
रक्तदान र राहत संकलन गर्दै मनाइयो कलाकार संघको ३८औँ स्थापना दिवस
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले रक्तदान तथा राहत संकलन गर्दै आफ्नो ३८औँ स्थापना दिवस मनाएको छ। मंगलबार चलचित्र विकास बोर्ड, चावहिलमा आयोजित कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् भने करिब चार लाख रुपैयाँ राहत रकम संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताए।
कार्यक्रममा हर्के हल्दार टिमले १ लाख ३३ हजार ३३३ रुपैयाँ तथा संघका कार्यसमिति सदस्य नवीन श्रेष्ठले १ लाख १ हजार रुपैयाँ सहयोग गरेका थिए। संघका अनुसार अन्य सहयोगसहित करिब चार लाख रुपैयाँ संकलन भएको हो।
प्रमुख अतिथि प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दले संघका संस्थापक अध्यक्ष शान्ति मास्केको तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन्। त्यसपछि रक्तथैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमसमेत सुरु गरिएको थियो।
कलाकारहरू मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजसँगै उभिनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। संघका अध्यक्ष केसीले पनि कलाकारको पेशागत हकहितसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताए।
चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कलाकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता थियो। रक्तदान गर्ने सबैलाई संघले प्रशंसापत्र प्रदान गरेको थियो।
























