
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाल्यकाल बिताएको न्युयोर्क सहरस्थित घर झन्डै २० लाख डलरमा बिक्री भएको छ । लामो समयसम्म बेवास्ता गरिएको र ढुसीले भरिएको, बिरालाहरू बस्ने अवस्थाको उक्त घरलाई पुनर्निर्माण गरी आधुनिक आवासमा रूपान्तरण गरेपछि बिक्री गरिएको हो ।
ट्रम्प चार वर्षको उमेरसम्म क्विन्सस्थित ट्युडर शैलीको उक्त घरमा बसेका थिए । उनका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा सम्पन्न जमैका इस्टेट्स क्षेत्रमा उक्त घर निर्माण गरेका थिए । ट्रम्प परिवारले धेरै वर्षदेखि उक्त घरलाईआफ्नो स्वामित्वमा राखेको छैन ।
जुलाईमा एक अज्ञात खरिदकर्ताले घर किन्न सम्झौता गरेपछि शुक्रबार घरको बिक्री मूल्य १९ लाख ३० हजार डलर रहेको विवरण रियल इस्टेटसम्बन्धी वेबसाइटहरूमा सार्वजनिक भएको थियो । बिक्रेता टमी लिनले गत वर्ष पाँच शयनकक्ष र तीन बाथरुम भएको उक्त घर ८ लाख ३५ हजार डलरमा किनेका थिए । घर वर्षौँसम्म खाली र बेवास्ता गरिएको अवस्थामा रहेको थियो ।
द न्यूयोर्क पोस्टका अनुसार लिन नाम गरेका घरजग्गा डेभलपरले घरको भित्री भागमा व्यापक पुनर्निर्माण गर्न आठ महिनासम्म थप ५ लाख डलर खर्च गरेका थिए । पुनर्निर्माणपछि घरमा शेफका लागि डिजाइन गरिएको भान्सा, हेरिङबोन शैलीको काठको भुइँ र स्पाजस्तै सुविधासहितका बाथरुम थपिएका थिए । जिलोका अनुसार पछिल्ला केही वर्षमा उक्त घर पटक–पटक बिक्री भएको थियो । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेको केही महिनापछि सो घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो ।
त्यसपछिका ‘ट्रम्प बर्थ होम एलएलसी’ नामको संस्थाले पनि घर किनेको थियो । उक्त घर केही समय एयरबीएनबीमार्फत भाडामा समेत उपलब्ध गराइएको थियो। घरमा ट्रम्पको जीवन–आकारको कार्डबोर्ड कटआउटका प्रतिलिपि, उनको पुस्तक ‘द आर्ट अफ द डील’ प्रतिलिपि र ट्रम्पको तस्बिरसहितको एभयउभि म्यागजिनको फ्रेम गरिएको आवरणसमेत राखिएको थियो ।
सन् २०१९ मा उक्त घर पुनः बिक्रीका लागि राखिएको थियो र त्यसबेला यसको माग मूल्य २९ लाख डलर तोकिएको थियो । तर बिक्री हुन सकेन । अन्ततः लिनले उक्त घर खरिद गरेका थिए ।





















