एनपिएलमा राष्ट्रिय खेलाडीलाई सहज प्रवेश र सुरक्षित स्थानको व्यवस्था गर्न माग


काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाल प्रिमियर लिग (एनपिएल) का खेल अवलोकन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहज प्रवेश र सुरक्षित बस्ने स्थानको व्यवस्था गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ।

संघले क्यानलाई पत्र पठाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रका लागि योगदान दिएका खेलाडीलाई उनीहरूको उपलब्धिका आधारमा सम्मान र सहजीकरण गर्न आग्रह गरेको हो।

एनपिएलको तेस्रो संस्करण सञ्चालन भइरहँदा प्रतियोगिता स्थलमा कलाकार, मोडल तथा पत्रकारलगायतका व्यक्तित्वका लागि विशेष प्रवेश र बसाइको व्यवस्था गरिएको तर खेलकुद क्षेत्रबाट राष्ट्रलाई योगदान दिएका खेलाडीका लागि त्यस्तो सुविधा नभएको संघको भनाइ छ।

यसले खेलाडीहरूमा आफूले खेलकुदमार्फत राष्ट्रका लागि पुर्‍याएको योगदानको कदर नभएको महसुस गराएको पत्रमा उल्लेख छ।

संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट उपलब्ध गराइएको खेलाडी परिचयपत्रका आधारमा खेलाडीलाई प्रवेश र सुरक्षित बस्ने स्थानको व्यवस्था गर्न माग गरेको छ।

संघका अनुसार प्लाटिनम कार्ड प्राप्त गर्नेमा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण, एसियाली खेलकुदमा पदक जितेका तथा ओलम्पियन खेलाडी पर्छन्। 

गोल्ड कार्ड सागका अन्य पदक विजेता तथा अन्तर्राष्ट्रिय महासंघ (आईएफ) का आधिकारिक प्रतियोगितामा पदक जित्ने खेलाडीलाई उपलब्ध गराइन्छ।

त्यस्तै, सिल्भर कार्ड बृहत् राष्ट्रिय खेलकुदमा पदक विजेता तथा साग र एसियाली खेलकुदमा सहभागी खेलाडीलाई प्रदान गरिन्छ।

संघले खेलाडी परिचयपत्रका आधारमा एनपिएलमा सहज प्रवेश, सुरक्षित बसाइ र आवश्यक सहजीकरणको व्यवस्था गरी खेलाडीको योगदानको सम्मान गर्न क्यानसँग अनुरोध गरेको छ।

खेलाडी संघका उपाध्यक्ष महासचिव विकेश कुथु , महासचिव  शिवसुन्दर गोथे, सचिव मन्देकाजी श्रेष्ठले क्यानका सचिव पारस खड्कालाई पत्र बुझाएका थिए। 

प्रकाशित मिति:





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्