मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठीबास लाग्छ

मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठीबास लाग्छ

[ad_1]

२ चैत, काठमाडौं । दैलेखका ३८ बर्षीय गणेशबहादुर नेपाली भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ओपीडी कक्ष बाहिर चिकित्सकको पालो कुरिरहेका छन् । छेउमा श्रीमती सिरा मलिन अनुहार लिएर ४ बर्षीय छोरा च्यापेर बसेकी छिन् । गणेश जीवन–मरणको छटपटीमा छन् ।

सिरा नेपाली आफ्ना श्रीमान्को पीडा न हेर्न सक्छिन्, न लुकाउन नै । ‘गरीब भएपछि कहाँ सुखपूर्वक बाँच्न सकिँदो रहेछ र ! उपचार गर्दा लाखौं पैसा सकियो । तर, अझै पनि उहाँलाई निको पार्न सकिएन’ सिराले भनिन् ।

नेपाली दम्पती २०७८ मंसिरदेखि केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि पालो कुरेर बसेका छन् । तर, प्रत्यारोपण कहिँले हुन्छ, निश्चित छैन ।

दैलेखमा बनिबुतो गरेर जीविका चलाउँदै आएका थिए, गणेश । बेलाबेलामा पेट असाध्यै दुख्ने । नजिककै स्वास्थ्य केन्द्रबाट लिएको ‘पेनकिलर’ खाएर जेनतेन दुखाइ मार्दै गए । एक–दुई महिना होइन, त्यो दुखाइ सात महिनासम्म पनि सहेर बसे । शरीरलाई रोगले गलायो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेपछि डाक्टरले भने, ‘मिर्गौलामा ठूलो ढुंगा छ, अप्रेसन गरेर निकाल्नुपर्छ ।’

छरछिमेकबाट सापटी गरेर ल्याएको पैसाले ०७४ वैशाखमा अप्रेशन पनि गराए । तर, त्यसको एकबर्ष नपुग्दै हात–खुट्टा सुनिँदै गए । गाउँघरकाले जण्डिस भयो होला भने । निको बनाउन घरेलु जडिबुटी खाए । तर, बीसको उन्नाइस भएन । झन् शरीर अस्वाभाविक रूपमा सुन्निन थाल्यो । उनी आत्तिदै पुनः नेपालगञ्ज मेडिकल कलेज पुगे । एक्सरे गरे, दुवै मिर्गौला फेल भएछन् ।

‘मिर्गौलामा भएको ढुंगाको कारणले फेल गराइसकेको रहेछ । एउटा मिर्गौलामा त संक्रमण फैलिएर निकाल्नै प¥यो’ गणेशले भने । चिकित्सकले तुरुन्तै डायलासिस गर्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा केही महिना डायलासिस गरे ।

त्यसपछि, कलंकीको नेशनल अस्पतालमा तीन महिना डायलासिसको सहारामा बाँचे । नेपालमा कोरोना महामारीका कारण लकडाउन सुरू भयो । त्यसपछि सुर्खेत अस्पतालमा केही महिना डायलासिस गराएर बसे । यही बीचमा गणेशको परिवारमा अर्को बज्रपात प¥यो । गोरु चराउन गएको बेलामा भिरबाट खसेर उनका बुबाको मृत्यु भयो ।

‘गरीबलाई दुःख माथि दुःख थपियो । म अस्पतालमा हुँदा बुबाले जसोतसो घरपरिवार चलाउनुभएको थियो । अब घरमा कमाइ गरेर परिवार पाल्ने मान्छे पनि भएन’, गणेशले दुःखका दिन सम्झँदै भने ।

त्यतिबेला, सिराको गर्भमा शिशु हुर्किदै थियो । घरमा काम गर्ने मान्छे भएन । अब के गर्ने ? ‘डायलासिस गरेर जीवन लम्ब्याउने मात्रै हो । प्रत्यारोपण गर्न पाइयो भने त, काम गर्न सकिन्छ र परिवार पाल्न सकिएला कि !’ गणेशको मनमा आशा छ ।

घर परिवारमा सल्लाह भयो । कसले मिर्गौला दिने ? श्रीमती गर्भवती भएकाले त्यसबेला आमा मिर्गौला दिन राजी भइन् । काठमाडौं आएर चेकजाँच गर्दा आमाको मिर्गौला मिलेन ।

मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठीबास लाग्छ
गणेशबहादुर नेपाली पत्नी र छोराको साथमा ।

उनी डेढ बर्षदेखि नेशनल किड्नी सेन्टरबाट हप्ताको तीन पटक डायलासिस गराइरहेका छन् । डायलासिसकै लागि अस्पताल नजिकै कंलकीमा कोठा भाडामा लिएर बसेका उनले औषधि र खानामा धेरै रकम खर्च गरिरहेका छन् ।

‘सरकारले दिएको डायलासिस मात्रै निःशुल्क हो । थोरै औषधि किन्नुपरेपनि आफ्नै खल्तीको पैसा हाल्नुपर्छ । साथीभाइको सहयोगबाट केही पैसा जुटेको थियो । त्यो पनि सकियो’, गणेश भन्छन् । चार बर्षदेखि औषधि उपचारमा २० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको उनी बताउँछन् ।

‘अब ऋण कसैले पनि पत्याउँदैनन् । माग्ने ठाउँ पनि बाँकी छैन’ सिरा भन्छिन् । छोरा जन्मिएको एक वर्षपछि अहिले श्रीमती मृर्गौला दिन प्रतिक्षामा बसिरहेकी छिन् । मिर्गौला ‘लगभग’ मिलेको छ । अब अन्तिम परीक्षण मिलेको अवस्थामा चैतको अन्तिममा प्रत्यारोपण गर्न सकिने चिकित्सकले बताएका छन् । त्यही परीक्षणको रिपोर्टको फओअपका लागि उनीहरु प्रत्यारोपण केन्द्र पुगेका थिए । घरमा ७० बर्षीय आमा, चार छोरी र एक छोरा छोडेर प्रत्यारोपणको प्रतिक्षामा छन्, उनीहरु ।

‘अनेक दुःख, कष्ट भोग्नुपर्ने रहेछ । अघिल्लो साल (२०७८) मंसिरदेखि प्रत्यारोपणका लागि दौडिरहेको छु’, उनी भन्छन्, ‘अरु साथीहरुले प्रत्यारोपण गरेर हिँडेको देख्दा आफ्नो पनि चाँडै भएदिए जस्तो हुन्छ । प्रत्यारोपण भएमा मजदुरी गरेर नि छोरीहरुको बिहे गरिदिने धोको छ ।’

मृर्गौलाले उजाडिएको परिवार

मंगलबार दिउँसो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकक्ष अगाडि नवलपरासी पूर्वका ७० बर्षीय रामचन्द्र सापकोटा भेटिए । उनी कान्छो छोराको मिर्गौला प्रत्यारोपणका लागि सोमबार राति काठमाडौं आइपुगेका रहेछन् । ‘बुढेसकालको एक मात्र सहारा यही कान्छो छोरा हो । यसलाई बचाउन सकिन्छ कि, भनेर आएको’ सापकोटाले मलिन स्वरमा भने ।

सापकोटाको जिन्दगीमा धेरै उतरचढाव आए । मिर्गौला फेल भएर २०६० सालमा जेठो छोराको मृत्यु भयो । त्यसबेला नेपालमा प्रत्यारोपण सम्भव थिएन । भारत गएर प्रत्यारोपण गर्ने सापकोटाको आर्थिक हैसियत थिएन । जेठो छोराको मृत्युले आमा विछिप्त थिइन् । बर्षौंदेखि उच्च रक्तचाप समस्या झन् बढ्दै गयो । जसले मुटुको भल्भ, मिर्गौला लगायतका अन्य अंगमा समस्या देखियो । सापकोटाले काठमाडौं ल्याएर औषधि गरे । भरतपुरमा डायलासिस गर्दै–गर्दा ०७५ सालमा श्रीमतीले पनि उनलाई छोडेर गइन् ।

सापकोटाले त्यतिबेलासम्म चार छोरीको विहे गरिसकेका थिए । २६ बर्षीय कान्छो छोरा (सन्तोष) स्नातक तह अध्ययन गर्दै थिए । तर, उनलाई जण्डिस देखियो । शरीरले पिसाबबाट प्रोटिन फाल्न थाल्यो । चितवन मेडिकल कलेजका चिकित्सकसँग फ्लोअपमा बसे । केही समयपछि मिर्गौलाले काम गर्न छाडेको चिकित्सकले बताए ।

सामाजिक सञ्जालमा आयुर्वेदिक औषधिले मिर्गौलाको समस्या निको पार्न सकिने बारेमा लेखिएको पढे । ०७८ फागुनमा दिल्लीका केही आयुर्वेद अस्पताल पुगे । करिब दुई महिना आयुर्वेदिक औषधि पनि खाए । तर, रोगले च्याप्दै गयो । आयुर्वेदिक औषधि छोडेर २०७९ जेठदेखि भरतपुर अस्पतालमा डायलासिस गराइरहेका छन् ।

७० बर्षीय रामचन्द्र मिर्गौला दिएर छोरालाई जीवन बचाउने कोशिसमा छन् । तर, प्रत्यारोपण केन्द्रमा पुगेका उनीहरू न समयमा डायलासिस गर्न पाउँछन् न प्रत्यारोपणको पालो । दुई दिन अगाडि डायलासिस गराएका सन्तोषलाई भोलि पुनः डायलासिस गर्नुपर्छ ।

बुधबारदेखि निरन्तर डायलासिस गरिदिन सापकोटा अस्पताल प्रशासनलाई हारगुहार गरिरहेका थिए । तर, अस्पतालको आफ्नै बाध्यता छ । ‘हामीसँग डायलासिस मेसिन सीमित छन् । निरन्तर डायलासिस गराइरहेका बिरामीलाई निकाल्न मिल्दैन । नाम लेखेर जानुहोस् । खाली भए खबर गर्छौं’ अस्पताल प्रशासनको जवाफ थियो ।

निजी अस्पतालमा डायलासिस गर्ने आर्थिक क्षमता सापकोटाको छैन । सरकारी अस्पतालमा पालो पाउन बर्षौं कुर्नुपर्ने बाध्यता छ । अहिले रामचन्द्र काठमाडौं आउनुको उद्देश्य छोरालाई मिर्गौला दिएर अर्को जीवन दिन सकुँ भनेर हो । त्यसैले प्रत्यारोपणका लागि उनले नाम टिपाएका छन् । तर, उनको पालो आउन ६ महिनाभन्दा धेरै लाग्छ । किनकी, उनीहरु भन्दा अगाडि केन्द्रमा सय जना प्रत्यारोपणको पालो कुरेर बसेका छन् ।

मिर्गौला रोगको उपचारका लागि नै उनले नवलपरासी पूर्वमा भएको आफ्नो घर, जग्गा बेचे । अहिले उनी आफन्तको सहयोग र केही चन्दा मागेको पैसाका भरमा कान्छो छोराको जीवन बचाउन लागेका छन् ।

‘ठूला नेतालाई विदेशमा उपचार गर्न सरकारले लाखौं पैसा दिन्छ । हामी गरिबलाई उपचार गर्न पालो नपाएर मर्नुपर्ने अवस्था छ’, सापकोटाले दुखेसो पोखे ।

प्रत्यारोपणको लम्बिँदो पर्खाइ

३३ बर्षीय अनुजा राना पनि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मिर्गौला प्रत्यारोपणका लागि पालो कुरेर बसेकी छिन् । २०७४ सालमा अध्ययनको लागि अनुजा जापान गएकी थिइन् । दुई बर्षमा उनलाई काममा जाँदा रिंगटा लाग्ने, हात–खुट्टा सुन्निने र शरीर थाक्ने लगायतको समस्या देखियो । नजिकै क्लिनिकका चिकित्सकले मिर्गौलामा समस्या देखिएको भन्दै अस्पताल जान सुझाव दिए । परीक्षणको क्रममा पुष्टि भयो–दुवै मिर्गौला फेल ।

जापानमै डायलासिस गरेर बस्न सम्भव थिएन । प्रत्यारोपणका लागि दाता थिएनन् । उनी २०७७ फागुनमा नेपाल फर्किन् । त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराइन् । चिकित्सकले औषधि लेखिदिए । चार महिनाको नेपाल बसाइपछि भिसा नवीकरणका लागि पुनः जापान फर्किन् । गत वैशाखमा नेपाल फर्किएकी राना भदौदेखि डायलासिस गराइरहेकी छिन् ।

५५ वर्षीया आमा उनलाई मिर्गौला दिन तयार छिन् । उनको पनि ‘क्रस म्याच भेरिफिकेसन’ गर्न बाँकी छ । गएको साउनमै प्रत्यारोपणको लागि अस्पतालमा नाम टिपाएकी रानाको प्रत्यारोपणको अन्तिम तयारी हुँदैछ । चिकित्सकले एक महिनाभित्र प्रत्यारोपण गर्ने संकेत गरेका छन् । ‘प्रत्यारोपणको तयारी गर्नका लागि करिब ६ महिनाभन्दा बढी लाग्यो । खै ! अब चाँडै हुन्छ कि भन्ने आशामा छु’, उनले भनिन् ।

यस्तै, चावहिलस्थित ओम अस्पतालमा सप्तरीका ५१ बर्षीय सञ्जय थापाको डायलासिस चलिरहेको छ । अहिले थापा दम्पती नै अस्पताल छेउ (गौरीघाट) डेरामा बसिरहेका छन् । प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा गएको साउनमा नाम टिपाएका थिए । प्रत्यारोपणका लागि श्रीमतीको सबै परीक्षण मिल्दै गएको छ । अबको दुईवटा रिपोर्ट राम्रो आए चैतको अन्तिममा प्रत्यारोपण गर्ने चिकित्सकको तयारी छ ।

थापा सप्तरीमा व्यापार–व्यवसाय गर्दै आएका थिए । उनीमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । उच्च रक्तचापको औषधिको मात्रा बढी हुँदा मिर्गौलामा समस्या देखिएको चिकित्सकले बताएका छन् । ‘घर परिवारमा मधुमेहको समस्या छ । उहाँलाई वंशाणुगत समस्या सरेछ’ श्रीमती रञ्जना भन्छिन्, ‘डायलाइसिसमा बस्दा आर्थिकदेखि मानसिक तनाव बढी हुने । अब प्रत्यारोपण गरेपछि जीवन चलाउन सहज हुन्छ कि !’

६ हजार ५ सयको डाइलाइसिस

मिर्गौला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलसिस गरेर बाँच्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सरकारी र निजी अस्पतालमा गरी हालसम्म २ हजार १८० जनाको प्रत्यारोपण भएको छ ।

विज्ञका अनुसार नेपालमा बार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ । जसमध्ये ६ हजार ५३४ जना हेमोडायलासिस र २२६ जना पेरिटोनियल डायलासिसको भरमा जीवन लम्ब्याइरहेका छन् ।

यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्रै हो । कतिपय बिरामी स्वास्थ्य उपचारमा पहुँच नपुग्दा र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार हालसम्म १५ अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका छन् । सरकारी कार्यक्रम भित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र विराटनगरको नोबेल मेडिकल कलेज समावेश भएका छन् ।

ती बाहेक ग्राण्डी, नर्भिक, ललितपुरका किस्ट, सुमेरु, मेडिसिटी, निदान अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन लगायतका अस्पतालले भने सरकारी कार्यक्रममा समावेश नभई आफूले तोकेको दरमा प्रत्यारोपण सेवा दिइरहेका छन् । निजीमा प्रत्यारोपण गर्न बिरामी स्वयंले लाखौं रुपैयाँ खचिनुपर्ने हुँदा थोरै संख्यामा मात्रै त्यहाँ प्रत्यारोपणका लागि पालो पर्खनेहरु छन् ।

तर, सरकारी अस्पतालमा भने बिरामीको चाप थेगिनसक्नु छ । अस्पतालका तथ्यांकले नेपालमा जीवित व्यक्ति (लाइभ डोनर) बाट मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा ६ महिनादेखि एक बर्षसम्म पालो कुर्नुपर्ने बाध्यता देखाउँछ ।

नेपालमा प्रत्यारोपण सेवा ०६५ सालबाट सुरू भएपनि अझैसम्म सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन । १० वर्षअघि अर्थात ५ माघ ०६९ देखि सेवा गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबैभन्दा बढी एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालको तथ्यांक अनुसार (लाइभ डोनर) मिर्गौला लिनका लागि १०० जना पालो कुरेर बसेका छन् । यसैगरी, मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिन ७४४ जनाले फर्म भरेका छन् ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिलेकोे चापलाई हेर्दा अब आउने बिरामीले प्रत्यारोपण गर्न कम्तीमा पनि ६ महिनाभन्दा बढी पालो कुर्नुपर्ने बाध्यता छ ।’

केन्द्रका अनुसार हालसम्म ५ जना मस्तिष्क मृत्यु भएका मानिसले मात्रै अंगदान गरेका छन् । जसबाट मिर्गौला १० र कलेजो तीन गरी १३ जनाले पुनः जीवन पाएका छन् । मस्तिष्क मृत्युबाट हुने अंग कम प्राप्त हुँदा फर्म भरेका व्यक्तिले कहिले पाउँछन् भन्ने कुनै टुंगो छैन ।

उता त्रिवि शिक्षण अस्पतालमा पनि प्रत्यारोपण गर्ने बिरामी ८९ जना पालो पर्खिएर बसेका छन् । १४ वर्ष अगाडिदेखि नै प्रत्यारोपण सेवा सुरू गरेको त्रिविले हालसम्म ७५५ जनाको प्रत्यारोपण गरेको छ । चिकित्सकका अनुसार त्रिविमा पालो पाउन ६ महिनादेखि एक बर्षसम्म पर्खिनुपर्छ । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले भने १४ बर्षमा १८५ जनाको प्रत्यारोपण गरेको छ । हाल अस्पतालमा १४ जना प्रत्यारोपणको प्रतीक्षामा छन् । अहिले वीरले गरिरहेको प्रत्यारोपणको गतिलाई हेर्दा नयाँ बिरामीको पालो आउन कम्तीमा पनि तीन महिना कुर्नुपर्छ ।

‘माग अनुसार सेवा भएन’

मिर्गौला दाताको अभाव, अप्रेसन थिएटर, कानुनी अड्चन, निजीमा महंगो सेवा, प्रत्यारोपणपछिको महंगो औषधि खर्च लगायत कारणले गर्दा नै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् ।

वीर, टिचिङ, मानव अंग प्रत्यारोपण केन्द्र जस्ता सरकारी अस्पतालमा मिर्गौला बिरामीहरूको ठूलो चाप छ । यस्ता ठाउँमा बिरामीले भन्नेवित्तिकै ठाउँ नपाउनु स्वभाविक पनि हो ।

वीर अस्पतालमा प्रत्यारोपणका लागि बेग्लै अप्रेसन थिएटर छैन । मिर्गौला सर्जन डा.पारस श्रेष्ठका अनुसार प्रत्यारोपण हप्तामा एक दिन मंगलबार एक जनाको मात्र गर्ने गरिन्छ । त्यो पनि, कार्डियो भास्कुलर अप्रेसन थिएटरको पालो मिलाएर ।

वीरमा चार सर्जन र तीन नेफ्रोलोजिस्टको टिम कार्यरत छ । तर, अस्पतालमा आवश्यक उपकरण र अप्रेसन थिएटर नहुँदा शल्यक्रिया चाहेर पनि गर्न नसकिएको श्रेष्ठको जिकिर छ । ‘अस्पताल प्रशासनले पर्याप्त मात्रामा अप्रेसन थिएटर दिँदा हप्ताको तीन जनाको प्रत्यारोपण गर्नसक्ने क्षमता छ’, डा. श्रेष्ठ भन्छन् ।

अस्पतालमा हाल १७ डायलाइसिस मेसिन र तीन आईसीयूबाट प्रत्येक हप्ता झन्डै तीन सयले डायलासिस गर्दै आएको तर प्रत्यारोपण भने ज्यादै न्यून भएको डा. श्रेष्ठ स्वीकार गर्छन् । उनी भन्छन् ‘सरकारी अस्पतालमा प्रत्यारोपण गर्न बिरामीको आकर्षण बढ्दो छ । तर, त्यस अनुसारको सेवा डेलिभर गर्न सकेका छैनौं ।’

वीरका अर्को मिर्गौला सर्जन डा. रविनकुमार बस्नेतका अनुसार प्रत्यारोपणको लागि छुट्टै जनशक्ति र आवश्यक उपकरण नहुँदा प्रत्यारोपणले तीव्रता पाउन सकेन । ‘वीरमा युरोलोजीका धेरै शल्यक्रिया हुन्छन् । त्यसमध्ये मिर्गौला प्रत्यारोपण एक हो’, डा. बस्नेत भन्छन्, ‘प्रत्यारोपण गर्नुपर्ने बिरामी धेरै छन् । त्यो अनुसारको हामीसँग आवश्यक उपकरण छैन ।’

कोरोना, सरकारी बिदा र प्रत्यारोपणका लागि तयार पारिएका बिरामीमा अप्रेसनको बेलामा स्वास्थ्य समस्या देखा पर्दा नियमित प्रत्यारोपण गर्नमा कठिनाइ भएको चिकित्सक बताउँछन् । वीरमा हप्तामा एक दिन आउने पालोमा पनि एक बिरामीको मात्रै प्रत्यारोपणको तयारी हुन्छ । कुनै कारणवश उक्त प्रत्यारोपण रोकिए अर्को हप्तालाई सर्ने गर्छ । ‘शल्यक्रियाका लागि एक बिरामी मात्रै तयार गरिन्छ । केही समस्या देखिए रोक्नुपर्ने र फेरि अर्को हप्तासम्म कुर्नुपर्ने बाध्यता छ’, डा. बस्नेत भन्छन् ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पतालमा पनि अप्रेसन थिएटरको अभावमा हप्तामा दुई जना बिरामीको मात्रै प्रत्यारोपण गर्न सकिएको मिर्गौला विशेषज्ञ डा.दिव्या सिंह शाह बताउँछिन् । अस्पताल प्रशासनले मिर्गौला प्रत्यारोपणका लागि हप्ताको एक दिन बुधबार अप्रेशन थिएटर उपलब्ध गराएको छ ।

‘हप्तामा तीन दिन अप्रेशन थिएटर उपलब्ध गराउँदा हामीले ६–७ जनाको प्रत्यारोपण गर्न सक्छौं । अहिले भएको चाप घटाउन सकिन्थ्यो । तर, भौतिक पूर्वाधार पुरानो भएकाले अहिले थियटर पाउन मुस्किल छ’, डा. शाहले भनिन् ।

त्रिवि शिक्षण अस्पताल आफैंले जनशक्ति उत्पादन गर्दै आएकाले मिर्गौला सर्जनको कमी नभएको शाहले बताइन् । डा. शाहका अनुसार प्रत्यारोपण कम हुनुमा अंग दिने दाता नै कम हुनु, आफन्तले मिर्गौला दिन मानेपनि म्याचिङ नहुनु वा बिरामी आफैं मिर्गौला लिनका लागि फिट नहुनु जस्ता कारण छन् ।

‘धेरै कम बिरामीको आफन्तहरू दाताको रुपमा योग्य हुन्छन् । त्यसमा स्वेच्छाले अंग दान दिन स्वीकार गर्छन् । तर, विभिन्न लिने र दिने मानिसबीच मिर्गौला फिट नहुँदा धेरै जनाको प्रत्यारोपण गर्न सकिँदैन्’, डा. शाहले थपिन् ।

मिर्गौला सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सरकारले डायलासिसमा भन्दा प्रत्यारोपणमै जोड दिनुपर्ने बताउँछन् । ‘प्रत्यारोपणको पालो नपाएपछि बिरामीहरु डायलासिसमा जानुपर्ने बाध्यता छ । तर, डायलासिस गरेपछि प्रत्यारोपण गर्नुभन्दा पहिलै प्रत्यारोपण गर्न गएको बिरामीको नतिजा राम्रो देखिएको छ’, डा. श्रेष्ठ भन्छन् ।

सरकारले डायलासिस सेवा निःशुल्क दिएका कारण पनि बिरामी चाँडै प्रत्यारोपणमा जान रुचि नदेखाएको चिकित्सकको भनाइ छ । प्रत्यारोपण केन्द्रमा चारवटा अप्रेसन थिएटर मात्रै भएकाले प्रत्यारोपणलाई अझै तीब्रता दिन नसकिएको डा. श्रेष्ठ जिकिर गर्छन् ।

‘केन्द्रमा भएको चाप घटाउन भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ । प्रत्यारोपणमा गएपछि बिरामी धेरै समय बाँच्ने वा उसको जीवनस्तर राम्रो हुने भएकाले सरकारले प्रत्यारोपण सेवा सातै प्रदेशमा फैलाउन आवश्यक छ’, उनी भन्छन् ।

‘डायलाइसिस’ झन् महंगो

मिर्गौला फेल भएपछि उपचारका दुईवटा मात्र विकल्प रहन्छन्, डायलाइसिस र प्रत्यारोपण । नेपाल सरकारले पछिल्लो समय विपन्न नागरिक उपचार कोष अन्तर्गत यी दुवै सेवा निःशुल्क गरेको छ ।

प्रत्यारोपणका लागि मिर्गौलादाता बिरामीको नजिकको नातेदार नै हुनुपर्ने कानुनी प्रावधान छ । यस प्रावधानका कारण पनि प्रत्यारोपण सहज हुन सकिरहेको छैन । यद्यपि, विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

प्रत्यारोपण गर्न सहज नहुँदा साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलाइसिसमा बिरामीको चाप बढ्दै गएको छ । उसो त, प्रत्यारोपणपछि बिरामीले नियमित रुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । जुन सर्वसाधारण नेपालीको पहुँचमा छैन ।

प्रत्यारोपणपछि खाने औषधि महँगो भएकै कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलाइसिसबाटै जीवन लम्ब्याइरहने अवस्था आएको मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् ।

हाल सरकारले प्रतिव्यक्ति एकपटक डायलासिस गरेको २ हजार ५ सयको दरले स्वास्थ्य संस्थालाई भुक्तानी दिँदै आएको छ । हाल डायलासिस वापत बार्षिक रूपमा सरकारले एक अर्ब ४४ करोड रुपैयाँ खर्च गर्छ । प्रति व्यक्ति डायलासिसमा मात्रै सरकारले बार्षिक १२ लाख रुपैयाँ खर्च व्यहोर्छ ।

तर, चिकित्सकका अनुसार प्रत्यारोपणभन्दा डायलासिस सेवा झन् महंगो बन्दै गएको छ । बिरामी डायलासिसमा रहँदा रक्तचाप, मधुमेहलगायत अन्य स्वास्थ्य समस्याको औषधिमा छुट्टै खर्च हुन्छ । त्यसमाथि खानपान र घर बाहिरको बसाइ थप खर्चिलो हुन्छ ।

त्यतिमात्रै होइन, डायलासिसमा रहँदा बिरामीलाई एक जना साथी अनिवार्य हुनुपर्छ । परिवारका दुई जना उपचारमा जाँदा आय आर्जनको चक्र बिथोलिन्छ । ‘एउटा व्यक्ति मिर्गौला बिरामी भयो भने उसले त कमाउन सक्दैन, अर्को एक व्यक्ति पनि आफ्नो कामधन्दा छाडेर साथमै रहँदा त्यो परिवार सडकमै पुग्छ’, डा. काफ्ले भन्छन्, ‘तर, प्रत्यारोपणपछि सरकारले खाने औषधिमा सहुलियत मात्रै दिने हो भने धेरै बिरामी प्रत्यारोपणमा आकर्षित हुन्छन् ।’

सरकारले पनि मिर्गौला उपचारमा ठूलो लगानी गरेको छ, तर यसलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरु बताउँछन् । प्रत्यारोपणको गति बढाउन निजी अस्पताललाई पनि केही सहज वातावरण बनाउन सरकार लाग्नुपर्ने डा. काफ्लेको तर्क छ ।

‘सरकारी अस्पतालमा पालो कुरेर बस्दा–बस्दै बिरामीको मृत्यु हुन्छ । सरकारले ४ लाख प्रत्यारोपणका लागि दिँदा थप व्यक्तिले केही रकम खर्चिएर निजीमा गर्न सक्ने प्रावधान गर्दा धेरै बिरामीले छिटो सेवा पाउँछन्,’ डा. काफ्ले भन्छन्, ‘तर, सरकारले निजी अस्पताल बर्गीकरण गरेर रकम नै तोक्नुपर्छ । ताकि, अस्पतालले मनपरी गर्न नसकुन् ।’

रोकिएन भारत जाने क्रम

सीमित आफन्तबाहेक अन्य व्यक्तिबाट देशभित्र मिर्गौला लिन नमिल्ने भएपछि छिमेकी मुलुक भारतमा दाता पाउन र लान सहज हुने भएकाले उच्च वर्गका मानिस प्रत्यारोपणका लागि देश बाहिरकै अस्पताल रोज्छन् ।

‘उच्च वर्गका मानिसका लागि विदेश नै रोजाइको केन्द्र बनेको छ । धनिमानी वर्गमा आफन्तबाट मिर्गौला लिन कठिनाइ हुन्छ । तसर्थ, उनीहरु मिर्गौला दाता खोजेर नै भारत जाने गरेका छन्’, डा. दिव्या भन्छिन्, ‘नेपालमा मस्तिष्क मृत्युको कार्यक्रमलाई राष्ट्रव्यापी बनाउन सकेमा यो ट्रेण्ड घटाउन सकिन्छ ।’

प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार हाल नेपालमा बार्षिक तीन सयको हाराहारीमा प्रत्यारोपण हुने गरेको छ । यस्तै, भारत लगायतका अन्य मुलुकमा गरी झण्डै दुई सयले प्रत्यारोपण गर्ने गरेको अनुमान छ । तर, नेपालमा बार्षिक ३ हजार व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ । त्यसकारण माग र आपूर्तिबीच ठूलो खाडल छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्