएको छ।
मधेस प्रदेशको चुरे क्षेत्रको वानस्पतिक तथा पारिस्थितिकीय स्थिति पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागका वनस्पतिविद् डा. नारायणप्रसाद घिमिरेको नेतृत्वमा अध्ययन गरिएको छ।
अध्ययनअनुसार मधेसको चुरेमा ६०९ प्रजातिका वनस्पति अभिलेख भएका छन्। यहाँ साइकस पेक्टिनाटा र डाल्बर्जिया लाटिफोलिया जस्ता संकटापन्न र दुर्लभ प्रजातिका वनस्पति भेटिएका छन्।
अध्ययनलाई ‘मधेस प्रदेशको चुरे क्षेत्रमा वानस्पतिक विविधता, त्यसको अवस्था र परम्परागत उपयोगिता’ (फ्लोरिस्टिक डाइभर्सिटी, भेजिटेसन इकोलोजी एन्ड एथ्नोबोटनी अफ चुरे रिजन अफ मधेस प्रदेश, नेपाल) शीर्षक दिइएको छ। यसमा मधेसको चुरेमा पाइने वनस्पतिहरूको अभिलेख गरिएको छ। तिनको संरक्षण, दिगो उपयोग तथा परम्परागत प्रयोगलाई पनि तथ्यगत रूपमा अभिलेख गरिएको छ।
अध्ययनअनुसार मधेसको चुरेमा ६०९ प्रजातिका वनस्पति अभिलेख भएका छन्। यहाँ साइकस पेक्टिनाटा र डाल्बर्जिया लाटिफोलिया जस्ता संकटापन्न र दुर्लभ प्रजातिका वनस्पति भेटिएका छन्।
सेरिस्कोइडिस टर्गिडा र स्क्लेरिया लिथोस्पर्मा भर लिथोस्पर्म जस्ता नयाँ वनस्पति पनि फेला परेका छन्, जुन नेपालमा नयाँ अभिलेख भएका वनस्पतिसमेत हुन्। यसले यहाँको जैविक महत्त्वलाई उजागर गरे पनि दिनप्रतिदिन बढ्दो मानवीय गतिविधिले जैविक विविधता र वनको दिगोपनामा चुनौती थपिइरहेको अध्ययनका प्रमुख अनुसन्धानकर्ता वनस्पतिविद् घिमिरेले बताएका छन्।
“चुरे हिमालयको सबैभन्दा कान्छो शृङ्खला हो, यो भौगोलिक रूपमै नाजुक र संवेदनशील छ,” उनी भन्छन्, “त्यसमाथि चरिचरन, डढेलो, पहिरो, वनफँडानी र वनस्पति स्रोतको उच्चतम प्रयोगले चुरेका वनलाई खल्बल्याएको छ, वनस्पतिक विविधता संकटमा छ।”
आफैँमा संवेदनशील र नाजुक स्थितिमा रहेको चुरेमा यसअघि विस्तृत र एकीकृत खालको अध्ययन हुन नसकेकाले आफूहरूले मधेस चुरेकेन्द्रित अध्ययन क्षेत्र रोजेको उनी बताउँछन्। अध्ययनका क्रममा सेरिस्कोइडिस टर्गिडा र स्क्लेरिया लिथोस्पर्मा भर लिथोस्पर्म जस्ता नयाँ प्रजातिका वनस्पति उपलब्धताले चुरेमा थप वैज्ञानिक अध्ययन र संरक्षणको जरुरत देखाएको छ।
नेपालमा हालसम्म वनस्पतिजन्य अधिकांश अध्ययन–अनुसन्धानहरू समुद्री सतहदेखि दुई हजार मिटरभन्दा माथिका पहाडी तथा हिमाली क्षेत्रमामात्रै केन्द्रित हुँदा चुरेको अध्ययन छुटिरहेको थियो। त्यसमा पनि पूर्वी तराई र उच्च हिमाली क्षेत्रको तुलनामा मधेसको चुरेको एकीकृत अध्ययन हुन सकेको थिएन। चुरेले नेपालको कुल भूभागको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ।
पूर्वदेखि पश्चिमसम्मका ३७ जिल्लाभरि चुरे फैलिएको छ। मधेस चुरेको वनस्पति विविधता, वनको पारिस्थितिकीय अवस्था र वनस्पतिमाथि आदिवासी जनजातिको निर्भरतालाई अध्ययन गरिएको छ। जसअनुसार स्थानीय समुदायहरूले २२४ प्रजातिका वनस्पति १६ विभिन्न प्रयोजनका लागि प्रयोग गर्दै आएको पाइएको छ। यसले वनस्पतिमा स्थानीयको उच्च निर्भरतालाई देखाएको छ।
आव २०७९/८० देखि २०८२/८३ सम्म गरिएको अध्ययन त्रिवि शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको अनुसन्धान निर्देशनालयबाट ‘राष्ट्रिय गौरव क्षेत्र अध्ययनसम्बन्धी अनुदान परियोजना’ अन्तर्गत वनस्पतिशास्त्र केन्द्रीय विभागबाट भएको छ।
तर, उच्चतम प्रयोग, दोहन र अतिक्रमणले गर्दा जैविक विविधतामा चुनौती थपिँदै गएको छ। मधेसको चुरेमा पर्ने नदी किनारका वन र राष्ट्रिय वनको स्थिति एकदमै नाजुक छ। तिनको तुलनामा सामुदायिक वनहरूमा संरक्षण पुगेको छ। यसले राष्ट्रिय वन व्यवस्थापन नीतिलाई थप सुधार गर्नुपर्ने देखाएको छ।
बारा, रौतहट र सर्लाहीका नदी किनारका राष्ट्रिय वनको दोहन बढी छ। यहाँ काठ–दाउरा संकलन र सडक, पुलजस्ता पूर्वाधार विकासलाई नियमन गर्नुपर्ने, भूउपयोग नीतिलाई चुरे संवेदनशील बनाएर लागू गर्नुपर्ने सुझाव दिइएको छ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमजस्ता पहलकदमीका बाबजुद पनि मधेस चुरेको जैविक विविधताको विस्तृत अभिलेखीकरण र स्थलविशेष व्यवस्थापनमा अझै पनि व्यवस्थित हुन सकेको छैन। विभिन्न मौसमअनुसारको वनस्पतिक स्थितिको अध्ययनको अभाव छ। चुरेका लागि छुट्टै क्षेत्रगत वनस्पति सूची नहुँदा त्यहाँ पाइने वनस्पतिको वैज्ञानिक अध्ययन, अभिलेख र संरक्षण प्रभावकारी हुन नसकेको अध्ययनको निष्कर्ष छ।
अध्ययनबाट फेला परेका नतिजाका आधारमा अनुसन्धान टोलीले नीतिपत्रसमेत तयार गरेर १ असोजमा सार्वजनिक गरेको छ।
निश्चित उद्देश्यका लागि कार्यान्वयन गरिएका कार्यक्रमको दीर्घकालीन उपलब्धि र प्रभावकारितामा सरकारले ध्यान दिनुपर्ने त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागमा लेक्चररसमेत रहेका वनस्पतिविद् घिमिरे बताउँछन्। यद्यपि चुरेमा रुख (वृक्ष) समुदायको विविधता उच्च छ भने अधिकांश ठाउँमा वनस्पतिको पुनर्जनन (रिजेनेरेसन) अवस्था पनि सामान्यतः राम्रो पाइएको छ।
आव २०७९/८० देखि २०८२/८३ सम्म गरिएको अध्ययन त्रिवि शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको अनुसन्धान निर्देशनालयबाट ‘राष्ट्रिय गौरव क्षेत्र अध्ययनसम्बन्धी अनुदान परियोजना’ अन्तर्गत वनस्पतिशास्त्र केन्द्रीय विभागबाट भएको छ। हालसम्म तीनवटा अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा छापिइसकेका छन्। बाँकी तीनवटा प्रकाशनको प्रक्रियामा रहेको घिमिरेले बताएका छन्।
अध्ययनबाट फेला परेका नतिजाका आधारमा अनुसन्धान टोलीले नीतिपत्रसमेत तयार गरेर १ असोजमा सार्वजनिक गरेको छ। त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, पाटन संयुक्त क्याम्पस लगायत निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा आयोजना गरिएको नीतिपत्र सार्वजनिक कार्यक्रममा सुझाव पनि संकलन गरिएको छ। मौजुदा नीतिहरूको परिमार्जन गरेर समयसापेक्ष वनस्पति संरक्षण र संवर्द्धनलाई जोड दिनुपर्ने सुझाव प्रस्तुत भएका छन्।


























