
नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घर पुरिएको ११औँ दिनमा नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेकी छन्। शनिबार उद्धार टोलीले पानी खुवाउँदा उनले पानीसमेत खाएकी छन्।
बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आफ्नै चौथो तलामा पुरिएकी चन्डिकालाई शनिबार सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो। उनका श्रीमान आनन्द श्रेष्ठका अनुसार उनी ५५ वर्षकी छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार चन्द्रिका बोल्न सक्ने अवस्थामा छिन्। उद्धारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि घरको भग्नावशेष हटाएर खोजी गर्दा चन्द्रिकालाई जीवितै फेला पारिएको हो।
सशस्त्रका इन्सपेक्टर सुमन विकको कमान्डमा रहेको सशस्त्र प्रहरीको टोलीले चन्द्रिकाको उद्धार गरेको हो। उद्धारपछि टोलीले उनलाई पानी खुवाएको थियो। उनले पानी खाएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयमा थप उत्साह देखिएको थियो।
भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चन्द्रिका जीवितै भेटिनुलाई असाधारण घटनाका रूपमा लिइएको छ।


















