‘पार्टी अध्यक्षदेखि हामी सबै सुध्रिनुपर्छ’ – Online Khabar

‘पार्टी अध्यक्षदेखि हामी सबै सुध्रिनुपर्छ’ – Online Khabar

[ad_1]

१ जेठ, काठमाडौं । आमचुनाव–२०७९ पछि दुई महिने ग्रासरुट अभियान सकेको नेकपा एमालेले फेरि अर्को एक वर्षे कार्यक्रम अगाडि बढाएको छ । यो एक वर्षे अभियानले एमालेलाई नवजीवन दिने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ बताउँछन् ।

उनका अनुसार, एक वर्षे अभियानमा एमालेले मुख्यगरी संगठनको सुदृढीकरण र नेता–कार्यकर्तामा वैचारिक प्रष्टता ल्याउनेछ । तर मिसन भने अर्को चुनाव (०४८४ को आमनिर्वाचन) हुनेछ ।

संगठन गतिशील नहुनु र वैचारिक अस्पष्टता देखिनु पनि गत चुनावमा एमाले दोस्रो शक्तिमा खम्चनुको आन्तरिक कारण रहेको निष्कर्ष सुनाउने उपमहासचिव गुरुङ, अब एमालेको सम्पूर्ण पंक्ति गल्ती कमजोरी सच्याएर अगाडि बढ्ने बताउँछन् । ‘हामीले अहिले सुध्रिनुपर्छ भने तल (कार्यकर्ता) मात्रै भनेको छैन, केन्द्रीय कमिटी सुध्रिनुपर्यो । पार्टी अध्यक्ष सुध्रिनुपर्यो, म सुध्रिनुपर्यो, महासचिव सुध्रिनुपर्यो’, उनी भन्छन् ।

वैचारिक प्रष्टतामा एमाले अब चिनियाँ कम्युनिष्ट पार्टीजस्तै बन्नुपर्ने गुरुङ बताउँछन् । चीनमा नगरपालिकाका नेताले आधुनिक चीनको व्याख्या जसरी गर्छन्, त्यो व्याख्या पार्टीका महासचिवसँग मिल्छ । पोलिटब्यूरो सदस्यको पनि त्यही धारणा हुन्छ’ उनी भन्छन्, ‘हामीले पनि त्यस्तै बनाउने हो । मालेदेखि ५० सालसम्म हाम्रै पार्टीमा पनि त त्यस्तै थियो । सबैको व्याख्या एउटै थियो ।’

प्रस्तुत छ, एमाले प्रचार विभाग प्रमुख एवम् उपमहासचिव गुरुङसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

‘पार्टी अध्यक्षदेखि हामी सबै सुध्रिनुपर्छ’ – Online Khabarएमालेले संगठनात्मक शक्ति थप सुधारेर ०८४ को चुनाव जित्ने तयारी थालेको देखियो । तर हजुरबुवा पुस्ताका मान्छेलाई नेता बनाउन युवा पुस्ता कुनै राजनीतिक सन्देश बिना कसरी लाग्लान् ?

राजनीतिक सन्देश चाहिन्छ । संगठन भनेको सिद्धान्त बिनाको हुँदैन । पार्टीको सवभन्दा ठूलो शक्ति विचार हो । पार्टी सदस्य, नेता र संगठनको संख्या एउटा कुरा हो, तर मुख्य कुरा विचार हो ।

हाम्रो पार्टीमा विचारको समस्या छैन । हामीले लिएको जनताको बहुदलीय जनवाद भनेको नेपालका अरु पार्टीले लिएको भन्दा उत्कष्ट सिद्धान्त हो । उपयुक्त विचार र माक्र्सवादी दर्शन हो । तर अहिलेको बदलिदो परिस्थिति अनुसार, जबज अगाडि बढाउन हामीलाई डाइनामिक लिडर चाहिएको छ ।

शीर्ष नेतादेखि वडा र टोलसम्मका नेताले जबजको सिर्जनशीलतालाई बुझ्नुपर्यो । सिर्जनात्मकता र रचनात्मकतालाई बुझ्नुपर्यो । जबज कार्यान्वयन गर्न सक्षम नेतृत्व चाहियो ।

पुरानो सुत्र रटेर मात्रै जीवनमा परिवर्तन आउँदैन । सूत्रलाई व्यवहारमा कसरी रुपान्तरण गर्ने भन्ने डायनिक लिडरको आवश्यकता छ । त्यसका लागि एउटै मात्रै नेतृत्व भएर पुग्दैन ।

केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका, वडा र टोल कमिटीसम्म एउटै शैलीले हिड्ने पंक्ति चाहिएको छ । आज चिनियाँहरुले त्यसरी बुझेका छन्, अगाडि बढिरहेका छन् ।

त्यसैले हाम्रो पार्टीमा प्रशिक्षणको जरुरी छ भनेका छौं । पार्टी स्कूलहरु व्यवस्थित र डायनामिक हुनुपर्यो । जिल्ला तहका कमिटीले आधारभूत पाठ्यक्रम वर्षैभरी चलाउने, प्रदेश कमिटीले मध्यम तहको र केन्द्रले उच्च तहको पाठ्यक्रमका आधारमा प्रशिक्षण चलाउने हो ।

तर संविधानकै अन्तर्वस्तुको बुझाइदेखि समकालीन घटनाक्रममै पनि एमाले नेताहरुमा प्रष्टता देखिँदैन । जस्तो– पार्टी बैठकमा प्रदेश खारेजीको प्रस्तावदेखि टोपबहादुर रायमाझी पक्राउ प्रकरणसम्म ।

यसमा मिडियाकै बुझाइमा पनि समस्या देखियो । जसले हामीलाई प्रश्न गरिरहेको छ, उसले आफ्नै बुझाइबाट प्रश्न गरिरहेको छ ।

(बुझाइको समस्या) हामीमा पनि छ । जबज मान्छु भनेर मात्रै पनि नहुने रहेछ । जबजको बुझाइ र व्याख्यामा समानता भयो भने कार्यान्वयनमा समानता आउँछ । तर जबजको बुझाइमा नेताहरुमै समस्या छ ।

किनकि जबज नपढाएको धेरै वर्ष भइसक्यो । ०७१ सालदेखि जबज पढाइएको छैन । मसिनोगरी भन्दा ६३ सालको आन्दोलनपछि बन्द भएको छ । चुनाव हुनु, सांसद मन्त्री र प्रधानमन्त्री बन्नु नै जबज हो जस्तो भइरहेको छ ।

तर जबज त्यति मात्रै होइन । यसका सैद्धान्तिक र वैचारिक आयाम छ, त्यसको संगठनात्मक र व्यवहारिक पक्ष छ । राज्य सञ्चालन र समाजको लोकतान्त्रिकरण कसरी गर्ने भन्ने छ । विविधतायुक्त समाजलाई कसरी बुझ्ने भन्ने छ ।

सबैको बुझाइ समान हुनुपर्यो, व्याख्या एउटै हुनुपर्यो । त्यही त हो, वैचारिक एकता भनेको । हाम्रो कार्यक्रम एउटै छ, सिद्धान्त र दर्शन एउटै छ भने विचारमा अनेकता आउनुमा वैचारिक क्षेत्रमा काम हुन नसक्नु हो ।

चीनमा नगरपालिकाका नेताले आधुनिक चीनको व्याख्या जसरी गर्छन्, त्यो व्याख्या पार्टीका महासचिवसँग मिल्छ । पोलिटब्यूरो सदस्यको पनि त्यही धारणा हुन्छ । हामीले पनि त्यस्तै बनाउने हो । मालेदेखि ५० सालसम्म हाम्रै पार्टीमा पनि त त्यस्तै थियो । सबैको व्याख्या एउटै थियो ।

०४७ सालकै संविधानमा फरक मत राख्दै एमालेले लिएको कार्यक्रम विपरीत अहिलेको बैठकमा हिन्दू राज्य, प्रदेश संरचना खारेज जस्ता प्रश्न आउनुमा वैचारिक अस्पष्टता नै हो ?

हामीले २०४७ सालमा राखेको २७ बुँदे फरक मत २०६३ सालको संविधानमै उल्लेख गरिसक्यौं । अब त्यो भन्दा अगाडि बढेर सोच्नुपर्छ ।

तर पार्टीको राजनीतिक कार्यक्रम र मुलुकको संविधान भन्दा पनि नेताहरुले जे बोल्छन्, त्यसैआधारमा विचार बनाउने कार्यकर्ता उत्पादन गर्नुभएको छ । बदल्न सलिलो होला र ?

त्यसैले प्रशिक्षण चाहिएको । पार्टीको आधारभूत सिद्धान्त र दर्शन हुन्छ । हामीले ऐतिहासिक भौतिक र अतिरिक्त मूल्यको सिद्धान्तले के भन्छ भन्ने जान्नुपर्यो । वर्गको संघर्षबारे सबैले जान्नुपर्यो ।

तर यो बीचमा जबजबारे नपढाइएकाले नेताले जे बोल्छन्, त्यसैलाई आदर्श र सिद्धान्त मान्नुपर्ने ठाउँमा आइपुग्यौं । कसैले पनि पाना पल्टाएर जबज नपढ्ने भयो, माक्र्सवाद र लेनिनवाद नपढ्ने भयो । समस्या त्यहाँनेर हो । तर एमालेभित्र हामी अध्ययनको संस्कृति विकास गराउनेछौं । नियमित कक्षा चलेपछि अशल विचारलाई कसरी बुझ्ने प्रष्ट हुन्छ ।

भनेको एमालेमा अहिले देखिएको भीडभाड अब हट्छ ?

कक्षा चलाउन शुरु गरिसक्यौं । पार्टीमा आउनेहरु र भइरहेकाहरुलाई पनि वैचारिक प्रष्टता खाँचो छ । गैरकम्युनिष्ट पार्टीको महासचिव एमालेमा आउँदा केन्द्रीय सदस्य त बनाउनुपर्यो, तर उसले माक्र्सवाद बुझेको हुँदैन ।

गत चुनावमा पनि ५१ प्रतिशत मत ल्याएर पहिलो शक्ति हुने उद्देश्य लिनुभएको थियो, तर आएन । उपनिर्वाचनमा त सत्ता गठबन्धनको विकल्प एमाले रहेन भन्ने तपाइँहरुकै निष्कर्ष छ । यथास्थितिमै रहे आमामी चुनावमा पनि एमाले पहिलो शक्ति हुँदैन भन्ने निष्कर्ष हो ?

त्यसैले वार्षिक कार्यक्रम बनाएको हो । हामीभित्र कमजोरी रहेछ, त्यसैले दोस्रो पार्टी भएका रहेछौं भन्ने तथ्य सिमन ग्रासरुट अभियानबाट पत्ता लगायौं । अब मिसन योङको आवश्यकता पार्टीभित्र युवा ल्याउनलाई हो ।

पर्टीभित्र लोभीपापी जन्मिए, त्यसलाई करेक्सन गर्नुपर्ने भयो । त्यसलाई प्रशिक्षण आवश्यकता पर्यो । विचार सच्चिए मात्रै उसको व्यवहार सच्चिन्छ । अन्तर्घात अन्त्य गर्न त पहिले ज्ञान दिलाउनुपर्यो । सच्चिन नसक्नेलाई फाल्नुपर्यो । सुध्रिन सक्नेलाई सुधार्न पर्यो ।

मिसन ग्रासरुटमा जानुको उद्देश्य नै हारको कारण पत्ता लगाउनु थियो । ०४८, ०५१ या ०७४ सालको जस्तो जझारुपन देखाउन सकेको भए पार्टी पहिलो हुने रहेछ । ७५ प्रतिशत त धादली, सत्ताको दुरुपयोप र सारा शक्ति मिलेका कारणले भएपनि चुनाव हार्नुको बाँकी कारण पार्टीको आन्तरिक हो ।

पालिकामा ८२ सिट आफ्नै कारणले हार्यौं । २०६ मा ८२ जोड्दा २८८ हुन्थ्यो, तर हामीले हारेको सिट कांग्रेस र माओवादीमा गयो । यदि स्थानीय चुनावमै पहिलो पार्टी भएको भए आममनोविज्ञान अर्कै हुन्थ्यो नि ।

उपनिर्वाचनको नतिजा पनि एमालेको पक्षमा त आएन नि ?

उपनिर्वाचनमा हामीले गुमाएको तनहुँ मात्रै हो । जितेको त कही पनि थिएन । तर मत घटेको तनहुँमा हो । चितवनमा सुधार नै भयो । उपस्थिति नै नभएको बारामा पार्टी मत बढायौं ।

तनहुँमा मत घट्नुको कारण चाहिँ घण्टी मात्रै होइन । हाम्रो धेरै समस्या थिए । जिल्ला कमिटीमा नालायकीपन देखियो, कुनै योजना बनाएन । कुनै नयाँ उम्मेदवार बनाउन सकिएन । आमचुनावमा उम्मेदवार भइसकेकाले त्यहाँ लगियो । जनताको बीचमा हाम्रो उम्मेदवार भिजेका थिएनन् ।

तनहुँमा एउटा नभए अर्को विकल्पमा उम्मेदवार बन्ने नेता रहेनछ । पाँचै पालिकाले सर्वेन्द्र खनाल चाहिन्छ भनेर त्यहाँ पठाएको हो । तर ती कमिटीहरु पैसा आएन भने पाइला चालेन । पार्टी कमिटीको हालत यस्तो भइसकेछ, यो त गम्भीर समस्या हो ।

हामीले अहिले सुध्रिनुपर्छ भने तल (कार्यकर्ता) मात्रै भनेको छैन, केन्द्रीय कमिटी सुध्रिनुपर्यो । पार्टी अध्यक्ष सुध्रिनुपर्यो, म सुध्रिनुपर्यो, महासचिव सुध्रिनुपर्यो, स्थायी कमिटी र पोलिटब्यूरो सुध्रिनुपर्यो

अर्कातिर १८ देखि ३५ वर्षसम्मको जमातलाई हामीले एडुकेट नै गरेकै छैन, उनीहरुलाई रोजगार छैन, अभाव छ र गरीबी छ । त्यो असन्तुष्ट पंक्ति विदेशमा छन्, जसले नेपालको मत प्रभावित गरिरहेका छन् ।

विदेशमै बस्ने गरी गएकाहरुको माग हामीले सम्बोधन गर्न सकिरहेको छैनौं । दलहरुसँग उनीहरुले दोहोरो नागरिकता मागिरहेका छन् । नेपालमा प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री र मेयर नहोउला, तर राजनीतिमा भाग लिन पाऊ भनिरहेका छन् ।

आज चिनियाँहरु सिंगापुर, क्यानडा, अष्ट्रेलियाको नागरिक भइसके । चाइनिज क्यानेडियन, चाइनिज अष्ट्रेलियन भन्छन् । ली क्यान यू नै चीनबाट गएको हो । तर मुलुकको विकासका लागि सबै प्रवासी चिनियाँहरुलाई चीनमा लगानी गर्न बोलाएको छ । उनीहरुलाई विशेष सुविधासहित चीन बोलाइरहेको छ ।

तर हाम्रोमा राजनीतिक सहभागिता पनि सुनिश्चित गर्न सकेनौं । मैरै पार्टीले पनि गर्न सकेन । त्यसैले अब एनआरएनएलाई पनि एकप्रकारको आशाभरोसा दिनुपर्छ । उनीहरुले विदेशमा जे सिके, जे आर्जन गरे, त्यो हाम्रो मुलुकको विकासमा काम लाग्छ । तर उनीहरुलाई विश्वासमा लिने काम हामीले गर्न सकेनौं ।

त्यो असन्तोष चुनावमा पोखिरहेका छन् । नयाँ दलहरुले केही गर्छन् भन्दा पनि ठूला दलहरुसँग असन्तोषको विद्रोह गरेका हुन् । किनकि एमाले वा कांग्रेसको विकल्प रास्वपा बनाउन चाहेको भए ठूलो पार्टी भइहाल्थ्यो । भोलि बढ्न सक्ला, तर जनताले रास्वपालाई दोस्रो र तेस्रो पनि बनाएन । त्यसैले विकल्प खोजेको होइन, जनताले असन्तुष्टि पोखेका हुन् । एमालेका नेताहरु सुध्रिउन् भनेको हो ।

यसो भन्दा एमाले पंक्ति रिसाउलान्, तर म आफैं सुध्रिनुपर्छ । हाम्रा कार्यकर्ता सुध्रिनुपर्छ । किनभने हामी गतिशील मान्छे हौं, फलाम होइन । हामीमा खिया लाग्नु हुन्न । हामीमा खियाँ लाग्न थालिसक्यौं, सुध्रिनपर्यो । हामी सिद्धान्तबाट बिचलन हुँदै गएको हुनाले जनताले तर्साएको हो ।

तर एमाले नेताहरु सुध्रिएको पनि देखिन्न । टोपबहादुर रायमाझीकै केस हेर्दा पनि सुधारको संकेत देखिएन नि ?

त्यस्तो नहुनुपथ्र्यो, भयो । तर अहिले पनि टोपबहादुर आरोपित मात्रै हो, प्रमाणित भइसकेको छैन । त्यसैले हतार नगरौं । टोपबहादुर सामान्य मान्छे नभएर पार्टी सचिव भएकाले प्रश्न उठ्नु स्वभाविक छ । यसलाई बेठीक भनेका छैनौं ।

प्रहरीसामू आत्मसर्मपण गर भन्ने शब्द प्रयोग मात्रै नभएको हो । प्रहरीलाई सहयोग गर भनेको त आत्मसर्मण गर भनेकै हो नि । तर त्यो कुरा नमानेपछि निलम्बन गरेको हो ।

तर जुन नयाँ पुस्ताबारे चिन्ताका साथ एक वर्षे अभियान चलाउँदै हुनुहुन्छ, उनीहरुको आँखामा पुराना पार्टी सबै उस्तै भन्ने भाष्य….

यस्तो भाष्य त्यसै बनेका होइनन् । त्यो शक्तिको स्रोत कहाँ हो भन्ने पनि बुझ्नुपर्छ । शुरुमै हाम्रो अध्यक्षले त्यसको फिलोसोफी भन्नुभएको छ । नेपालका हरेक राजनीतिक पार्टीसँग आफ्नो फिलोसोफी छ, कार्यक्रम छ । उनीहरुमा (नयाँ राजनीतिक शक्तिहरु) केही छैन । उनीहरु प्रदेश सरकार खारेज हुनुपर्छ, निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ र प्रधानमन्त्री जनताले चुनेको हुनुपर्छ भन्छन् । यतिले मात्रै मुलुक चल्छ ? राज्य चल्छ ?

पुरानोहरुमा अयोग्यता देखियो, र सबै पुरानो पार्टी उस्तै हुन् भन्ने पारिदैछ । के सबै पार्टी उस्तै हुन त ? गुण र दोषका आधारमा एमालेको अरुसँग तुलना नै हुँदैन । अरु पित्तल हुन्, एमाले नम्बरी सुन हो ।

आज मुलुकमा सत्ता र प्रतिपक्ष दुवैको नेतृत्वमा कम्युनिष्ट पार्टी छ । संसारका महाशक्ति यो चिज भत्काउन चाहन्छ । किनकि १९औं शताब्दी यूरोपको, २०औं शताब्दी अमेरिका र अहिले २१औं शताब्दी एसियाको शताब्दी हो । त्यो एसियाको शक्तिमा भूगोलको हिसाबले नेपाल एउटा विशेष स्थानमा छ ।

महाशक्ति चीन र अर्को शक्ति भारतको बीचमा नेपाल छ । एसियन शक्तिको महानायक चीन हो, सहनायक भारत हो । यो दुई शक्तिको बीचमा वैरभाव नगर्ने शक्ति नरहोस् भन्ने चाहन्छ, त्यो शक्ति ।

तपाईँहरुले नचाहेको त्यस्तो नतिजा ०८४ को चुनावमा रोक्न सक्नु हुन्छ ?

हाम्रो कमजोरी सच्याइएन भने मिसन–५१ (एकल बहुमत) पुरा नहुन सक्छ । त्यस्तो भयो भने नेपालको राजनीतिलाई धमिलो बनाइरहन सक्छन् ।

उनीहरुको (बाह्य शक्ति) चाहना नै आफ्नो नियन्त्रणमा रहने शक्ति नेपालमा बन्नु हो । नेपाल स्थीर नहोस् भन्ने उनीहरुको फिलोसोफी छ । त्यसविरुद्ध लड्न पहिले हामी शक्ति बढाउनुपर्छ । एकल बहुमतको सरकार बनाउनुपर्छ ।

बिगतमा ६४ प्रतिशत भनेपनि प्राधिविक बहुमत थियो । दुई पार्टी मिलेर बनेपनि धेरै कुरा मिल्दैनथ्यो । रसायन सकिनासाथ छुटिहाल्यो । त्यसैले एमालेको बहुमत चाहिएको छ, जुन लक्ष्य भेटाउन मिसन ग्रासरुट चलाएर समस्या पहिचान गरेका छौं ।

त्यो समस्या हल गरेर अगाडि बढ्ने हो । अहिले पनि हिन्दू राज्य भन्नेहरु छन्, राजतन्त्र भन्नेहरु छन् । त्यसलाई मैले विजुलीको युगमा अगुल्टो बोकेर हिड्नेहरु भन्ने गरेको छु । खुलमखुला मुलुकलाई फेरि १९औं शताब्दीमा फर्काउनुपर्छ भन्ने देख्छु । यस्ता चुनौती सामना गर्नलाई एमाले नै बलियो बनाउनुपर्नेछ ।

नक्सा बनाएर मात्रै हुन्न, अहिले पनि लिम्पियाधुरा लिपुलेकमा हाम्रो चरिचरण छैन । त्यो त हुनुपर्यो नि ! एमाले बलियो शक्ति हुँदा मात्रै स्वाधिनता, सुशासन, समृद्धि र स्थीरता संभव हुन्छ ।

हामीले अहिले सुध्रिनुपर्छ भने तल (कार्यकर्ता) मात्रै भनेको छैन, केन्द्रीय कमिटी सुध्रिनुपर्यो । पार्टी अध्यक्ष सुध्रिनुपर्यो, म सुध्रिनुपर्यो, महासचिव सुध्रिनुपर्यो, स्थायी कमिटी र पोलिटब्यूरो सुध्रिनुपर्यो । माथि नुध्रिएसम्म तल पनि सुध्रिदैन ।

हाम्रो लेखनशैली, वाकशैली र जीवनशैली भिन्न हुनुपर्छ । हाम्रो पार्टीलाई नम्बरी सुन बनाइरहन अरु पार्टीका भन्दा हाम्रो नेता–कार्यकर्ता भिन्न हुनुपर्छ । व्यवहारमै अरु भिन्न देखिनुपर्छ । त्यसको थालनी हामीले गर्न खोजेको हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्