[ad_1]
९ माघ, काठमाडौं । काठमाडौंको पश्चिमी कुना कलंकीबाट हातमा लालटिन झुण्ड्याएर हरेक दिन बिहान एक हुल महिलाहरु करिब ६ किलोमिटर पैदल यात्रा गर्दै माइतीघर पुग्छन् । माइतीघरमा दिनभर न्यायको गुहार माग्छन् ।
माइतीघरबाट धेर टाढा छैन सिंहदरबार । तर, ‘निर्मला कुर्मीको न्याय देव’ भन्दै माइतीघरबाट गुहार लगाइरहेका महिलाको स्वर सुन्दैन सिंहदरबार ।
सिंहदरबारको मौनता बिथोल्न कस्सिएका रुबी खानलाई आज सोमबार प्रहरीले पक्राउ गर्यो । न्याय मागिरहेका महिलाहरुलाई पक्राउ गरेर बहादुरी देखाउने सिंहदरबारलाई लक्षित गर्दै पत्रकार रोहेज खतिवडाले भने, ‘पक्राउ पर्नुपर्ने संसदमा छन् । घरधन्दा गर्नुपर्नेलाई पक्राउ गर्छ सरकार ।’
निर्मला कुर्मीको अपहरण, हत्या र सम्पत्ति हत्याउने घटनाका मुख्य आरोपी बादशाह कुर्मीप्रति लक्षित थियो खतिवडाको टिप्पणी । गृहमन्त्रालायको प्रतिवेदनले नै बादशाह कुर्मीमाथि अनुसन्धान गर्नुपर्ने सुझाउँदा पनि बादशाह यतिखेर लुम्बिनी प्रदेशसभामा सांसद छन् ।
घरधन्दा छाडेर बाँके जिल्लाको नेपालगञ्जबाट न्याय खोज्दै काठमाडौं आइपुगेका रुबी खान सहित १४ जना महिलाहरु न्यायको आशमा २६ दिनदेखि माइतीघरको चिसो सडकमा बस्न बाध्य छन् ।
माघ ०७५ मा एकल महिला निर्मला कुर्मीको अपहरण र हत्या भयो । उनको सम्पत्ति पनि गायब पारियो । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले निर्मलालाई कुटपीट गरेको र निर्मलाको सम्पत्तिको कागजात लगेको प्रमाण छ । यही प्रमाणका आधारमा रुबी खान सहित महिलाहरुले बादशाहमाथि छानविन हुनुपर्ने माग गरिरहेका छन् ।
निर्मला कुर्मीका लागि न्याय माग्दै रुबी खानहरु माइतीघरको चिसो सडकमा बसेको यो तेस्रो पटक हो । पहिलो पटक ०७८ असोजमा उनीहरु नेपालगञ्जदेखि २० दिनको पैदल यात्रा गर्दे काठमाडौं आइपुगेका थिए ।

माइतीघरमा ४३ दिन बसेपछि सरकारले अनुसन्धान गर्न समीति बनायो । तर, समीतिको प्रतिवेदन सार्वजनिक नगरेपछि दोस्रो पटक माइतीघर आइपुगे रुबी खानहरु । दोस्रो पटक प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई अनुसन्धानको जिम्मा लगाउँदै सरकार पन्छियो । ‘जहिले पनि अनुसन्धान हुन्छ भन्दै आश्वासन दिने । तर, अनुसन्धान भने नगर्ने,’ रुबी आक्रोशित पोख्छिन् ।
आश्वासनको भारीले थिचिन लागेका महिलाहरु अब अनुसन्धानमा उपलब्धी चाहन्छन् । मुद्दालाई अदालत प्रवेश गराउन चाहन्छन् । तर, सुरक्षाकर्मीको लावा लस्कर सहित ३० पुसमा माइतीघर पुगेका गृहमन्त्री रवि लामिछाने पनि आश्वासन नै सुनाए ।
न्यायको आशमा हात जोड्दै उभिएका महिलाहरुलाई लामिछाने आश्वस्त पार्न खोज्छन्, ‘यो सहज केश होइन । यो केशलाई कसैले प्रभावित पार्न सक्दैन । कसैले बचाउन सक्दैन, कसैले संरक्षण गर्न सक्दैन । मैले कसैलाई बचाउनु छैन । मैले कसैलाई बचाउनुपर्ने अवस्था आएछ भने यो कुर्सिमा बसिरहनु पर्दैन । मैले गर्दा कुनै कैफियत देखिएछ भने म रानामा दिनेछु ।’

यसअघि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले पनि यसैगरी आश्वासन सुनाएका थिए ।
गृहमन्त्रीको कुर्सी दाउमा राख्दै वाचा र आश्वासन बाँडिरहेका लामिछाने तिनै हुन जसले निर्मला कुर्मीको न्यायका लागि २३ कात्तिक ०७८मा टेलिभिजनको पर्दाबाट खबरदारी गर्दै भनेका थिए, ‘हामी यो विषयलाई निरन्तर फलोअप गर्ने छौं ।’
यतिखेर उनी समाचारको फलोअप मात्र होइन कानून कार्यान्वयन गराउने निकायको नेतृत्वमा छन् । तर, रुबी खानहरुको अवस्था बदलिएको छैन् । लामिछानले टेलिभिजनमा भने जस्तै, स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि निर्मलालाई न्याय दिने छाँट देखाएन् । त्यसैले त रुबी खानहरु माइतीघर आइपुगे ।
माइतीघर त्यही ठाउँ हो जहाँ न्याय खोज्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘हामी यहाँ छौं’ भन्दै धर्ना बसेका थिए । तर, रुबी खानहरुले ‘हामी यहाँ छौ’ भनेको २६ दिन भइसक्दा पनि सरकारले सुनेको छैन् । देखेको छैन ।
दिउँसै लालटिन बालेर न्याय र सरकार खोज्न बाध्य पारिएका रुबी खानहरुले निर्मला कुर्मीको घटना अनुसन्धान गर्न न्यायिक आयोग बनाउनु पर्ने । मुद्दा अदालतसम्म पुर्याउनुपर्ने माग गरेका छन् ।

०६६ मा निर्मला कुर्मीका श्रीमान्को मृत्यु भयो । त्यसपछि कुर्मीको साढे चार बिगाह जमिन हत्याउने खेलमा ०६६ को मंसिरमा कुर्मीका दुई छोराको पनि शंकास्पद मृत्यु भयो ।
‘१० दिनको अन्तरालमा दुई छोरोका शंकास्पद मृत्यु भयो । कुर्मीमाथि कुटपीट भयो, सम्पत्ति लुटियो, अपहरण गरियो हत्या गरियो,’ खानको आक्रोश मत्थर हुँदैन, ‘यो भन्दा ठूलो अन्याय के हुन्छ ?’
बादशाह विरुद्ध ३० आसोज ०६८ मै उजुरी दिएकी थिइन । तर, उजुरीको सुनुवाइ भएन । ०७५ मा अपहरित निर्मलाको त्यसपछि हत्या भयो ।
अपनत्व र प्रेमको अर्थ बोक्ने माइतीघरमा बसेर गुहार लगाइरहेका रुबीहरुका लागि यतिखेर माइतीघर पराइ भएको छ । न्याय खोज्ने चौतारी बनेको माइतीघरबाट रुबी खानहरु निर्मला कुर्मीलाई न्याय दिलाउन सरकार खोज्दैछन् ।
नेपालगञ्जबाट माइतीघर पुगेका उनीहरु दिउँसै लालटिन बालेर सरकार र न्याय खोज्न निस्किएका छन् । सरकारको मौनता बिथोल्दै माइतीघरबाट रुबी खानहरु भनिरहेका छन्, ‘निर्मला कुर्मीको न्याय देव ।’
[ad_2]
Source link








