
काठमाडौं । भीषण बाढीका कारण सडक सञ्जाल विच्छेद भएका र भौगोलिक विकटताका कारण हेलिकप्टर पुग्न समेत कठिनाइ भइरहेका क्षेत्रमा राहत सामग्री पुर्याउन चिनियाँ ड्रोन प्रयोगमा ल्याइएको छ । चीन सरकारले सहयोग स्वरूप उपलब्ध गराएका चारमध्ये तीनवटा विशेष ड्रोनहरू अहिले त्रिशूली र धुन्चे क्षेत्रमा राहत तथा खाद्यान्न ढुवानीका लागि परिचालन गरिएको हो ।
ड्रोन परिचालनको स्थलगत व्यवस्थापन गरिरहेको जीबीएस टिमका सदस्य अनिल प्रधानका अनुसार यी ड्रोनले परम्परागत तुइनको तुलनामा निकै छिटो र ठुलो परिमाणमा सामग्री ढुवानी गरिरहेका छन् ।
प्रधानले फिल्डबाट दिएको जानकारी अनुसार ड्रोनको प्रयोगबाट राहत ढुवानीमा अभूतपूर्व सफलता मिलेको छ । “हिजोमात्र हामीले तुइनको विकल्पमा एउटा ड्रोन प्रयोग गरेर करिब डेढदेखि दुई घण्टाको छोटो अवधिमा ७ देखि ८ सय केजी राहत सामग्री प्रभावित बस्तीमा पुर्यायौँ,” प्रधानले टेकपानासँग भने ।
उनका अनुसार एउटा ड्रोनलाई एक पटकको उडानमा ६० देखि ७० केजीसम्म तौल बोकाइएको छ ।
ड्रोनलाई निरन्तर उडान भर्न योग्य बनाउन विशेष प्राविधिक व्यवस्था गरिएको छ । एउटा ड्रोनका लागि ६ वटा ब्याट्री उपलब्ध छन् । बिजुली नभएको ठाउँमा पनि ड्रोन उडाउन विशेष जेनेरेटरको प्रयोग गरिएको छ, जसले १० मिनेटमै ब्याट्रीलाई फुल चार्ज गरिदिने बताइएको छ ।
हाल धुन्चेमा एउटा र त्रिशूली क्षेत्रमा दुईवटा ड्रोनले निरन्तर उडान भरिरहेको छ भने बाँकी एउटालाई आपतकालीन ब्याकअपका रूपमा सुरक्षित राखिएको प्रधानले जानकारी दिए ।
सामाजिक सञ्जालमा ड्रोन उडानमा प्रतिबन्ध लगाइएको भन्ने चर्चालाई प्रधानले अस्वीकार गरे । उनले भने, “ड्रोन उडाउन नदिएको भन्ने कुरा गलत हो, यो अफवाह मात्र हो । हामीले विभिन्न क्षेत्रमा निरन्तर उडान गरिरहेका छौँ ।”
यद्यपि, हवाई सुरक्षाका कारण केही समन्वय भने गरिएको उनले बताए । “जुन क्षेत्रमा हेलिकप्टरको मुभमेन्ट बढी हुन्छ, त्यहाँ हवाई दुर्घटनाको जोखिम टार्न सुरक्षाका दृष्टिकोणले माथिल्लो निकायको निर्देशन अनुसार समन्वय गरेका हौँ । जहाँ हेलिकप्टरको चाप कम छ, त्यहाँ हामीले निर्वाध रूपमा राहत ढुवानी गरिरहेका छौँ,” प्रधानले थपे ।
सडक सम्पर्क टुटेका बस्तीहरूमा खाद्यान्न र औषधि पुर्याउन यी ड्रोन अहिले भरपर्दो माध्यम बनेको उनले सुनाए ।
फोटो सहयोग- अनिल प्रधान
पछिल्लो अध्यावधिक: भदौ २०, २०८३ १३:४०

















