एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड


२० कात्तिक, काठमाडौं।

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको ‘एआई एण्ड हाई-टेक करिअर्स: क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत उच्च मूल्यका नयाँ रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका हुन् ।

‘अध्यापन सफ्टवेयर’ एकेडेमिक ईआरपी साझेदार रहेको उक्त कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन र नेपालको सम्भावनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा सीएसआरआई नेपालका अध्यक्ष तथा वर्ल्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटीलाई बदलेर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उहाँले युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने धारणा राखे । दिगो स्टार्टअप प्रणालीका लागि अनुसन्धान कोष, इन्क्युबेसन), मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

यसैगरी सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा आएको रूपान्तरणसँग अनुकूल हुन नसक्नेहरूका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने बताउनुभयो ।

श्रमको सट्टा बौद्धिक र प्राविधिक क्षमता निर्यात गर्नुपर्नेमा जोड दिँदै उहाँले बजारको माग अनुसार समयमै नयाँ सीप सिक्नुपर्ने र प्रविधिको प्रयोग गर्दा मानवीय चेतना एवं विवेकलाई सधैँ सजग राख्नुपर्ने उल्लेख गरे ।

छलफलका क्रममा एआईको विकाससँगै बजारमा प्राविधिक तथा गैर-प्राविधिक भूमिकाहरूको माग बढ्दै गएको विषयमा समीक्षा गरिएको थियो । मसिन लर्निङ इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डेटा साइन्टिस्ट, रोबोटिक्स इन्जिनियर जस्ता प्राविधिक विज्ञहरूसँगै डेटाको गोपनीयता र नैतिक प्रयोग सुनिश्चित गर्न एआई अडिटर, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूको खाँचो औँल्याइएको थियो ।

Advertisement

साथै कार्यक्रममा स्वास्थ्य निदान, ऊर्जा इन्जिनियरिङ सर्वेक्षण, बजार अनुसन्धान जस्ता क्षेत्रहरूमा मानव र एआईको सहकार्यबाट नयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेको तथ्याङ्क प्रस्तुत गरियो ।

विश्वविद्यालय, पूर्वाधार र नीतिगत व्यवस्थाबारे बोल्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सीएसआरआई नेपालका वरिष्ठ उपाध्यक्ष गजेन्द्र शर्माले देशका १७ वटा विश्वविद्यालयहरू एआई युगमा प्रवेश गरे पनि हालसम्म स्पष्ट एआई नीति बन्न नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय एआई नीति २०२५ का सुशासन, मानव पुँजी, अनुसन्धान, आर्थिक एकीकरण, सार्वजनिक-निजी साझेदारी र नागरिक अधिकार गरी छ वटा स्तम्भहरू कार्यान्वयन गर्दै सातै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्नुपर्ने माग राख्नुभयो ।

सोही अवसरमा सीएसआरआई नेपालका उपाध्यक्ष एवम् नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले उच्च प्रविधियुक्त जनशक्ति निर्माणका लागि दूरसञ्चार पूर्वाधार र सञ्जालको पहुँचको भूमिकाबारे प्रस्ट पार्नुभयो ।

वित्तीय क्षेत्रका विज्ञहरू बन्दना शर्मा र सङ्गम न्यौपानेले बैंकिङ प्रणालीमा डिजिटल भुक्तानी, साइबर सुरक्षा र एआई-आधारित सुरक्षा प्रणालीले सिर्जना गरेका नयाँ अवसरहरूबारे चर्चा गर्नुभयो भने वर्ल्ड एआई एलायन्सका अध्यक्ष उज्ज्वल रोयले सीएसआरआई नेपालजस्ता अनुसन्धानमूलक संस्थाहरूलाई राज्यले प्रविधि क्षेत्रको थिङ्क-ट्याङ्कका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमले एआईले कार्यक्षमता बढाए पनि अन्तिम निर्णय गर्ने अधिकार र मानवीय विवेक प्रविधिलाई सुम्पिन नहुने तथा नीतिगत स्पष्टता र डिजिटल सीप अभिवृद्धि नै आजको मुख्य आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) नेपालको साइबर सुरक्षा, एआई तथा सूचना प्रविधिको क्षेत्रमा नीतिगत अनुसन्धान, प्राविधिक जोखिम विश्लेषण, जनचेतना र दक्ष जनशक्ति विकासका लागि क्रियाशील गैर-नाफामूलक प्राज्ञिक संस्था हो । सीएसआरआईले सरकारी निकाय, निजी क्षेत्र र विश्वविद्यालयहरूसँगको सहकार्यमा राष्ट्रको डिजिटल सुरक्षा सुदृढीकरणमा काम गरिरहेको छ । यस संस्थाले हालै बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ समेत घोषणा गरेको छ ।

यस अनुसन्धान अनुदानको मुख्य उद्देश्य वित्तीय क्षेत्रमा एआईको तीव्र विस्तारसँगै बढ्दो साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका जटिल चुनौतीहरू नियन्त्रण गर्न स्वदेशमै भरपर्दो प्राविधिक समाधान तथा नीतिगत ढाँचा विकास गर्नु, बाह्य प्रविधिमाथिको निर्भरता न्यूनीकरण गर्नु र प्राज्ञिक अनुसन्धानकर्ताहरूलाई उद्योगका वास्तविक समस्या समाधानमा प्रत्यक्ष जोड्नु रहेको छ ।

For more: AI & High-Tech Careers in Nepal



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्