गोरखामा सरकारी सेवा घरघरमै, हुलाकमार्फत ५ सय ५० जनालाई राहदानी वितरण – Artha Sarokar :: Nepal’s No.1 Economic News portal.


गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५ सय ५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५ सय ५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । घरमै राहदानी लिन ६ सय जनाले फाराम भरेकामा हालसम्म ५ सय ५० जनाले सेवा लिइसकेको शर्माले जानकारी दिएका छन् ।

बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी (पासपोर्ट) पुर्याउने निर्णय गरेको थियो ।

सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी नागरिकको घरघरमै पुर्याउने नीतिनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकबीच गृहजिल्लाभित्र नागरिकको घरघरमा राहदानी पुर्याउने सम्झौता भएको उनको भनाइ छ । ‘सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा एउटा काउन्टर नै स्थापना गरेर हुलाक कार्यालयका एक जना कर्मचारी राखेका छौँ ।’, गैरेले भने, ‘प्रशासनमा राहदानीको फारम भर्न आउने सेवाग्राहीले फारम भर्दा राहदानी लिन कार्यालयमै आउने अथवा घरमै लिने भन्ने छनोट गर्नुहुन्छ । घरमै लिने भन्नेहरूको हकमा हुलाकको फारम भराएर आवश्यक विवरण टिप्ने गरेका छौँ । सोही विवरणको आधारमा राहदानी आएपछि घरमै पुर्याइदिन्छौँ ।’ घरमै राहदानी लिनका लागि सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने उनको भनाइ छ । त्यसबाहेक अन्य अतिरिक्त शुल्क नलाग्ने उनको भनाइ छ ।

राहदानीको फाराम भरेका सेवाग्राहीले घरमै राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयको हुलाक काउन्टरमा आवश्यक विवरण टिपाउनुपर्ने व्यवस्था छ । सेवाग्राहीले आफ्नो नाम, नम्बर, ठेगानालगायतका विवरण टिपाउनुपर्ने हुलाक कार्यालयले जनाएको छ ।

काठमाडौँबाट छापिएर आएका राहदानी प्रशासन कार्यालयले हुलाक कार्यालयको जिम्मा लगाइसकेपछि जिल्लाभित्र कम्तीमा तीन दिनभित्र सेवाग्राहीको घरघरमा पुग्ने हुलाक अधिकृत विनोद गैरेले बताएका छन् । ‘सेवाग्राहीले राहदानी लिइसकेपछि हामीले त्यसको रसिद बनाएर प्रशासन कार्यालयलाई बुझाउँछौँ ।’, उनले भने ।

जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि घरमै राहदानी पुर्याउने सरकारको नीतिबमोजिम काम गरिरहेको छ । यद्यपि भौगोलिक विकटताका कारण चुमनुब्रीको हकमा पालिकाको केन्द्र फिलिमबाहेक अन्य ठाउँ घरघरमा राहदानी पुर्याउने विषय जटिल रहेको जिल्ला हुलाक कार्यालय गोरखाका प्रमुख विनोद गैरे बताउँछन् ।

‘चुमनुब्रीमा पालिका केन्द्रसम्म मात्र पठाउन सक्छौँ, त्यो भन्दामाथि पुर्याउने जनशक्ति र स्रोतसाधन हामीसँग छैन ।’, उनले भने, ‘सरकारको नीतिअनुसार हामीले भएका जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरेर यो सेवा सञ्चालनका ल्याएका हौँ ।’ जिल्लाको पालुङटार नगरपालिका, सहिदलखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले घरमै राहदानी बुझिलिने गरेको जिल्ला हुलाक कार्यालय गोरखाको भनाइ छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्