ओलम्पियाडमा ६ नेपाली खेलाडीले पाए चेस टाइटल


काठमाडौं (हाम्रो खेलकुद) – उज्बेकिस्तानमा सम्पन्न ४६औं चेस ओलम्पियाडमा सहभागी ६ नेपाली खेलाडीले अन्तर्राष्ट्रिय चेस टाइटल प्राप्त गरेका छन्।

२ पुरुष खेलाडीले क्यान्डिडेट मास्टर (सिएम) र ४ महिला खेलाडीले वुमन क्यान्डिडेट मास्टर (डब्लूसीएम) टाइटल पाएका हुन्।

आशिष फुयाँल र राजन सुवेदीले सिएम तथा कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले डब्लूसीएम टाइटल प्राप्त गरेका हुन्।

ओलम्पियाडमा नेपाली टोलीले अन्तिम चरणमा पदक जित्न नसके पनि आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै वरीयतामा सुधार गरेको थियो।

नेपाल बुद्धिचाल महासंघले बाढीबाट प्रभावित नेपाली चेस परिवारलाई सहयोग जुटाउन फ्रिडम एसियन चेस इनिसिएटिभमार्फत १२ हजार अमेरिकी डलर उपलब्ध गराइएको जनाएको छ।

त्यस्तै, दक्षिण एसियाली चेस काउन्सिलले विभिन्न कार्यक्रम सञ्चालनका लागि तत्काल पाँच हजार अमेरिकी डलर उपलब्ध गराउने समझदारी भएको छ।

महासंघले आर्थिक वर्ष २०८३/८४ का लागि उमेर समूह, राष्ट्रिय युथ च्याम्पियनसिप, विद्यालय तथा क्लबस्तरीय प्रतियोगिता, सिनियर सिटिजन, एमेच्योर, ब्लिट्ज, र्‍यापिड, २७औं खुला र १२औं महिला राष्ट्रिय चेस प्रतियोगितासहित वार्षिक कार्यक्रम तय गरेको छ।

त्यसैगरी, एसियन नेसन्स कप र वेस्टर्न एसिया युथ चेसमा नेपाली खेलाडी सहभागी गराउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागितासम्बन्धी नियमावली तयार गर्ने निर्णय भएको छ।

१०औं राष्ट्रिय प्रतियोगिता, दक्षिण एसियाली चेस काउन्सिलका कार्यक्रम, दक्षिण एसियाली ३.२ जोन तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका विषयमा पनि निर्णय गरिएको महासंघले जनाएको छ।

फिडे कांग्रेसमा नेपालको समर्थनमा कजाकिस्तानका अध्यक्ष तथा उद्योगपति तिमुर तुर्लोभ विजयी भएपछि नेपालले प्रस्तुत गरेका पाँच वार्षिक चेस कार्यक्रम अनुमोदन भएको महासंघले जानकारी दिएको छ।

यसैबीच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस कार्यक्रम सञ्चालनलाई अघि बढाउन पूर्वकोषाध्यक्षलाई जिम्मेवारीमा रहँदा प्रयोग भएका खेल सामग्री र आर्थिक हिसाबकिताब पेस गर्न पत्राचार गर्ने निर्णयसमेत गरिएको छ।

महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार यी निर्णय बुद्धिचाल महासंघको केन्द्रीय कार्यसमितिको बैठकबाट भएका हुन्। बैठक महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा काठमाडौंमा बसेको थियो।

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्