[ad_1]
२७ पुस, काठमाडौं । आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंमा ३ दिने माघेसकराती राष्ट्रिय चाड मनाउने तयारी गरेको छ ।
नेपाल मगर संघले काठमाडौंको टुँडिखेलमा पुस २९, ३० र माघ १ गते माघेसकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव मनाउने तयारी पूरा भएको नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।
उनका अनुसार मौलिक संस्कृतिलाई थप प्रवद्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रुपमा मनाउन लागिएको हो ।
महोत्सवमा यसपटक मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं । मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं ।। भन्ने नारा तय गरिएको छ ।

यसका साथै मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान महोत्सवमा रहने नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ । साथै माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुनेछ ।
नेपालको प्राय सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदाय भित्र पनि साँस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक सँस्कृतिको रुपमा मगरहरुले माघेसकराती चाड, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला–सँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे सकरातीमा दाजुभाई दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माईती दाजुभाईहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पातीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।
यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो ।
यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ ।
यसै दिनदेखि वेशीबाट लेकतिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
[ad_2]
Source link








