काठमाडौं-रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले रोबोटिक्स र अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विकासमा लगानी गर्न ‘रोबोटिक्स टेक्नोलोजी डेभलपमेन्ट फन्ड’ (आटीडीएफ) स्थापना गरेको घोषणा गरेको छ । यो फन्डले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका प्रभावसँग जुध्न, पर्यटन प्रवर्द्धन तथा नेपालको कठिन भौगोलिक अवस्थाका लागि आवश्यक रोबोटिक्स र प्रविधिको विकासमा लगानी गर्नेछ ।

नेपाल बाढी, पहिरो, भूकम्प, हिमपहिरोलगायत प्राकृतिक तथा जलवायुजन्य विपद्को उच्च जोखिममा रहेकाले उद्धार तथा राहतमा मात्र केन्द्रित नभई पूर्वतयारी, तत्काल प्रतिक्रिया र विपद्पछिको मूल्याङ्कनका लागि नेपालमै प्रविधि विकास गर्न आवश्यक रहेको र्‍यान ले जनाएको छ ।

यी प्रविधिमा हुनेछ प्राथमिकता

फन्ड अन्तर्गत विपद्पूर्व तथा विपद्पश्चात् मूल्याङ्कनका लागि रोबोटिक्स, खोज तथा उद्धारका लागि रोबोट र स्वायत्त प्रणाली तथा ड्रोन र स्वायत्त प्रविधिमार्फत विपद् नक्साङ्कन तथा मूल्याङ्कनलाई प्राथमिकता दिइनेछ ।

त्यस्तै, ढुवानीका लागि र कठिन भूभागमा सञ्चालन गर्न सकिने ‘अल-टेरेन रोबोट’, हिमाली तथा ग्रामीण समुदायका लागि रोबोटिक्स प्रविधि, पर्यटन प्रवर्द्धन तथा अन्वेषण प्रविधि र जलवायु उत्थानशील रोबोटिक्स तथा स्वायत्त प्रणालीको विकासमा पनि कोषमार्फत लगानी गरिनेछ ।

पूर्वाधार तथा वातावरणीय अनुगमन प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेन्सिङ तथा स्वायत्त प्रविधि र नेपालको विशिष्ट चुनौती समाधान गर्ने अन्य स्थानीय प्रविधि पनि फन्डको प्राथमिकतामा रहनेछन् ।

रोबोटिक्स क्लब र युवा आविष्कारक केन्द्रमा

र्‍यान ले आटीडीएफ को केन्द्रमा नेपालका रोबोटिक्स क्लब र युवा आविष्कारकलाई राखेको जनाएको छ । नेपालले प्रविधि आयातमा मात्र निर्भर नभई आफ्ना आवश्यकता र समस्याअनुसार अनुसन्धान, डिजाइन, प्रोटोटाइप विकास, परीक्षण तथा प्रयोग गर्न सक्ने जनशक्ति र प्रविधि विकास गर्नुपर्ने र्‍यान को भनाइ छ ।

यसका लागि रोबोटिक्स क्लब, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता, इन्जिनियर, मेकर्सस्पेस, स्टार्टअप तथा प्रविधि साझेदारलाई जोड्ने योजना बनाइएको छ ।

र्‍यान ले फन्डमार्फत नेपाली युवालाई भविष्यका आविष्कारक तथा प्रविधि निर्माता बन्ने अवसर उपलब्ध गराउने र स्थानीय आवश्यकता सम्बोधन गर्ने रोबोटिक्स समाधान विकास गर्दै भविष्यमा त्यस्ता प्रविधि विश्व बजारमा समेत पुर्‍याउन सक्ने राष्ट्रिय क्षमता निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।

तीन चरणमा १.५ अर्ब रुपैयाँको कोष बनाउने लक्ष्य

रोबोटिक्स एसोसिएसन अफ नेपालले ‘रोबोटिक्स टेक्नोलोजी डेभलपमेन्ट फन्डका लागि तीन चरणमा कोष संकलन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

पहिलो चरणमा १.५ करोड रुपैयाँ (१ लाख अमेरिकी डलर) संकलन गर्ने लक्ष्य राखिएको छ । यसबाट अनुसन्धान, युवा नवप्रवर्तन, रोबोटिक्स क्लबको क्षमता विकास तथा प्राथमिकतामा रहेका विपद् प्रविधिका प्रोटोटाइप विकासमा लगानी गरिनेछ ।

दोस्रो चरणमा १५ करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) संकलन गर्ने लक्ष्य छ । यो चरणमा अनुसन्धान तथा विकास विस्तार, उन्नत प्रोटोटाइप विकास, परीक्षण कार्यक्रम र प्रयोगयोग्य रोबोटिक्स प्रविधिको विकास तथा परिचालनमा लगानी गरिनेछ ।

तेस्रो तथा दीर्घकालीन लक्ष्यका रूपमा १ अर्ब ५० करोड रुपैयाँ (१ करोड अमेरिकी डलर) संकलन गर्ने योजना र्‍यानले अघि सारेको छ । यसबाट दीर्घकालीन अनुसन्धान, विकास, उत्पादन तथा प्रयोगसँगै अन्तर्राष्ट्रिय सहकार्य गर्न सक्ने राष्ट्रिय स्तरको ‘रोबोटिक्स टेक्नोलोजी इकोसिस्टम’ निर्माण गर्ने लक्ष्य राखिएको छ ।

व्यक्ति तथा संस्थालाई सहयोगका लागि आह्वान

र्‍यानले विश्वभर रहेका व्यक्ति, कम्पनी, कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतका संस्था, फाउन्डेसन, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अनुसन्धान संस्था र प्रविधि कम्पनीलाई आटीडीएफमा सहभागी हुन आह्वान गरेको छ।

व्यक्तिगत सहयोग, कर्पोरेट सीएसआर तथा एनजीओ/आइएनजीओ ग्रान्ट साझेदारीमार्फत कोषमा योगदान गर्न सकिने र्‍यान ले जनाएको छ । विदेशी सहयोग तथा अनुदान भने नेपालको प्रचलित कानुन तथा सामाजिक कल्याण परिषद्का प्रक्रिया र आवश्यकताअनुसार व्यवस्थापन गरिने बताइएको छ ।

र्‍यानका अनुसार आटीडीएफ अन्तर्गत प्राप्त रकमको छुट्टै लेखा व्यवस्थापन गरिनेछ भने कोषमा प्राप्त रकम र त्यसको उपयोगसम्बन्धी नियमित विवरण आधिकारिक माध्यमबाट सार्वजनिक गरिनेछ ।

कोषमा सहयोग गर्न र्‍यानले donate.ran.org.np मार्फत अनलाइन दानको व्यवस्था गरेको छ । थप जानकारीका लागि र्‍यानको इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८३ ११:३७








Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्