
काठमाडौं – टिकटकले कमेन्ट सेक्सनलाई थप अन्तरक्रियात्मक बनाउने गरी भ्वाइस कमेन्ट, कमेन्ट पोल र फोटो क्यारोसेललगायत नयाँ फिचर सार्वजनिक गरेको छ । टिकटकका अनुसार प्लेटफर्ममा दैनिक १ अर्ब ७० करोडभन्दा बढी कमेन्ट पोस्ट हुने गरेका छन् । प्रयोगकर्ताले टेक्स्ट, फोटो तथा भिडियो स्टिकरमार्फत कमेन्ट गर्न सक्ने सुविधालाई विस्तार गर्दै कम्पनीले नयाँ फिचर थपेको हो ।
६० सेकेन्डसम्मको भ्वाइस कमेन्ट
नयाँ ‘भ्वाइस कमेन्ट’ फिचरमार्फत प्रयोगकर्ताले कुनै पनि भिडिओको कमेन्ट सेक्सनमा ६० सेकेन्डसम्मको अडिओ सन्देश रेकर्ड गरेर पोस्ट गर्न सक्नेछन् ।
यसका लागि कमेन्ट बक्समा रहेको माइक्रोफोन आइकन थिचेर आफ्नो आवाज रेकर्ड गर्नुपर्नेछ । पोस्ट गरिएको भ्वाइस कमेन्टलाई अन्य प्रयोगकर्ताले ट्याप गरेर सुन्न सक्नेछन् ।
टिकटकका अनुसार भ्वाइस कमेन्ट १८ वर्ष वा सोभन्दा माथिका अकाउन्टमा विश्वव्यापी रूपमा आगामी एक महिनाभित्र चरणबद्ध रूपमा उपलब्ध हुनेछ ।
कमेन्टमै पोल राख्न सकिने
टिकटकले ‘कमेन्ट पोल्स’ फिचर पनि विश्वव्यापी रूपमा उपलब्ध गराएको छ । यसमार्फत क्रिएटरले आफ्नै भिडिओमा कमेन्ट गर्दा पोल राखेर फलोअर्ससँग विभिन्न विषयमा मत लिन सक्नेछन् ।
क्रिएटरले पोलमा अधिकतम पाँचवटा विकल्प राख्न र मतदान कति समयसम्म खुला रहने भन्ने अवधि तोक्न सक्नेछन् । प्राप्त मतको परिणाम कमेन्ट सेक्सनमै हेर्न सकिनेछ ।
लुगा छनोट, के पकाउने वा आगामी भिडिओको विषय के बनाउनेजस्ता विषयमा दर्शकको राय लिन यो फिचर प्रयोग गर्न सकिने टिकटकले जनाएको छ ।
एउटै कमेन्टमा ९ वटासम्म फोटो
फोटो कमेन्टलाई विस्तार गर्दै टिकटकले ‘फोटो क्यारोसेल कमेन्ट्स’ पनि ल्याएको छ । यसमा प्रयोगकर्ताले एउटै कमेन्टमा ९ वटासम्म फोटो राख्न सक्नेछन् ।
यसअघि एउटै कमेन्टमा एउटा फोटोमार्फत प्रतिक्रिया दिनुपर्ने अवस्थामा अब धेरै फोटो एकैपटक सेयर गर्न सकिनेछ । उदाहरणका लागि, यात्रा सम्बन्धी भिडिओमा प्रतिक्रिया दिँदा प्रयोगकर्ताले आफ्नो यात्राका धेरै तस्बिर एउटै कमेन्टमा राख्न सक्नेछन् । यो फिचर पनि आगामी एक महिनाभित्र विश्वव्यापी रूपमा चरणबद्ध रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
लाइभ फोटो पनि कमेन्टमा राख्न मिल्ने
टिकटकले ‘लाइभ फोटो कमेन्ट्स’ सुविधा पनि विश्वव्यापी रूपमा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताले फोनको क्यामेरा रोलमा रहेका Live Photos लाई कमेन्टका रूपमा अपलोड गर्न सक्नेछन् ।
टिकटकले यी अपडेटमार्फत कमेन्ट सेक्सनलाई केवल प्रतिक्रिया लेख्ने स्थानभन्दा पनि क्रियटर र दर्शकबीच थप अन्तरक्रिया हुने माध्यमका रूपमा विकास गर्न खोजेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २०, २०८३ १३:२६


















