लक्ष्यविहीन नेपाल – Online Khabar

लक्ष्यविहीन नेपाल – Online Khabar

[ad_1]

२८ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय प्रतियोगिताको इतिहास ३ दशक पुगिसकेको छ ।

माल्दिभ्समा आयोजित पछिल्लो संस्करणमा उपविजेता बन्नु नेपाल टिमको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

नेपालले अर्को महिना भारतको बैंगलुरुमा नयाँ संस्करणको साफ च्याम्पियनसिप खेल्दैछ ।

तर, साविक उपविजेता टिम नेपालको यसपल्ट कुनै ठोस लक्ष्य छैन । दक्षिण एसियाली क्षेत्रमा नेपालले आफ्नो दावेदार प्रस्तुत गर्न नसक्नुका प्रमुख तीन कारण छन् ।

आइतबार एन्फा मुख्यालय सातदोवाटोमा आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि प्रष्ट्याउने प्रयास गरे ।

कारण १ : खेलाडी पलायन

नेपालको फुटबलमा भविष्य नदेखेर विदेश पलायन हुने खेलाडीको संख्या पछिल्लो १ वर्षमा ह्वात्तै बढेको छ । एन्फासँग आधिकारिक तथ्यांक नभए पनि ८०/९० जना राष्ट्रिय खेलाडी विदेशिएको दावी गरिन्छ ।

यसले हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा मात्र होइन राष्ट्रिय टिमको सन्तुलनमै असर परेको छ । गत चैतमा नेपालले आयोजना गरेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल भुटानसँग इतिहासमै पहिलोपल्ट बराबरीमा रोकिनुले पनि राष्ट्रिय टिमको हविगतलाई पुष्टि गर्छ ।

लक्ष्यविहीन नेपाल – Online Khabar

आइतबार बिदाइ कार्यक्रममा खेलाडी पलायनबारे सोधिएको प्रश्नले कप्तान चेम्जोङलाई भावुक बनायो । उनी पलायनको समस्या देख्दा दुःख लाग्ने बताउँछन् ।

‘लिग भइरहँदा पनि खेलाडी पलायन रोकिएको छैन । पलायनको समस्या विकराल बन्न थालेको छ । सम्झिँदा पनि दुख लाग्छ,’ किरणले भने, ‘देशको प्रतिनिधित्व गरिरहेको छु, साथीहरु विदेश गएको सुन्दा हरेक समाचारले मनमा पीडा दिन्छ । आफ्नो पनि भोलि के हो त भन्नेजस्तो लाग्छ ।’

उनी यो समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायले बेलैमा योजना बनाउनुपर्ने बताउँछन् । अन्यथा अहिले राष्ट्रिय टिमका लागि तयार पारिएका खेलाडीले पनि आफ्ना सिनियरकै पथ पछ्याउनेमा उनको चिन्ता छ ।

कारण २ : कमजोर तयारी

६ असारदेखि भारतमा साफ च्याम्पियनसिप सुरु हुँदैछ । राष्ट्रिय टिमको एकीकृत प्रशिक्षण बल्ल २८ जेठ अर्थात् आज (आइतबार)देखि सुरु भएको छ । नेपाल टिम भोलि नै फिलिपिन्स प्रस्थान गर्दैछ ।

३२ जेठमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग शनिबारमात्र सकिएको छ । लिग नभएको समयमा रणनीतिक प्रशिक्षण गरी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नेपाल टिम तयार पारेका हुन् ।

एन्फाले साफको तयारीलाई प्राथमिकता नदिँदा क्लबहरुले पनि साफ तयारीका लागि राष्ट्रिय टिममा रहेका आफ्ना खेलाडी रिलिज गर्न तयार भएनन् । जसले प्रतियोगिताको तयारीमा असर गरेको छ ।

ठूला प्रतियोगिताका लागि कम्तिमा तीन महिनाको तयारी र एक्स्पोजरको आवश्यकता पर्छ । तर, नेपाल टिम एक साताको तयारी र एउटा मैत्रीपूर्ण खेलको भरमा साफमा उत्रिनेछ । कप्तान किरणले पर्याप्त तयारी नपाउँदा प्रतियोगिता चुनौतिपूर्ण हुने स्वीकार गरे ।

‘अहिले नेपाल फुटबलको अवस्था तपाईंहरु सबैलाई थाहा भएकै छ । साफ चुनौतिपूर्ण हुनेछ । नयाँ खेलाडीहरु धेरै छ, तयारी समय अत्यन्तै कम भयो । हामीसँग केहि समय हुन्थ्यो भने टिमको सन्तुलनमा काम गर्न सकिन्थ्यो,’ किरणले भने ।

कारण ३ : बलिया प्रतिस्पर्धी

क्षेत्रीय प्रतिस्पर्धा बढाउनका लागि साफले यस संस्करणदेखि मध्यपूर्वका आफूभन्दा माथिल्लो वरीयताका दुई टिमलाई आमन्त्रण गरेको छ । यसले प्रतियोगितामा प्रतिस्पर्धाको स्तर पक्कै बढ्नेछ तर, कमजोर तयारीमा रहेको नेपालको उपाधि सपना टाढा बनाइदिएको छ ।

फिफा वरीयतामा ९९औं नम्बरमा रहेको लेवनान र १४३औं वरीयतामा रहेको कुवेतसँग दक्षिण एसियाली टोलीले प्रतिस्पर्धा गर्नेछ । एसियन कप खेल्ने तयारीमा रहेको भारतसँगको जित कठिन भइरहेका बेला र भुटानले टक्कर दिइरहँदा नेपाल फुटबलका लागि चुनौति निश्चित हुनेछ ।

नेपालले समूह चरणमै बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्ने बाध्यता अर्कोतिर छ । समूहमा नेपालले कुवेत, भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले ६ असारमा कुवेत, ९ असारमा भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका छ । समूह बी मा लेवनान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

‘कुवेत र लेवनान पनि आएको हुनाले यो प्रतियोगिता धेरै नै प्रतिस्पर्धात्मक हुनेछ’, कप्तान किरणले बिदाइ कार्यक्रममा भने, ‘हम्रो समूह झन कठिन छ । प्रतिस्पर्धामा गइसकेपछि मानसिक रुपमा तयार हुनुपर्छ तर, अवस्था सहज छैन हामीसँग जति समय छ त्यसलाई नै उपयोग गर्नुपर्छ ।’

प्रशिक्षक एनेसले आफ्नो रणनीतिमा काम गरिरहेका खेलाडीबाट धेरै अपेक्षा गरेको बताएका छन् । ‘मैले मेरा खेलाडीबाट धेरै अपेक्षा गरेको छु । सबै खेलाडीले राष्ट्रिय टिमबाट खेल्नुको महत्व बुझेका छन् । सबैजना खेलमा पूर्ण केन्द्रित छन्, नतिजा र रणनीतिक योजनामा काम गरिरहेका छन्,’

‘हामीले जित्छौं भन्न सक्दिनँ’

पत्रकार सम्मेलनमा कप्तान किरण वास्तविकतामा केन्द्रित बने । पाँचौंपल्ट साफ खेल्न लागेका उनी टिमका सबैभन्दा अनुभवी खेलाडीमध्येका हुन् । टिमको अहिलेको अवस्थालाई हेर्दा उनले प्रतियोगिता जित्छौं भन्न नसकिने बताए ।

‘टिममा अहिले नयाँ खेलाडीहरु धेरै छन् । डेब्यू गर्न बाँकी खेलाडीहरु पनि छन् । हामीलाई धेरै नै चुनौति छ,’ कप्तान किरण भन्छन्, ‘हामीले जित्छौं भन्न सक्दिनँ । जति समय पाएका छौं, र नयाँ प्रशिक्षकका साथ जति बुझेका छौं त्यसका आधारमा एउटा नतिजाका लागि प्रयास गर्नेछौं ।’

प्रशिक्षक एनेसले साफका लागि केन्द्रित हुनुअघि फिलिपिन्ससँगको खेलमा ध्यान दिइरहेको बताए । टिमका नयाँ खेलाडीलाई सन्तुलन र प्रयोगका लागि पनि फिलिपिन्ससँगको खेल प्रशिक्षक एनेसका लागि महत्वपूर्ण छ ।

गत फागुनमा नेपाल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका एनेसको प्रशिक्षणमा नेपालले १७ चैतमा लाओसलाई हराएर प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको उपाधि जित्दा उनले नेपाल टिम र खेलाडीलाई राम्रोसँग बुझ्नै पाएका थिएनन् ।

त्रिदेशीय प्रतियोगिताको तुलनामा यसपल्ट टिममा अझै केहि परिवर्तन भएका छन् । उनले फिलिपिन्ससँगको नतिजाले साफलाई सहयोग पुग्ने अपेक्षा राखेका छन् ।

‘थ्री नेशन्स प्रतियोगिताको तुलनामा धेरै खेलाडीहरु परिवर्तन भएका छन् । त्यसैले फिलिपिन्ससँगको खेलमा हाम्रा खेलाडीको परीक्षण पनि हुनेछ,’ एनेसले थपे, ‘त्यसपछि मात्र साफको बारेमा भन्न सक्छु ।’

युरोपमा व्यावसायिक फुटबल खेल्ने खेलाडी रहेको फिलिपिनी टिमसँग नतिजामा भन्दा प्रदर्शनमा केन्द्रित रहने प्रशिक्षक एनेसको दाबी छ ।

फिलिपिन्समा पुगेर नेपाल टिमले खेलअघि दुई दिन अभ्यास गर्नेछ । फिलिपिन्सबाट भारत पुगेर थप तीन दिनको अभ्यासपछि कुवेतसँग पहिलो खेल खेल्नेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्