‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार’ – Online Khabar

‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार’ – Online Khabar

[ad_1]

२७ वैशाख, काठमाडौं । बृहत् नागरिक आन्दोलनले काठमाडौंमा बुधबार गरेको खबरदारी सभामा प्रदर्शित प्लेकार्डमध्ये एउटामा लेखिएको थियो– ‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार !’ सम्भवतः यसले अहिले चलिरहेको मुख्य नागरिक हिस्साको साझा धारणा व्यक्त गर्छ ।

भुटानी शरणार्थीका नाममा नेपालीहरुलाई अमेरिका उडाउने भन्दै ठगी गर्ने गिरोहमाथि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कारबाही चलाउन थाल्दा सुरुमा धेरैले यो अघि बढ्नेमा आशंका गरेका थिए । सत्ता साझेदार समेत रहेको संसदको सबैभन्दा ठूलो दल कांग्रेसका शक्तिशाली नेता बालकृष्ण खाँण नै यस क्रममा पक्राउ परिसकेपछि नागरिकहरु यो पहलप्रति एक हदसम्म आशावान देखिन थालेका छन् ।

काठमाडौंमा नागरिक आन्दोलनले गरेको जुलुसमा आधा आभारी, आधा खबरदारी त्यसै क्रममा व्यक्त भएको हो । शिक्षाविद् केदारभक्त माथेमाले आफू यो बुढेसकालमा सडकमा आउन नचाहे पनि देशमा अति नै भइरहेकाले बाध्य भएर आएको बताए । ‘कहिलेसम्म सहेर बस्ने, नागरिक आन्दोलनमा आएर ऐक्यबद्धता दिएको छु’, माथेमाले भने ।

सत्याग्रही गोविन्द केसीले शक्तिशालीहरुलाई उन्मुक्ति नदिन भन्दै कडा अभिव्यक्ति दिए । ‘नागरिकलाई अनागरिक बनाएर विदेश पुर्‍याउन चलखेल गर्नेलाई जनप्रतिनिधि भन्नुपर्‍यो । खासमा ती बेइमान हुन्, जनप्रतिनिधि यस्ता हुँदैनन्’, केसीले नागरिक आन्दोलनको सभामा भने ।

‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार’ – Online Khabar

सडकमा आन्दोलनकारीले आफ्ना आवाज राख्दै गर्दा सरकारले हाललाई शंकाको सुविधा पाएको देखिन्छ । कम्तीमा सत्तापक्ष या प्रतिपक्षका नाममा प्रहरीको अनुसन्धान कार्यलाई प्रभावित नपारिदिए हुन्छ भन्ने भावना त्यहाँ व्यक्त भयो ।

काठमाडौं मात्रै होइन, देशभरि नागरिक चासो बढेको देखिन्छ । खासगरी युवा पुस्ताले यो भ्रष्टाचार र ठगी प्रकरणलाई निकै चासोका साथ हेरेका छन् । अरु बेला हत्तपत्त नभेट्ने प्रतिस्पर्धी नेताहरु अकस्मात् दिनका दिन भेट्न थालेकाेप्रति उत्तिकै सन्देह र आक्रोश पनि व्यक्त भइरहेको छ ।

नागरिक खबरदारी चलिरहेकै समयमा बानेश्वरमा बसिरहेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले यस ठगी प्रकरणमा संलग्न देखिएकाहरुप्रति चलाइरहेको छानबिन र कारबाहीका लागि सरकारलाई धन्यवाद दिएका छन् । तर, यसले टुंगो पाउँछ भन्नेमा अझै पनि सन्देह नै व्याप्त छ । फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई एमालेले बुधबार सचिव पदबाट निलम्बन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका दाहिना मानिएका खाँण नै समातिइसकेपछि देउवाले आकस्मिक बैठक डाकेका छन् । कांग्रेसकै कतिपय नेताहरुले कुनै पनि भ्रष्टलाई छाड्न नहुने भन्दै सरकारी कदमको प्रशंसा गरिरहेका बेला ठूला तीन दल कांग्रेस, एमाले, माओवादी केन्द्रका अध्यक्षहरु बसेर कुनै अनुपयुक्त निर्णय गर्ने सम्भावना अनपेक्षित छ । प्रधानमन्त्री प्रचण्ड आफैंले भनेका छन्, ‘प्रहरीलाई अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति छ ।’

सोमबार राति गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर छलफल गरेका एमाले अध्यक्ष ओलीले सुरुमा आफ्नो दल लक्षित कारबाही अघि बढाउन खोजिएको हो कि भनेर आशंका गरेका थिए । उनले त्यस्ता आशंका सहित टिप्पणीहरुसमेत गरिरहेका थिए । तर कांग्रेस सभापतिकै निकटस्थ प्रभावशाली नेतामाथि प्रहरीले कारबाही थालेसँगै एमाले दबावमा पर्न गयो । मंगलबार सचिवालय बैठक गरेर पनि सांसद तथा पार्टी सचिव टोपबहादुर रायमाझीबारे अनिर्णित एमाले बुधबार दिउँसो वक्तव्य निकालेर पदबाट निलम्बनको घोषणा गर्न बाध्य भयो ।

एमालेले भनेको छ, ‘पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रुपमा आफ्नो यथार्थ स्पष्ट गर्न भनिएको थियो । तर, पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजोको बैठकले गम्भीरतापूर्वक लिंदै अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो ।’

हाल कम्बोडियामा रहेका विश्लेषक विष्णु सापकोटाले अहिले काठमाडौंमा चलिरहेको प्रहरी अनुसन्धानका क्रममा भइरहेको प्रगतिप्रति सराहना व्यक्त गरे । चलिरहेको कारबाहीले निष्कर्ष पाउनेमा उनका आशंकाहरु त्यत्तिकै छन् । अहिलेसम्म राष्ट्रवाद र राष्ट्रियताका बारेमा चर्का कुरा गर्दै आएका नेताहरु नै नेपालीलाई नक्कली भुटानी बनाउने अभियानमा संलग्न भएको भन्दै सापकोटाले आपत्ति जनाए ।

‘राष्ट्रवादको राजनीति नै नक्कली रहेछ भन्ने पुष्टि भयो’ सापकोटाले भने, ‘सबै भ्रष्टाचार निन्दनीय हुन्, तर शरणार्थीका नाममा यतिसम्म गर्न सक्नेले अरु के के गर्न पो बाँकी राखे होलान् ?’

मन्त्रीहरु आफू अनुकूल सचिव किन खोज्छन् भन्ने दृष्टान्त बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतका नेताहरुबाट खुलस्त हुन आएको भन्दै सापकोटाले सत्तापक्ष, प्रतिपक्ष सबैतिरका शीर्ष नेता तारन्तार यसै विषयमा भेटिरहनुलाई आपत्तिजनक माने ।

‘अनुसन्धान चलाउनु र कारबाही थाल्नु राम्रो, तर विगतमा थुप्रै काण्डहरुमा मुछिएका अनुहारहरुलाई दलीय सहमतिका नाममा उन्मुक्ति दिएका दृष्टान्त समेत भएकाले अहिले नै सम्पूर्ण रुपमा दृष्टिकोण बनाउनु हतारो हुन्छ’, सापकोटाले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्