[ad_1]
फाइल तस्वीर
काठमाडौं । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा भएको छ । स्थापना दिवसको अवसरमा आइतबार आयोजित समारोहमा पुरस्कार प्राप्त गर्ने कलाकार र स्रष्टाको नाम सार्वजनिक गरिएको छ । पुरस्कारलाई यसैवर्ष राष्ट्रपतिको हातबाट वितरण गरिने भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा १३ औं वार्षिकोत्सव समेत मनाइयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि दिइएको थियो ।
यस वर्षको संगीत विधातर्फ वरिष्ठ गायक तथा संगीतकार गणेश रसिक, लोक संगीत विधातर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राई, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ संगीत साधक विजयकुमार श्रेष्ठ, नाटक विधातर्फ प्रा. डा. रामचन्द्र पोखरेल, रंगमञ्च विधातर्फ वरिष्ठ निर्देशक भैरव क्षेत्री र नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई पुरकार प्रदान गरिने भएको छ ।
कार्यक्रममा मन्त्री किरातीले गीत-संगीतमार्फत जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले संस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउन नीति तथा कार्यक्रममा नयाँ कुरा ल्याउने तयारीमा रहेको जानकारी दिए ।
प्रतिष्ठानकी कुलपति निशा शर्माले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ प्राप्त गर्ने कलाकार तथा स्रष्टाको नाम सार्वजनिक गर्दै सरकारले आफूलगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने बताइन् ।
[ad_2]
Source link








