
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुड्दागुड्दैको कारमा कसरी आगो लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भदौ २६ मा बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएको थियो ।
कारमा आगलागी हुँदा चालक ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–१२ घर भएका पराजुलीले आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए । आयोन ब्राण्डको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएपछि चालक बाहिर निस्कन नसकेको र गाडीभित्रै उनले ज्यान गुमाएका थिए ।
कारमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले रातोपाटीलाई बताए । उनले भने, ‘प्राविधिकहरूसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ ।’
मृतकको चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ । शुक्रबार बिहान ६ बजेतिर आगो दन्किरहेको अवस्थामा कार गुडिरहेको देखेपछि स्थानीयले रोक्न आग्रह गरेका थिए । तर, कार एकैचोटि सडकको डिभाइडरमा आएर ठोक्किएको थियो ।
सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।






















