सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालमा रग्बी विकास र खेल पर्यटन प्रवर्द्धन गर्न ‘एभरेस्ट रग्बी लेगेसी’ दुईवर्षे अभियान घोषणा गरिएको छ।
  • हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट र नेपाल रग्बी संघको सहकार्यमा सन् २०२६ नोभेम्बरदेखि २०२८ अप्रिलसम्म अभियान सञ्चालन हुने छ।
  • अभियानअन्तर्गत सातै प्रदेशमा रग्बी गतिविधि, २०२७ अप्रिलमा विश्व कीर्तिमान प्रयास र २०२८ अप्रिलमा सगरमाथा क्षेत्रमा टी–वान रग्बी आयोजना गरिनेछ।

२३ असोज, काठमाडौं । नेपालमा रग्बीको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ ।

हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत ‘प्ले रग्बी नेपाल’ले नेपाल रग्बी संघसँगको सहकार्यमा सन् २०२६ नोभेम्बरदेखि २०२८ अप्रिलसम्म सञ्चालन गर्ने गरी दुईवर्षे अभियान सार्वजनिक गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रममा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले अभियान घोषणा गरेका थिए । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री सरल सहयात्रीले अभियानको उद्घाटन गरेका थिए ।

तीन चरणमा सञ्चालन हुने अभियानअन्तर्गत सातै प्रदेशमा रग्बी गतिविधि सञ्चालन गर्ने, सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेलेर विश्व कीर्तिमान बनाउने र सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी–वान रग्बी आयोजना गर्ने योजना छ ।

अभियानको पहिलो चरणमा ‘सात प्रदेश, सात अभियान’ नारासहित देशव्यापी रग्बी यात्रा सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशमा दुईदिने रग्बी तथा सामुदायिक महोत्सव आयोजना गर्ने आयोजकको योजना छ ।

यस चरणमा मधेश प्रदेशमा लैङ्गिक समानता तथा महिला रग्बी, लुम्बिनीमा शान्ति तथा पर्यटन, गण्डकीमा हरित रग्बी तथा जिम्मेवार पर्यटन, कर्णालीमा जलवायु कार्य, कोशीमा युवा नेतृत्व, सुदूरपश्चिममा प्रकृति तथा जैविक विविधता र बागमतीमा राष्ट्रिय एकता तथा रग्बीको दीर्घकालीन विरासतलाई प्राथमिकता दिइनेछ ।

दोस्रो चरणमा सातै प्रदेशमा सञ्चालन हुने अभियानलाई विश्वमञ्चसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । यस चरणअन्तर्गत सन् २०२७ अप्रिलमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरेर विश्व कीर्तिमान कायम गर्ने आयोजकको योजना छ ।

तेस्रो चरणमा सन् २०२८ अप्रिलमा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी–वान रग्बी प्रतियोगिता आयोजना गरिनेछ। उक्त गतिविधिमार्फत गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्य आयोजकले राखेको छ ।

अभियानले रग्बी विकाससँगै युवा सशक्तीकरण, महिला सहभागिता, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, जलवायु कार्य, वातावरणीय सचेतना र जिम्मेवार साहसिक पर्यटनलाई जोड्ने अध्यक्ष तामाङले बताए ।

अभियान घोषणा कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, एसिया रग्बीका उपाध्यक्ष तथा राखेपका पूर्वसदस्यसचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, अस्ट्रेलियाका कार्यवाहक राजदूत ग्रेग क्लेवन, कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष प्रमोद हमाल र नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्कीलगायत सहभागी थिए ।

कार्यक्रममा सहभागी अधिकारीहरूले अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्