दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल – Online Khabar

दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल – Online Khabar

[ad_1]

१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा सुरु भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्षपछि सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार च्यासल रंगशालाको उद्घाटन गरेका छन् ।

अखिल नेपाल फुटबल संघले भोगचलनको अधिकार लिएर च्यासलमा टेक्निकल सेन्टर स्थापना गरेको हो । त्यसलाई रंगशालाको स्वरुप दिएर बैकल्पिक मैदानका रुपमा तयार गर्ने गरी राखेपले २०७६ असारमा डाँफे प्रेरणा प्रतिष्ठा जेभीसँग सम्झौता गरेको थियो ।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको हो । ललितपुर महानगरपालिका ९ स्थित मनोहरा खोलाको किनारमा रहेको च्यासल मैदानलाई स्तरोन्नत्ति गरी ८ हजार दर्शक क्षमताको बनाइएको छ ।

डाँफे जेभीले सुरुमा १० हजार क्षमताको प्यारापिट रहने गरी ३३ करोड लागतमा सम्झौता गरेको थियो । तर, मनोहरा करिडोरको मापदण्डअनुसार खोलाबाट कम्तिमा २० मिटर दूरीमा संरचना बनाउन नपाइने भएपछि रंगशालाको दर्शक क्षमतासँगै लागत मूल्य पनि घटेको छ ।

यो रंगशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको राखेपले जानकारी दिएको छ । ‘मनोहरा करिडोरका कारण पूर्वतर्फ चार कोठा र पूर्वतर्फ दुई कोठाको संरचना नक्साबाट हटाउनुपर्यो,’ पुनर्निर्माण सुरु भएदेखि च्यासलमा कार्यरत राखेपका साइट इन्जिनियर पूर्ण सुन्दासले अनलाइनखबरसँग भने, ‘त्यसैले लागत पनि घटेको हो ।’

दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल – Online Khabar

प्रधानमन्त्रीले उद्घाटन गरेसँगै यो रंगशालामा १९ फागुनदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलका खेलहरु सन्चालन गर्ने एन्फाको तयारी छ । एन्फाले ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलहरु सन्चालन गर्ने तथा अभ्यासस्थलका रुपमा सन्चालन गर्ने विकल्पका रुपमा पनि च्यासललाई प्रयोग गर्न पाउनेछ । रंगशालाको भोगचलन र मर्मतसम्भारको अधिकार एन्फाले पाएको छ ।

रंगशालाको पूर्व र पश्चिमतर्फ तीनतल्ले नयाँ प्यारापिट निर्माण भएको छ । दक्षिणतर्फ रहेको प्यारापिट स्तरोन्नत्ति गरिएको छ । हरेक प्यारापिटमा एक–एक शौचालय निर्माण भएका छन् । दक्षिणतर्फका दुईतल्ले प्यारापिटमूनि दुवै तल्लामा शौचालय, चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टर निर्माण भएका छन् ।

१२० मिटर लम्बाई र ७० मिटर चौडाईको मैदान ए डिभिजन लिगका लागि तयार पारिएको छ । यो मैदानमा दुई वर्षअघि नै अत्याधुनिक बर्मुडा ग्रास रोपिएको हो ।

भूकम्पका कारण दशरथ रंगशालामा क्षति पुगेपछि च्यासल मैदानलाई स्तरोन्नत्ति गरी कृत्तिम घाँसे मैदानसहितको रंगशाला निर्माण गर्न राखेप र युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको थियो । तर, त्यस क्षेत्रमा कृतिम मैदान दीर्घकालीन रुपमा अनुपयुक्त रहेको भन्दै पूर्ववत योजना स्थगित गरी प्राकृतिक दुबोसहितको रंगशाला स्तरोन्नत्तिको लागि डाँफे जेभीसँग सम्झौता भएको हो । यो रंगशालामा १३औं दक्षिण एसियाली खेलकुदको हकी खेल सञ्चालन गर्ने राखेपको योजना थियो । तर, निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा सागबाट हकी खेल नै हटाइयो ।

यो क्षेत्र अखिल नेपाल फुटबल संघ एन्फाले २०५९ सालदेखि नै प्रयोग गर्दै आएको छ । ललितपुर जिल्ला प्रशासन र स्थानीय च्यासल फुटबल क्लबसँगको सहमतिमा एन्फाले गोल प्रोजेक्टअनुसार टेक्निकल सेन्टर स्थापना गरेको थियो । २०६१ सालदेखि निर्माण सुरु भएको सेन्टरको उद्घाटन एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद विन हमामले गरेका थिए ।

मनोहराको बाढीबाट सधैंको जोखिम

मनोहरा खोला र बागमतीको संगमबाट करिव १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ । रंगशालाको मुख्यद्वार पश्चिमतर्फ छ । २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो ।

लगातार दुई वर्षसम्म एकै स्थानबाट पानी छिरेको थियो । जसले मैदानको ६० प्रतिशत दुवोमा क्षति पुगेपछि दोहोर्‍याएर काम गर्नुपरेको थियो । च्यासलको पूलनजिकैबाट रंगशालाको मुख्य द्वार हुँदै मैदानमा पानी छिर्ने समस्यालाई रोक्नका लागि मुख्य द्वारको दायाँबाया पर्खाल लगाइएको छ । यद्यपी यतिले मात्र बर्षाको समयमा हुनसक्ने क्षति रोकिने निश्चित छैन ।

राखेपका साइट इन्जिनियरले च्यासल पूलको पूर्व र पश्चिम दुवैतर्फ तीन तहको ग्याभिन भरेर सुरक्षित बनाउने प्रयास भएकाले आगामी दिनमा मनोहराको बाढी सिधै मैदानमै पुग्ने जोखिम कम हुने विश्वास गरेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्