[ad_1]
७ असोज, पोखरा । कुनै बेला पोखरामा खुबै चर्चित एउटा उक्ति थियो, ‘दसैंमा टुँडिखेल जाने हो, भेडाच्यांग्रा किन्ने हो ।’ हुन पनि तत्कालीन अवस्था त्यस्तै थियो ।
तिब्बत, मनाङ र मुस्ताङबाट दसैंको छेकोमा पोखरा झर्ने भेडाच्यांग्रा टुँडिखेलमा जम्मा हुन्थे । त्यहाँ अघोषित रुपमै भव्य मेला लाग्थ्यो । स्थानीयका अनुसार मेलामा ग्रामीण भेगबाट मान्द्रो, नाङ्लो, डोकोलगायत हस्तकलाका सामग्री किनबेच, साटफेरका लागि आउने गर्दथे ।
मेलामा पोखरा उपत्यकाका मात्रै नभइ आसपासबाट पनि आउने भएकाले रौनकै छुट्टै हुन्थ्यो । हस्तकला, लुगाफाटो बिक्रिवितरणका लागि राखिने भए पनि सबैभन्दा बढी आकर्षणका रुपमा हिमाली जिल्लाबाट झरेका भेडा च्यांग्रा नै हुन्थे । टुँडिखेलमा भेडाच्यांग्राको मेला लागे पछिमात्रै पोखरामा दसैं भित्रिएको आभास हुने पोखरेली बताउँछन्।
‘त्यो टुँडिखेल मैदानमात्र होइन, दसैं भित्राउने आर्थिक, सांस्कृथिक तथा सामाजिक सम्बन्ध जोड्ने ठाउँमात्र हो । टुँडिखेल दसैंको किनमेलको किनमेलको इतिहाससँग गाँसिन्छ,’ साहित्यकार सरुभक्तले संस्मरण लेखेका छन्, ‘पोखरा आसपासका उपत्यकादेखि गाउँहरुले बजार गर्न पाउने थलो बनेर जोडिन्छ ।
साहित्यकार सरुभक्तका अनुसार टुँडिखेल हिमाली क्षेत्रका किसानको अर्थशास्त्र पनि सम्बन्धित थियो । ‘दसैं सुरु हुनुभन्दा २, ४ दिनभन्दा पहिले नै भेडाच्यांग्रा आएपुग्थे । अहिलेजस्तो गाडीको ट्याँट्याँ थिएन, मान्छेले लिएर गएका भेंडाको भ्याँ भ्याँ, च्यांग्राको म्याँ म्याँसँगै टोल टोलमा दसैं हिँड्थ्यो,’ उनी लेख्छन्, ‘दसैं जब मुस्ताङदेखि टुँडिखेलसम्म भेडा, च्यांग्रा आइपुग्थ्यो, अनि पोखरेलीको दसैं उत्सव भित्रिन्थ्यो ।’
यसरी भित्रिन्थ्यो पोखरामा त्यो बाल्यकालको दशैं
पोखरा महानगर वडा नं. १ मा पर्ने टुँडिखेलमा दसैंको मौकामा लाग्ने उक्त मेलाको इतिहास सय वर्षभन्दा माथि रहेको त्यहाँका स्थानीय बताउँछन् ।
टुँडिखेलमा दसैं मेला ठ्याक्कै कहिलेदेखि सुरु भएको भन्ने आधिकारिक अभिलेख नभए पनि विद्यालय खुल्नुभन्दा अघिबाटै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रसाद दवाडी बताउँछन् । ‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिँदैन,’ उनी भन्छन् ।
विसं. २००६ मा स्थापना भएको राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको उक्त मैदानमा बर्सेनि लाग्ने मेलामा उहिलेजस्तो भेडाच्यांग्राको बथान देखिँदैन । न त पुरानो रौनक नै बाँकी छ ।
विद्यालयका प्रधानाध्यापक कृष्ण उदासीका अनुसार पहिले मेलामा व्यापारी तथा किसान आफैं स्वतःस्फूर्त रुपमा मेलामा भेडाच्यांग्रा ल्याउने गर्दथे । तर, पछि ५० को दशकबाट विद्यालयले ठेक्का प्रक्रियाबाट बिक्रीवितरण गर्न थालेपछि च्यांग्रा व्यापारी निरुत्साहित हुँदै गएका हुन् ।

‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्रिवितरण गर्थे । अन्त पाइँदैन थियो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचिन हाट बजार थियो,’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’
उदासीका अनुसार तत्कालीन समयमा विद्यालयमा विद्यार्थी थोरै र आम्दानीको स्रोतका लागि पनि भेडाच्यांग्रा बिक्रिवितरणका लागि ठेक्का लगाउनु परेको थियो । ‘त्यतिबेला नै एउटा गोठको ३० हजार रुपैयाँसम्म असुलिएको रहेछ । त्यसले व्यवसायीलाई झनै निरुत्साहित बनाइदियो अनि यहाँबाट विस्थापित हुन थाले,’ उनी भन्छन् ।
पहिले स्वतःस्फूर्त खुला रुपमा मेला लाग्ने गरे पनि २०७५ सालदेखि विद्यालयले जिम्मा लिएको छ । उदासी भन्छन्, ‘स्वतःस्फूर्त हुँदा अव्यवस्थित पनि भयो । मेलाको मौलिकता र इतिहास पनि विस्तारै हराउन थाल्यो । त्यसलाई फेरि फर्काउन र व्यवस्थित गर्न पनि स्कुलले नै जिम्मा लिएको हो ।’
टुँडिखेल छाडेर हेमजा फाँट उक्लिन थालेका भेडाच्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दसैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिँदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम अधिकारीका अनुसार अहिले कम्तिमा १० वटा गोठ निर्माण हुनेछ । ‘आवश्यकताअनुसार गोठ थपघट हुन पनि सक्छ,’ उनले भने ।
टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्यांग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।
विद्यालयका अनुसार दसैंको फूलपातीदेखि लाग्ने दसैं मेलामा भेडाच्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन । ‘हराउँदै गएका हस्तकला आजको पुस्तालाई देखाउन पनि जरुरी छ ।
आफैंले उत्पादन गरेका हस्तकला बिक्रीवितरण गर्न कुनै शुल्क लिइने छैन,’ प्रधानाध्यापक कृष्ण उदासीले भने, ‘तर, व्यापारिक ध्येयले नै खरिदबिक्री गर्ने व्यवसायीका लागि भने शुल्क लाग्नेछ ।’
[ad_2]
Source link








