कोसीका तीन भङ्गाला तरेर भोट हाल्न जान्छन् श्रीलंका टापुका बासिन्दा

कोसीका तीन भङ्गाला तरेर भोट हाल्न जान्छन् श्रीलंका टापुका बासिन्दा

[ad_1]

४ मंसिर, सुनसरी । श्रीलंका टप्पुकी पारुलदेवी ठाकुर (६५) यो वर्ष मतदान गर्ने मुडमा छैनन् । मतदान गर्न कोसी तरेर जान उनलाई मन लागेन ।

लाइन लागेर मतदान गर्न गएका छिमेकीलाई हेरेर घरमै बसिरहेकी पारुल देवी भन्छिन्, ‘कहिलेसम्म कोसी तर्ने, कहिलेसम्म काम नगर्ने नेतालाई जिताउने ?, जहिले नाउँ तरेर जान्छु’, पारुलले भनिन्, ‘कोसीमा पुल हाल्देउ, भन्छु मान्दैन नेताले ।’

भोट माग्न आउने नेतालाई कोसीमा बाँध बाँध्ने, पुल हाल्दिने र राम्रो बाटो बनाइदिने टप्पुवासीको माग पूराहुन सकेको छैन, न त छुट्टै वडा र मतदान केन्द्रको माग पूरा भएको छ ।

घरपायक मतदान केन्द्र राख्नुपर्ने माग गर्दै आएका सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलंका टप्पुका बासिन्दा यो वर्ष पनि निराश भएका छन् । बराहक्षेत्रको ६ र ९ नम्बर वडा पर्ने टप्पु सुनसरीको क्षेत्र नं. ४ पर्छ ।

सुनसरीकै दुर्गम, कोसी नदी उकास जग्गामा बसोबास गर्दै आएका टप्पुका बासिन्दा वर्षौंदेखि कोसी तरेर वराहक्षेत्रको प्रकाशपुर, राजाबास र चक्रघट्टीका मतदान केन्द्रमा मतदान गर्दै आएका छन् ।

कोसीका तीन भङ्गाला तरेर भोट हाल्न जान्छन् श्रीलंका टापुका बासिन्दा

दुई वडामा विभाजित टप्पुवासी ३ वटा केन्द्र (प्रकाशपुरस्थित प्रकाश मावि, राजाबासस्थित सरस्वती मावि र चक्रघट्टीस्थित महेन्द्र मावि)मा मतदान गर्दै आएका छन् ।

झण्डै १ सय जना प्रकाशपुरस्थित प्रकाश मावि केन्द्रमा मतदान गर्छन् भने २५० जति राजावासको सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्छन् ।

टप्पुका रामनगर, बुधबारे, शुक्रबारे, एबीसीलगायतका धेरैजसो स्थानीयले उदयपुर क्षेत्र नं १ को बेलका नगरपालिकातर्फ रहेका मतदान केन्द्रमा मत खसाल्छन् ।

टप्पुबाट बेलकाको रामपुर बजार र भागलपुर बजार नजिक छ । तर टप्पुका जामपानी, चिलैया, गरैयालगायतका बस्तीका नागरिक मूल कोसी तर्न बाध्य छन् ।

वडा नं. ६ का २ सय मतदाता भने चक्रघट्टीस्थित महेन्द्र मावि मतदान केन्द्र पुग्छन् । चिलैया, गरैयाका ६ सय घरधुरीका आधा जनसंख्या मात्र मत हाल्न मतदान केन्द्र पुग्छन् ।

टप्पुका आधा भन्दा बढी सङ्ख्याले उदयपुरको कोशी जनता मावि र भागलपुर मतदान केन्द्रमा मत खसाल्ने गरेको टप्पुस्थित रामनगरका मिश्रीलाल महतो बताउँछन् ।

प्रशासनले नै टप्पुलाई दूरदराज ठानेको स्थानीय युवा सन्तोष चन्द्रवंशी बताउँछन् । विगतदेखि नै टप्पुमा मतदान केन्द्र राख्न पहल गरे पनि चासो नदिएको सन्तोषको भनाइ छ।

‘बालबच्चा छाडेर पारि तर्ने कुरा हुँदैन, गाउँ खाली गरेर भोट हाल्न जानुपर्छ, भोट हाल्न पाउने भए पनि कति जान्छ, कति जाँदैन,’ सन्तोष भन्छन्, ‘यहीँ भोट हाल्न पाउने भए त सबैले हाल्थ्यो पनि ।’

सुरक्षाको कारण टप्पुमा मतदान केन्द्र नराखिएको हुन सक्ने अनुमान गर्छन्, स्थानीय स्वास्थ्यकर्मी पाण्डव चन्द्रवंशी । ‘यसपालि नै राख्ने कुरा भएको थियो, राखिएन । अर्को पटक चाहिँ राखिन्छ होला’, पान्डव भन्छन् ।

आफू जनप्रतिनिधि हुँदा पनि स्थानीयले मतदानका लागि टप्पुमै केन्द्र हुनुपर्ने माग राख्दै आएको बराहक्षेत्र ९ का पूर्व वडाध्यक्ष दीपक लिम्बू बताउँछन् । उनी आफैंले पनि प्रहरी चौकी राख्न पहल गरे पनि प्रशासनले निकम्मा रहेको भन्दै आक्रोश पोखे ।

‘जनसङ्ख्या थोरै, ठूलो क्षेत्रफल, यातायातको असुविधा र सुरक्षा चुनौतीका कारण पनि यो क्षेत्र संवेदनशील रहेको बुझाइरहेछ’, पूर्ववडाध्यक्ष लिम्बूले भने ।

कोसीका तीन भङ्गाला तरेर भोट हाल्न जान्छन् श्रीलंका टापुका बासिन्दा

बालबच्चा घरमै छोडेर आएकी छिन्, भागोकुमारी चन्द्रवंशी । बाटोघाटो सुविधा दिन्छ कि भनेर भोट हाल्न आएको बताउँछिन् उनी, ‘के गर्नु भोट नहालेर पनि हुँदैन ।’

यहाँका कतिपय महिलाले मतदानका लागि टाढा जानु पर्ने भएकाले भोट हाल्न पाउँदैनन् । उनीहरु घर कुरेर बस्छन् । बालबच्चा स्याहार्छन्, राँगा भैंसी हेर्छन् । उनीहरु दिन नै माया मारेर भोट हाल्न जाँदैनन् ।

‘सबैलाई भेला पारेर भोट हाल्न लानुपर्ने छ, कोही हिजै गइसके, आज म लाँदैछु’, भोट हाल्न जान एकाबिहानै ट्रयाक्टर खोज्दै गाउँ आएका सन्तोष चन्द्रवंशीले भने, ‘आधी मान्छे जाँदैन भोट हाल्न, कि राँगा भैंसी सँगै लानु परो ।’

कोसीको किनारसम्म पुग्न पनि समय लाग्ने भएकाले सन्तोषले सबैलाई ट्रयाक्टरमा हालेर मतदान केन्द्र लैजाने गरेका छन् । कोसीसम्म पुग्न एक घण्टा, तरेर जान अर्को घण्टा । लाइनमा बसेर भोट हाल्दा साँझ पर्छ, घर आइपुदा रात ।बालबच्चा घरमा कसलाई छाड्ने ? अर्मपर्म छैन् । कोसीमा पुल भएको भए कम्तिमा बाटो छोटिन्थ्यो ।

‘यहाँ भए पो भोट हाल्नु, घर पनि हेर्नै पर्‍यो, राँगाभैंसी हेर्नैपर्‍यो’, फुलकुमारी चन्द्रवंशीले भनिन्, ‘हाम्रै घरको पाँच जनामा ३ जना त जादैनन् ।’ चुनावका बेला मतदानका लागि मात्रै होइन, दैनिक जीवनयापनमा पनि टप्पुवासीलाई पीडा छ ।

यो क्षेत्रबाट पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्वउपप्रधान मन्त्री उपेन्द्र यादव, सुजाता कोइरालालगायतले निर्वाचन लडिसकेका छन् । मुलुकका हैसियत बनाएका राजनीतिक दलका नेताहरुको निर्वाचन क्षेत्र भएर पनि यहाँको अपेक्षित विकास हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्