
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका प्रत्याशी किशोरसिंह राठौरले पुसमा सम्पन्न विशेष महाधिवेशनले कुनै परिणाम नदिएको दाबी गरेका छन् । मंगलबार हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै राठौरले यस्तो बताएका हुन् ।
‘म विशेष अधिवेशनको पक्षधर होइन, म नियमित महाधिवेशनको पक्षधर हो,’ राठौरले भने, ‘मैले हिजो पनि देश जलेको बेला, पार्टी कार्यालय जलेको बेला, नेताहरूले कुटाइ खाएको बेला, लखेटिएको बेला, निर्वाचनको घोषणा भएको बेला विशेष अधिवेशन गर्नुहुन्न भन्ने थियो ।’
गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान आफूले प्रस्ताव राखेको उनले बताए । ‘गगनजीलाई मैले नै भनेको हुँ । शेरबहादुर दाइसँग म कुुरा गर्छु भनेको थिएँ । तर, उहाँहरूले मान्नुभएन, गर्नुभयो । तर, त्यसले परिणाम त केही पनि आएन नि । पार्टीले पनि हार्यो, उहाँ पनि हार्नुभयो, हामी सबै हार्यौं,’ राठौरले भने ।
विशेष महाधिवेशन आयोजना गर्दा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग कुनै सूचना नै नभएको उनले दाबी गरे । उनले अगाडि भने, ‘उहाँहरूसँग सूचना नै रहेनछ । आफ्नो पुर्ख्यौंली ठाउँ सोलुखुम्बु गएको भए त जित्नुहुने रहेछ नि त । यत्रो स्टेप उठाउने मान्छेसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय इन्फरमेसन होला भनेको त्यो पनि देखिएन ।’


























