अब्बासलाई महासभामा सहभागी हुन अमेरिकी भिसा अस्वीकार | Nepal’s first 24-hour updated news portal


वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ । प्यालेस्टिनी मुक्ति सङ्गठन (पिएलओ) का सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले पिएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिकाप्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमार्फत वार्ताको सट्टा कानूनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतङ्कवादको महिमामण्डन गर्ने गरेको पनि आरोप लगाएको छ ।

ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन । त्यसपछि उनले महासभालाई प्रत्यक्ष उपस्थित भएर सम्बोधन गर्न नपाई भिडियोमार्फत सम्बोधन गरेका थिए ।

अमेरिकाको पछिल्लो निर्णय फ्रान्सलगायत मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिने तयारी गरिरहेका बेला आएको हो । फ्रान्स र साउदी अरेबियाको सहअध्यक्षतामा भएको दुई–राज्य समाधानसम्बन्धी सम्मेलनपछि राष्ट्रसङ्घका १४२ सदस्य राष्ट्रले प्यालेस्टिनी राज्यलाई समर्थन गरेका थिए ।

सन् २०२३ अक्टोबर ७ यता पश्चिम किनारामा इजरायली सैनिक वा बासिन्दाको कारबाहीमा कम्तीमा एक हजार १०९ प्यालेस्टिनी मारिएको एएफपीले जनाएको छ । सोही दिन हमास नेतृत्वको आक्रमणमा इजरायलमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका थिए ।

त्यसपछि गाजामा जारी इजरायली सैन्य कारबाहीमा ७३ हजार सात सयभन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी क्षेत्रमा बढ्दो हिंसाप्रति अन्तर्राष्ट्रिय समुदायले निरन्तर चिन्ता व्यक्त गर्दै आएको छ ।

 





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्