
हिमाल खरेल ,बिर्तामोड
झापाको भद्रपुरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । भारतीय टोलीसहितको प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको हो ।
आयोजक भद्रपुर नगर हक्की संघका प्रशिक्षक दिपक खतिवडाका अनुसार प्रतियोगितामा भारतका ३, नेपालका ३ विभागीय, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र आयोजक गरि १० टोलीको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक, एपिएफ क्लब, बोङगाई स्पोर्ट एकेडेमी आसाम, भारत, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।
त्यस्तै, समूह बि मा कोशी प्रदेश, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, आरके रोय हक्की एकेडेमी भारत र वैसाली हक्की संघ भारत रहेका छन् ।
शुक्रबार उद्घाटन खेलमा समूह बि को कोशी प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ । दोस्रो खेलमा समूह ए को आर्मीले गण्डकीसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खतिवडाले बताए । प्रतियोगिता समूह चरण र नकआउटका आधारमा हुनेछ ।
यसैबीच, प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता हक्कीको उर्वर भूमि मानिएको भद्रपुरको पुहाँतुबारीमा हुनेछ । प्रतियोगिताका लागि पुहाँतु जनज्योति माविको खेल मैदानको स्तरोन्नति गरिएको छ ।
झाररहित मैदानलाई रोलर लगाएर कसिलो बनाउने काम भएको आयोजक भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
प्रतियोगिताका विजेताले २ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई १ लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । पुहाँतुबारीमा यसअघि पनि राष्ट्रियस्तरको हक्की भइसकेको छ ।
फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीयस्तरमा विभिन्न समिति बनाइएको छ ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक १२, २०८३

























