भुवनको भुलभुलैया र सन्तोषको सन्देश

भुवनको भुलभुलैया र सन्तोषको सन्देश

[ad_1]

पूर्वीय दर्शनले एउटा सर्वकालिन पात्रको रचना गरेको छ, भष्मासुर । शिवपुराणमा उनको कथा यस्तो छ । हिमालय पर्वतमा अग्नि कुण्ड बनाएर भष्मासुर कठोर तपस्या गर्न लागे । उनको तपस्याबाट पग्लिएर भगवान शिव प्रकट भए, ‘भन तिमी के वरदान चाहन्छौं ?’

भष्मासुरले भगवान शिवलाई वाचा गराउँदै भने, ‘मैले जसको शीरमा हात राख्छु, उसको भष्मा होस् ।’ भगवान शिवले ‘तथास्तु’ भने ।

यो अथाह शक्ति पाएपछि उनी मात्तिए । अन्ततः उनै भगवान शिवलाई भष्म गरेर सम्पूर्ण कुरा आफ्नो अधिनमा पार्ने दाउमा लागे । भष्मसुरको यस्तो तमासा देखेर भगवान शिव भाग्दै विष्णुकहाँ पुगे ।

भगवान विष्णु भेष वदलेर एक सुन्दर युवतीको रुपमा प्रकट भए । अनि भष्मासुरको अघिल्तिर कामुक हाउभाउसहित नाच्न थाले । मोहनी जालमा परेर भष्मासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाले । नाच्दा नाच्दै सुन्दरीले आफ्नो हात आफ्नै शिरमा राखे । भष्मासुरले पनि त्यसै गरे । आखिरमा उनी त्यही भष्म भए ।

‘शक्ति’ त्यसक्षण आत्मघाती विष्फोटक हुनसक्छ, जब त्यसको उन्माद उम्लन्छ र विवेक बन्धक हुन्छ । यहाँ कसैलाई भष्मासुर बनाउन खोजिएको होइन । यद्यपि बेलाबखत शक्तिको प्रयोग गलत ढंगले हुँदा त्यसले अन्तत आफैलाई पत्तासाफ गर्न सक्छ भन्ने सत्यको उद्घाटन मात्र गरेको हो ।

****

कुसुमे रुमाल, सम्झना, साइनो, चिनो, दक्षिणा, दुई थोपा आँशु । यी त्यस्ता नामहरु हुन्, जसले नेपाली सिनेमालाई ‘गौरवशाली युग’ पाइला टेकायो । र, त्यसताका सिनेमाको मूलकथालाई डोहोर्‍याउने  सूत्रधार थिए, भुवन केसी ।

सन्देह छैन, भुवन केसी आफ्ना जमानाका सर्वाधिक प्रिय अभिनेता हुन् । उनको सघन उपस्थिती र स्वभाविक अभिनयले नेपाली समाजमा ‘नायक’को गर्विलो छवी स्थापना गरिदियो । अनि लगभग डेढ दशकसम्म ‘मनोरञ्जन दूत’को रुपमा उनी गतिशिल रहे ।

यसबीचमा उनी विवादरहित भने रहेनन्, अनेकन लफडाबाजीमा परे । कतिले भने, ‘लफडाको अर्को नाम भूवन केसी ।’ आखिर जे–जसो भएपनि उनले आफ्नो मूल इलम छाडेनन् । नेपाली सिनेमामा अनन्तदेखि अविराम सक्रिय रहे ।

अतः यतिबेला उनी नेपाली सिनेमाको हक–हित, नीति–निर्माण, व्यवहार–व्यवस्थाको कप्तानी सम्हाल्ने कुर्सीमा विराजमान छन् । यो ठाउँबाट उनले नेपाली सिनेमालाई त्यही गन्तव्यतर्फ डोहोर्‍याउन सक्छन्, जुन उनले आफु ‘फिल्ममेकर’को धरातलमा उभिएर कल्पना गर्थे । एउटा सिनेमा निर्माण गरिरहँदा देख्ने सपना, भोग्ने यर्थाथ र थेग्ने पीडाबीचको समिकरण कति जटिल हुँदो हो ? भुवन केसीले अनुभव गरेकै होलान् ।

अतः करियरको उत्तरार्द्धमा उनलाई यस्तो अवसर प्राप्त भएको छ, जहाँ वितेका दिनहरुमा आफुले छाडेका पदचापलाई स्वर्ण डोबहरुमा कुद्न सक्छन् । तर खै किन हो भुवन केसी आफ्नो इतिहास बनाउने भन्दा पनि इज्जत-इमान डुबाउने जोखिमपूर्ण खेलमा छन् ।

****

कुरा सन्तोष सेनको होइन । कुरा प्रेमगीत–३ को पनि होइन । कुरा त त्यती मात्र हो कि, एउटा नेपाली सिनेमा घरेलु पर्खाल नाघेर पर–परसम्म पुगेको छ । हलिउड–बलिउडले रजाई गर्ने पर्दाहरुमा आफुलाई उभ्याएको छ । अतः यसले ‘नेपालमा पनि सिनेमा बन्छ र ?’ भन्नेहरुकै मुखबाट नेपाली सिनेमाको बखान गर्न लगाएको छ ।

कञ्जुस नगरी भन्नुपर्दा नेपाली सिनेमाको इतिहासमा यो एउटा नयाँ अध्याय हो । किनभने व्यवसायिक मूल्य र नेपाली बिरासत बोकेर यसअघि कुनै नेपाली सिनेमाले यति फराकिलो भूगोलमा परिक्रमा गरेको थिएन । ओस्कारको यात्रामा निस्कने र फिल्म फेस्टिभलमा फन्को लगाउने सिनेमाको कुरा आफ्नो ठाउँमा छ ।

भुवनको भुलभुलैया र सन्तोषको सन्देश

विश्व सिनेमाको मानचित्रमा नेपाली सिनेमा भुसुना बराबर हुँदो हो ।  यस्तो पृष्टभूमीमा एउटा अल्लारे फिल्ममेकर जब अति मामुली धरातलबाट आफ्नो सिनेमा बोकेर परदेशको यात्रामा निस्कन्छ, यो चानचुने हिम्मत र लरतरो प्रयासले फत्ते हुने कुरा थिएन । तर, उनले बलिउडकै आँगनमा आफ्नो सिनेमाको पोस्टर टाँगिदिए । बलिउडकै हालीमुहाली रहने पर्दामा आफ्नो सिनेमा प्रदर्शन गरिदिए ।

त्यती मात्र कहाँ हो र ? बलिउडमा कहलिएका समीक्षकहरुलाई नेपाली सिनेमाको स्वाद चखाए । र, ‘दुई शब्द’ बोल्न लगाए ।

 

झट्ट हेर्दा त लाग्नसक्छ, एउटा केटोले युवाजोशमा आफ्नो रहर र चर्चाका खातिर यी सम्पूर्ण बन्दोबस्ती मिलाए । तर, परिदृश्यमा जे देखिन्छ त्यो मात्र कुरा भएन । गाँठी कुरा त भने यसले परदेशी भूगोलमा दीर्घकालसम्म कस्तो छाप छाड्छ ?

आज सन्तोष सेनले जे गरे त्यसबाट फगत उनीमात्र लाभान्वित हुने छैनन् । यसले समग्र नेपाली सिनेमाकै लागि यस्तो गोरेटोको रेखांकन गरिदिएको छ, जसलाई खनीखोस्री भोलिका दिनमा आफ्नो मूलबाटो बनाउन सक्छौं ।

आफ्नो सांस्कृति फैलावटको लागि एउटा राज्यले जे गर्नु थियो, सांस्कृतिक उत्पादनसँग जोडिएका संघ-संस्थाले जे गर्नु थियो । त्यो एउटो अल्लारे केटोले गरिरहेका छन् । तीन–चार बर्ष खर्चिएर, तीन–चार करोड खर्चिएर यत्तिको काम गर्नु सानो हिम्मतले पुग्छ ?

जहाँ एउटै गीतको छायांकन गर्न करोडौं खर्च गरिन्छ, सो भन्दा पनि न्युन बजेटमा सिंगो सिनेमा तयार गरेर त्यो विशाल अनि समृद्ध मैदानमा उतारिएको छ । यो इच्छाशक्ति, यो उदारता र यो दृढतालाई कसरी सामान्य आँक्ने ?

यतिबेला त उनको प्रयासलाई सबैले होस्टेमा हैंसे गर्नुपर्ने हो । तर, ‘सिनेमाको उत्थान गर्न’ भनी लागेकाहरु नै उनको हिम्मतमाथि काँडेतार लगाउने दाउपेच रच्न थाल्छन् । उनको खुट्टा अठ्याएर जोडबलले तलतिर घिसार्ने चेष्टा गर्न थाल्छन् ।

****

तपाईं मेघालयमा बस्ने नेपालीको मुटु छाम्नुहोस् वा फुकेटको, म्यानमारमा बस्ने नेपालीको मुटु छाम्नुहोस् वा अमेरिकाको । उनीहरु आफ्नै माटोको ढुकढुकी लिएर बाँचिरहेका छन् । त्यो बिरानो भुगोलमा जसै उनीहरुले नेपाली सिनेमा हेर्न पाउँछन्, अपनत्वबोध र हार्दिकताले गदगद हुनेछन् ।

जरुरी छैन, त्यो सिनेमा सर्वोत्कृष्ट हुनुपर्छ । जरुरी छैन, त्यो सिनेमा नेपाली संस्कृतिमाथि बनेको हुनुपर्छ  । भनिन्छ नि, माइतको कुकुर पनि प्यारो हुन्छ । वस्, आफ्नोपन र मन समेटेर बनेको ‘नेपाली’ सिनेमा भए पुग्छ । मनोरञ्जनको जतिसुकै संशाधन भएको ठाउँमा पनि आफ्नो भनेको आफ्नै हुन्छ ।

सन्तोष सेनले कम्तीमा प्रवासीहरुलाई घरेलु सिनेमाको कोसेली दिएका छन् ।

उनले जे गरे, त्यो पर्याप्त छैन । तर हरेक सुरुवातले एउटा सुनौलो संभावनाको ढोका उघारिदिन्छ । नेपाली सिनेमाका लागि यो आशालाग्दो काम हो ।

****

जति–जति ‘प्रेमगीत–३’ प्रदर्शनको नजिकतिर पुग्दै थियो, यसमाथि विवाद र बखेडा झिक्ने काम पनि उत्कर्षमा चुलिदै थियो ।

कोही भन्दै थिए, ‘यो हिन्दी भाषामा प्रदर्शन गर्ने भए स्वदेशी सेवा–सुविधा कटौती गर्नुपर्छ ।’

कोही भन्दै थिए, ‘यो राष्ट्रघाती अभ्यास हो ।’

कोही भन्दै थिए, ‘कर चुक्ता नगरी प्रदर्शन गर्न पाइदैन ।’

कोही भन्दै थिए, ‘रात्री शोहरु बन्द गराउनुपर्छ, नभए सुरक्षाको जिम्मा कसले लिने ?’

सन्तोष सेनले यी सबै कुरामा छुट पाउनुपर्छ भन्ने होइन । कतिपय आन्तरिक व्यवस्था, नीतिहरुलाई उनले मान्नैपर्छ । र, आवश्यक विधी विधान पुरा गर्नैपर्छ । तर यहाँ विधी विधानका कुरा मात्र भएनन् । यहाँ त सन्तोष सेनले सिनेमाको फैलावटमा जुन सार्थक प्रयास गरे, त्यसमाथि च्याँखेदाउ थाप्नेहरु पो सल्बलाउन थाले । तिनीहरुलाई लाग्दो हो, प्रेमगीत–३ ले यत्तिका चर्चा र स्थान पाउनु भनेको हाम्रो धोति फुस्कनु हो । तिनीहरुलाई लाग्दो हो, प्रेमगीत–३ ले बजार पिट्नु र प्रदीप खड्काहरुको ब्रान्ड भ्यालु बढ्नु हाम्रो लागि खतरकोको संकेत हो ।

तर, यति खुम्चिएको काइते सोंचले नेपाली सिनेमालाई सही मार्गदर्शन दिलाउँदैन बरु अनेक मोड–मोडमा बाधा अड्चन थोपरिदिन्छ । अन्ततः भोलिका दिनमा नेपाली सिनेमाले न त ‘फुल स्पिड’मा आफ्नो गति बढाउन सक्छ, न अनन्तसम्मको गन्तव्य पहिल्याउन नै ।

व्यक्तिगत स्वार्थ, रिसइवी र कुष्ठाले कुनै युद्धको शंखघोष हँुँदैन, जसले एउटा नयाँ युगको स्थापना गरिदियोस् ।

****

नेपाली समाजमा प्रचलित एउटा नीतिकथा छ, स्यालको हुँइया । कथा यस्तो छ । स्यालको राजा आफ्ना रैतीहरु सधै खुसी–सुखी देख्न चाहन्थे । उनी आफ्नो राजकाज सबैका लागि अनुकरणिय होस् भन्ने चाहन्थे ।

त्यसैले उनी आफ्ना आसेपासे मन्त्रीहरुसँग आफ्ना रैतीहरुको स्थिती के छ भनी बारम्बार बुझ्ने गर्थे । उनीहरु कति सुखी छन्, उनीहरु कति अघाएका छन् राजाले चासो राख्थे । मन्त्रीहरु भन्थे, ‘स्वामी, उनीहरु त एकदमै खुसी छन् । हजुरप्रति एकदमै सन्तुष्ट छन् ।’

एकदिन राजालाई आफ्नो रैतीहरुकै माझमा पुगेर उनीहरुको दुःखसुख बुझ्ने मनासय जाग्यो । उनले मन्त्रीहरुलाई त्यही अनुसार व्यवस्था मिलन भने । अन्ततः उनी स्यालहरुको वस्ती वस्ती चाहर्न लागे । तर, रोग–भोग–शोकले ग्रस्त स्यालहरु रुन कराउन थाले । उनीहरु राजाको बिरुद्धमा नाराबाजी गर्न थाले । तर, बेग्लै बाहनमा सयर गरिरहेका राजाले उनीहरु खासमा के भन्दैछन् भन्ने बुझ्न सकेनन् । उनले मन्त्रीहरुलाई सोधे, ‘यिनीहरु किन चिच्याइरहेका छन् ?’

मन्त्रीहरुले विनम्रतापूवर्क भने, ‘महाराज, उनीहरु चिच्याएका होइनन् । जयजयकार गरेका हुन् । हजुरको आगमनले उनीहरुले खुसी भएका हुन् । खुसीले पागल भएका हुन् ।’

राजा मख्ख पर्दै दराबारमा फर्किए । तर, स्यालहरुको बिद्रोह चर्कदै गयो । र अन्ततः उनीहरुले राजालाई गद्दीबाट हत्याएर निकालिदिए ।

कहिले काहीँ आफ्ना आसेपासेहरुको गलत कुरा, सल्लाह आदिले पनि नेतृत्वमा रहेकाहरु संकटमा पर्छन् । भुवन केसी आफैमा नेपाली सिनेमाको गतिरोध चाहँदैनन् होला । नेपाली सिनेमा खुम्चिएको कुराले उनको मन रमाउँदैन होला । यद्यपि आसपासमा बसेकाहरुले खराब ढंगले उकास्न सक्छन् । यतिबेला उनले विवेकलाई बन्धक बनाउन हुन्न ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्