पूर्वाधार केन्द्रीत खेलकुद बजेट : ‘भलिबल र फुटबलका लागि पनि विशेष व्यवस्था छ’

क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन ।

आर्थिक वर्ष २०८२/८३ को लागि बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दा क्रिकेट खेलको पूर्वाधारमा धेरै बजेट विनियोजन भयो । तर राष्ट्रिय खेल भलिबल र चर्चित खेल फुटबलको लागि भने बजेटमा खासै नाम आएन ।

क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन । तर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबल र फुटबलसहित अन्य खेल पूर्वाधारका लागि पनि बजेट छुट्याइएको बताए ।

उनले बजेट भाषणमा क्रिकेटका लागि मात्र रकम तोकिएर आएपनि भलिबल लगायत खेलका लागि पनि विशेष व्यवस्था गरिएको बताए । ‘भलिबल र फुटबलको लागि पनि बजेटमा विशेष व्यवस्था छ । क्रिकेटको ठूला रंगशालाहरु मर्मतदेखि स्तरोन्नती भएकोले रकम तोकिएर आयो । तर फुटबल र भलिबलको पूर्वाधारको लागि जग्गा प्राप्ती प्रक्रियामा छ । त्यसैले बजेटमा उल्लेख नभएको हुन सक्छ,’ मन्त्री चौधरीले अनलाइनखबरसँग भने, ‘तर ती खेलका लागि पनि विशेष व्यवस्था छ । बजेटको डिटेल आएपछि थाहा हुन्छ ।’

उनले फुटबल र भलिबल दुवैका लागि उपत्यका भित्र नै जग्गा हेरिरहेको बताए । ‘यी दुई खेलमा जग्गा उपलब्ध नभएर हाइलाइट नभाको हो । फुटबल र भलिबलका लागि जग्गा उपलब्ध भएपछि हाइलाइट हुन्छ’ उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्